नेपाल क्रिकेट संघमा कोइराला

deepak-koirala
फागुन १ पाेखरा । एकिकृत नेकपा माओवादी कास्कीका अध्यक्ष दिपक कोइराला ‘रुपक’ नेपाल क्रिकेट संघ क्यानको केन्द्रिय अध्यक्षमा चयन भएका छन् । कोइराला यसअघि क्यानको उपाध्यक्ष थिए । क्यानको बिहिबार काठमाडौंमा भएको बोर्ड बैठकले कोइरालालाई अध्यक्षमा चयन गरेको हो । अध्यक्ष कोइरालाकै नेतृत्वमा कार्यसम्पादन समिति र विकास समिति बनाउने निर्णय समेत बैठकले गरेको छ ।
बैठकले अध्यक्ष कोइरालाको नेतृत्वमा मिसन वल्र्ड कप २०१९ बनाएर, मे मा हुने आईसीसी वल्र्ड क्रिकेट लिग च्याम्पियनको तयारी गर्ने भएको छ । अध्यक्षमा चयन भएपछि, पोखरा हटलाइनसँग कुराकानी गर्दै अध्यक्ष कोइरालाले आफ्नो कार्यकालमा नेपालको क्रिकेट क्षेत्रको विकासमा अझ प्रभावकारी ढंगले काम गर्ने वताए ।
‘नेपालले क्रिकेटमा अन्तराष्ट्रिय स्तरमा जुन उचाइ विकास गरेको छ, त्यसलाई अझ माथी लैजाने मेरो नेतृत्वको टिमको प्राथमिकता हुनेछ’, उनले भने । कोईराला क्यानको अध्यक्ष भएपछि पोखरेली क्रिकेटकर्मी पनि खुसी भएका छन् । उनको कार्यकालमा पोखरेली क्रिकेटले पनि फड्को मार्ने आशा राखिएको छ । फुटबलको तुलनामा पोखराको क्रिकेटले सोंचे जस्तो सफलता प्राप्त गर्न नसकिरहेको अवस्थामा उनी अध्यक्ष भएपछि पोखरेली क्रिकेट पनि माथि उठ्न सक्ने अनुमान धेरैको छ । अध्यक्ष कोइराला क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष पनि हुन् ।
क्यानको बोर्ड बैठकले कार्यवाहक महासचिवमा उत्तम कर्मचार्यलाई निरन्तरता दिएको छ भने कोषध्यक्षमा शैलेश चौधरी चयन गरेको छ । समितिमा कावा महासचिव र कोषध्यक्षका साथै राष्ट्रिय कप्तान, प्रशिक्षक, खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्का प्रतिनिधि सदस्य रहनेछन् भने क्यानका प्रमुख कार्यकारी अधिकृत भावना घिमिरे सदस्य सचिव रहेकी छन् ।
क्यानको बोर्ड बैठकले फागुन २४ गतेदेखि राष्ट्रिय एदिवसीय तथा टी–२० प्रतियोगिता गर्ने निर्णय गरेको छ । फागुन १२ गतेबाट हरिवन र लाहनमा अन्तर स्कुल महिला क्रिकेट प्रतियोगिता समेत गरिने भएको छ ।

Comments are closed.