पचभैयाको पर्यटन सम्भाव्यताबारे विश्व बैङ्क समूह सदस्य (आईएफसी)को चासो

photo1
ऋषिकान्त पौडेल
पोखरा ९, बैशाख
सात तालको वाटिका शहरका रुपमा परिचय बोकेको लेखनाथको पचभैयाको पर्यटकीय सम्भावनाबारे विदेशी दातृ निकायको समेत चासो बढ्न थालेको छ । पछिल्लो समय चिडियाखाना निर्माणको पहल सुरु भईरहेका बेला नेपालको प्रमुख दातृ निकाय विश्व बैङ्क समूहको सदस्यका रुपमा रहेको ईण्टरनेशनल फाइनान्स कर्पोरेशनले पर्यटन सम्भाव्यता र आवश्यक पूर्वाधार विकासमा अध्ययन गर्ने भएको हो । केही समयभित्रै पचभैयाको पर्यटन सम्भाव्यता, आवश्यक परीयोजना र पूर्वाधारका बारेमा गुरुयोजनाको तयारीमा रहेको कर्पोरेशनले बुधवार स्थानीयस्तरमा अन्तरक्रियासमेत गरेको छ । आईएफसीले दुई महिनाअघि मात्रै पर्यटन मन्त्रालयसँग देशका ६ ओटा क्षेत्रको पर्यटन विकासका लागि परियोजना तयार पार्ने विषयमा हस्ताक्षर गरेको थियो । सोही अनुरुप अध्ययन गर्ने क्रममा आईएफसीको तीन सदस्यीय टोलीले पचभैया क्षेत्रको विकासका लागि पहिलो चरणको छलफल र भेटघाट अघि बढाएको हो । आगामी हप्तासमेत स्थानीयवासीसँग छलफल गर्ने तयारीमा जुटेको टोलीले स्थानीयस्तरमा बनाईएको पर्यटन सम्भावनाको प्राविधिक गुरुयोजनाबारे पनि अध्ययन गर्नेछ ।

“हामी सिधै आर्थिक सहयोग गर्ने निकाय त होईनौं तर सम्भाव्यताबारे अध्ययन गरेपश्चात लगानीकर्ता र अन्य सहयोगी संस्थाको ध्यान यस क्षेत्रमा खिच्न मद्दत गर्नेछौ जुन पचभैयाको विकासमा कोसेढुङ्गा सावित हुनेछ” टोलीका एक सदस्यले पोखरा हटलाइनसँग कुरा गर्दै भने । पोखराबाट नजिकै भएर पनि आवश्यक प्रचारप्रसारको अभावमा पछि परेको महशुस आफुले पनि गरेको भन्दै राष्ट्रिय र अन्र्तराष्ट्रियस्तरमा चिनाउन सबैले सक्दो मद्दत गर्न पनि उनले आग्रह गरे । छलफल कार्यक्रममा उनले हतारमा कुनै परियोजना सुरु गरीहाल्नुभन्दा बढी भन्दा बढी अध्ययन गरेर अघि बढे पचभैया पर्यटनको क्षेत्रमा नमूना बन्न सक्ने विश्वस उनको थियो ।
कार्यक्रममा बोल्दै लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बाबुराम गिरीले पर्यटनको दिर्घकालिन विकासका लागि पचभैयामा रहेका प्राकृतिक सुन्दरताको संरक्षण नै मुल दायित्व रहेको बताए । पोखरामा अन्र्तराष्ट्रिय विमानस्थल निर्माणको काम थालनी भएपश्चात नजिकै रहेको पचभैया क्षेत्रको पर्यटन विकासले समग्र पश्चिमाञ्चल क्षेत्रलाई माथि उकास्ने धारणा गिरीको थियो ।

स्थानीय बेगनास रुपा संरक्षण तथा प्रर्वद्धन समितिका अध्यक्ष दिनानाथ ढकालले विभिन्न कारणबाट लोप हुने खतरामा रहेको रुपातालको संरक्षणका लागि चेकड्यामको आवश्यकता महत्वपूर्ण रहेको भन्दै सोका लागि सरकार र अन्य सहयोगी निकायको ध्यानाकर्षण गराएका थिए । लेखनाथ नगरपालिकाका कानुनी सल्लाहकार राममणी अधिकारीले पचभैयाको समग्र विकासका लागि कुनै पनि दातृ निकाय तत्पर रहे नगरपालिका सहकार्य गर्न ईच्छुक भएको बताए । छलफल कार्यक्रममा आईएफसीको टोलीका सदस्यहरुलाई स्थानीय विष्णुदत्त घिमिरे, बेगनास लेक रिसोर्टका व्यवस्थापक अर्जुन पराजुली, ईन्जिनियर बसन्तमोहन भट्टराई, स्थानीय समाजसेवी दामोदरभक्त थापा लगायतले पचभैयामा पर्यटन विकासको सम्भावना र यस क्षेत्रको महत्ववारे जानकारी गराएका थिए ।

Comments are closed.