पत्थ्र्योदास प्रमिल/
नेपाल अहिले दैनिक १०÷१२ घन्टाको लोडसेडिङको मारमा छ र यो अवस्थाले अबको केही समयसम्म निरन्तरता पाउने पक्का छ । यदि यो अवस्थाले निरन्तरता पाइरहने हो भने देशको अधिकांश क्षेत्र यसको प्रभावमा कमजोर साबित हुनेछन् । किनकी, उर्जा आफंैमा बहु–अन्तरसम्बन्धित बिषय हो र अप्रत्यक्ष रुपमा यसको देशको गरिबी, शिक्षा र रोजगारसँग सम्बन्ध छ । बिद्युत उर्जाको एउटा सानो पाटो हो भने जलबिद्युत बिद्युतको एउटा संभावना मात्रै हो । विकास सँगसंगै विद्युतीय समान र साधनको उत्पादन र प्रयोग बढ्दै गएपछि बिद्युतिय उर्जाको ठुलो महत्व रहन गयो र प्रविधिले अन्य उर्जाको स्रोतलाई पनि विद्युतीय उर्जा स्रोतमा परिवर्तन गर्न थाल्यो । विद्युतीय उर्जाको महत्व झन् त्यति बेलादेखि बढ्न थाल्यो जतिबेला युरोपीयन, उत्तर एसियाली र अमेरिकी देशहरुले औद्योगिक क्रान्तिमा जोड दिन थाले । औद्योगिक उत्पादन र निर्यातित सामानको भ्यालूएसन देशको शक्ति मापनको मिटर स्केल बन्यो ।
यसरी अन्तरदेशीय खुल्ला बजारतन्त्रको नीतिको खुलेर प्रसंशा र वकालत हुन थालेपछि बहुसंख्यक देशहरुले केही सामानहरुमा बाहेक आयातित करको दायरालाई साँघुरो बनाइदिए । यो अवस्थाले उत्पादनमैत्री नीति र अवधारणा अपनाएका राष्ट्रलाई ठुलो आर्थिक फाइदा भयो भने नेपालजस्तो अनेकन राजनीतिक समस्याबाट गुज्रेका देश उनीहरुको व्यापारिक केन्द्र बने । देशकै आन्तरिक समस्याका कारणहरुबाट कमजोर राष्ट्रमा जनसंख्याबृद्धि, भोकमरी र गरिबी बढ्दै गयो अन्ततः अन्य राष्ट्रको उत्पादनमा निर्भर रहनुको विकल्प रहेन । देशले गृह उत्पादनमा जोड नदिएकै कारणबाट भएका उद्योग धन्दा पनि बिस्तारै हराउँदै गए ।
किनभने, उनीहरुमा अन्तराष्ट्रिय उत्पादनसँग प्रतिस्पर्धा गर्ने क्षमता नै रहेन । नेपाल लगायतका तेस्रो मुलुकहरु विकासको यही घडीमा कोही उत्पादन नीतिमा पछी परे भने कोही राजनीतिक संकटमा, यसले उत्पादनमा बैज्ञानिकीकरणको पनि खाडल बनाइदियो । तर, यी यावत समस्या सँगसंगै अर्को गहिरो र जटिल समस्याबाट यी राष्ट्रहरु गुज्रिए त्यो हो, उर्जाको पहिचान, उत्पादन र प्रयोग ।
उत्पादन र उर्जाको बृहत्तर अन्तरसम्बन्ध छ । औद्योगिक उत्पादन गृहहरु कुनै न कुनै प्रकारको उर्जा स्रोतमा निर्भर रहन्छन र तिनीहरुमा जलबिद्युत, सौर्यउर्जा, बायोमास (जैविक शक्ति), बायुउर्जा, जियोथर्मल उर्जा, जैविक बिद्युत आदि पर्छन । यी मध्ये केही स्रोतहरु नविकरणीय स्रोत हुन् भने कतिपय अनविकरणीय उर्जाका स्रोत हुन ।
प्रयोग पछाडी अन्तत्वगत्वा अनविकरणीय उर्जा भण्डार रित्तिँदै जाने भएमा नबिकरणीय उर्जा सम्बन्धि चासो बिश्वभरि नै फैलिन थालेको हो । अहिलेको अवस्थामा हेर्ने हो भने विश्व लगभग ८०.६ प्रतिशत पेट्रोलियम (खनिज ) पदार्थ, १६.७ प्रतिशत नबिकरणीय स्रोतमा र २.७ प्रतिशत न्युकिलियर शक्तिमा निर्भर छ । नबिकरणिय स्रोत मध्येमा पनि जैविक उर्जामा ११.४४ प्रतिशत जति र जलबिधुतमा ३.३४ प्रतिशत बाहेक बाँकीको उपभोग उल्लेखनिय छैन ।
माथिको तत्थ्याङ्कले उर्जा संकटको कुरालाई स्पष्ट देखाउँदैन मात्रै, नेपाल जस्ता विकासोन्मुख देशले भोग्नु पर्न सक्ने बिकराल आर्र्थिक अवस्थालाई पनि दर्साउछ । यस्तो अवस्थामा देशले जतिसक्दो छिटो नबिकरणीय उर्जा उत्पादनमा जोड दिनु आवश्यक छ र त्यसभन्दा पहिले यसको पहिचानमा अर्थात समस्या कँहानिर छ भने यी सबैको मैत्रीपूर्ण उत्पादन सम्भब छैन । नेपाल यस्ता धेरै स्रोतहरुको सम्भावना भएको राष्ट्र हो । धेरै पहिलेको सर्वेक्षण अनुसार नेपालमा सैद्धान्तिक रुपमा ८३ हजार मेगावाट र बास्तवमा ४३ हजार मेगावाट जलबिद्युत उत्पादन हुनसक्छ । यो अहिलेको बिद्युत उर्जाको मागभन्दा धेरै माथिको तथ्यांक हो, यसको केही हिस्सा मात्रै पनि जलबिद्युत उत्पादन गर्ने हो भने नेपालमा आर्थिक रुपमा ठुलै फड्को मार्न सकिन्छ ।
नेपालको तथ्यांकलाई हेर्ने हो भने घरभित्र उर्जाको सबैभन्दा बढी उपयोग हुन्छ । बसोबास क्षेत्रमा मात्रै उर्जाको झन्डै ९० प्रतिशत उपयोग हुन्छ । यस्तै कलकारखानामा र यातायातमा क्रमशः झन्डै ५ र ४ प्रतिशत उर्जाको प्रयोग हुन्छ । यसमा पनि उर्जाको ७५ प्रतिशत भन्दा बढीको स्रोत खाना पकाउन प्रयोग गरिने दाउरा हो । यो तथ्यांक आफैंले के बोल्छ भने घरभित्र प्रयोग हुने उर्जाको बैकल्पिक स्रोत खोज्न सकेको खण्डमा उत्पादित ठुला आयोजनाको जलबिद्युत औद्योगिक क्षेत्रमा प्रयोग गर्न सकिन्छ । यो गरिवीसँग पनि उत्तिकै गाँसिएको बिषय हो, दुरदराजका गाउँबस्तीमा जँहा बिरामी हुँदा (नहुँदापनि) पानी तताएर खाने दाउरा हुँदैन, त्यंहाकै श्रोतहरुबाट उर्जाको उत्पादन गर्न पनि सकिन्छ । देशले अब उर्जा उत्पादन सम्बन्धि यस्तै साना तर महत्वपूर्ण कुरामा ध्यान दिनुपर्ने हो कि ? यसले तत्तत क्षेत्रको आर्थिक र सामाजिक जीवन स्तरमा मात्र परिवर्तन ल्याउदैन, सूचना प्रविधिको पहुँच पनि पु¥याउँछ ।
उर्जाको प्रयोग जलबायु परिवर्तनसँग पनि उत्तिकै गासिएको छ । उर्जाका स्रोतको प्रयोगमा निस्कने विभिन्न ग्याँसहरु विश्व तापमानबृद्धीका मुख्य कारकहरु हुन् । यहि कुरालाई मनन गर्दै जापानको क्योटो शहरमा सम्पन्न जलवायु सम्बन्धी सम्मेलनले कार्बनडाइअक्साइड उत्पादन घटाएबापत ठुला शक्ति राष्ट्रलाई एउटा फरक खाले मान्यताको कुरा गरेको छ । जसले नेपाल जस्ता देश र बिकसित देशको दुईपक्षिय लगानीको कुरा गर्छ । क्लिन डेभलपमेन्ट मेकानिज्म नाम दिइएको उक्त योजनाले बिकसित राष्ट्रले विकासोन्मुख देशमा नविकरणीय उर्जाको स्रोत स्थापना गरि कार्बनडाइअक्साइड उत्पादन घटाए बापतको प्रमाणपत्र प्राप्त गर्छ । यसो गर्दा विकास विकासोन्मुख देशमा हुन्छ भने प्रमाणपत्र लगानीकर्ता देशले प्राप्त गर्छ । यस्ता योजनाहरुमा माइक्रोहाईड्रो, गोबरग्याँस, सौर्यउर्जा, बायुउर्जा आदि पर्छन । यस प्रकारका धेरै योजनाहरु नेपालमा भित्राउन सकिन्छ जसले देशको चौतर्फी विकासमा ठूलो सहयोग पु¥याउने छन् । इति श्री ।
Comments are closed.