नेपाल पर्यटन वोर्ड पोखराको टेलिफोन लाईन काटियो

पोखरा २८ चैत/ नेपाल पर्यटन वोर्डका विभागीय प्रमुखहरु भ्रष्टाचार अभियोगसँगै निलम्बनमा परेपछि यसको असर पोखरास्थित कार्यालयमा पनि परेको छ । कार्यकारी अधिकृत सुवास निरौलासँगै ती विभागिय प्रमुख र अन्य कर्मचारीसमेत कारवाहिको भागिदार बन्दा वोर्डको पोखरा कार्यालयको दैनिक कामकाज सञ्चालनमा असर पुगेको हो ।
जसका कारण तीन दिनदेखि कार्यालयका टेलिफोन लाईन काटिएको छ । करीब दुई महिनादेखि महशुल भुक्तानी नभएका कारण नेपाल टेलिकमले कार्यालयका टेलिफोन लाईन काटेको हो । “तीन दिनदेखि टेलिफोन लाईन काटिएको छ” अहिले कार्यालयमा रहेकी एकमात्र कर्मचारी श्रद्धा श्रेष्ठले भनिन्–“वोर्डमा चेक हस्ताक्षर गर्ने कर्मचारी अभावमा महशुल बुझाउन सकिएन त्यसैले लाईन काटियो ।”
पछिल्लो समय दैनिक कामकाज तथा प्रशासकीय कार्य सञ्चालनका लागि समिति गठन भएपछि भने अब यो समस्या नरहने श्रेष्ठले बताईन् । हालको समस्या टेलिफोन मशुल भुक्तानी भएपनि अन्य प्रशासनिक समस्याहरुसमेत कर्मचारी अभावमा भएको उनले जनाईन् ।
टेलिफोन महशुल भुक्तानीका लागि रकम आईसकेकाले आईतबार लाईन खुल्ने पनि उनले जानकारी दिईन् । त्यसो त करिब एकमहिना अघि वोर्डको विद्युत लाईनसमेत काटीएको थियो । त्यसबेला श्रेष्ठ आफैले निजीरुपमा महशुल भुक्तनी गरी पछि वोर्डबाट रकम बुझीलिएकी थिईन् । एक प्रबन्ध निर्देशकसहित दुई अधिकृत गरी तीनजनाको दरबन्दी रहेको वोर्डको पोखरा कार्यालयमा हाल श्रेष्ठ एक्लो कर्मचारीका रुपमा काम गर्न बाध्य छिन् ।

Comments are closed.