नेपाल स्कटल्यण्डसँग ३ रनले पराजित

पाेखरा १४ साउन/ आइसिसी विश्व लिग क्रिकेट प्रतियोगिताअन्तर्गत स्कटल्याण्डसँगको पहिलो खेलमा नेपाल ३ रनले पराजित भएको छ। टस हारेर पहिले ब्याटिङ गर्दै घरेलु टोलीले दिएको २३६ रनको ठूलो लक्ष्य पछ्याएको नेपाल ५ विकेट गुमाउँदै २३२ रनमा समेटिएको थियो।

नेपालका लागि ओपनर अनिल मण्डलले सर्वाधिक ९७ रनको पारी खेले। ९० बल खेलेका मण्डलले ९ चौका र १ छक्कासहित सतक बनाउनबाट ३ रनले चुकेका थिए। यस्तै कप्तान पारस खड्काले ७८ रन बनाए। ५७ बल खेलेका खड्काले २ छक्का र ५ चौका प्रहार गरेका छन्।

यस्तै ओपनर महेश क्षेत्रीले २१ रन बनाए। ३९ बल खेलेका क्षेत्रीले १ चौका प्रहार गरेका थिए। यस्तै क्षेत्रीको ठाउँमा आएका उपकप्तान ज्ञानेन्द्र मल्ल १८ रनमा आउट भए। उनले २४ बल खेल्दै २ चौका प्रहार गरे। यस्तै सरद भेसवाकर शून्यमा रन आउट भए।

यसअघि स्कटल्याण्डस्थित एलोवेमा वर्षाका कारण ३६ ओभरमा छोट्याइएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले ७ विकेट गुमाउँदै २३५ रन बनाएको थियो।nepali-cricket-team_20150729085126

स्कटल्याण्डका लागि कप्तान प्रेष्टन मोमसेनले ६२ बलमा ७८ रन बनाउँदै बिस्फोटक ब्याटिङ गरेका थिए। सोमपाल कामीको बलमा बोल्ड हुनुअघि उनले ४ छक्का र पाँच चौका प्रहार गरेका थिए। यस्तै कोन्डे लेङ्गेले नटआउट ५५ रन बनाए। उनले ४१ बल खेल्दै चार चौका र २ छक्का प्रहार गरे।

काइले कोत्जेरले ४१ रन बनाए। बसन्त रेग्मीको बलमा विकेट किपर महेश क्षेत्रीबाट समातिनु अघि उनले ६० बल खेल्दै ५ चौका प्रहार गरेका थिए। म्याथ्यु क्रस २० र जर्ज मुन्सी १९ रनमा आउट भए। नेपालका लागि बसन्त रेग्मी र पारस खड्काले २-२ तथा करन केसी र सोमपाल कामीले १-१ विकेट लिए। वर्षाले खेल रोकिएपछि निर्धारित समयभन्दा तीन घण्टा ढिलो गरी खेल सुरू भएको थियो।

Comments are closed.