पोखरा, २६ जेठ / पत्रकार महासंघ कास्कीको भवन निर्माणका लागि चालु आर्थिक बर्षमा छुट्टाएको पाँच लाख रुपैयाँ नेपाल सरकारले हस्तान्तरण गरेको छ । सिंहदरवारस्थित मन्त्रालयमा आयोजित कार्यक्रममा सूचना तथा संचारमन्त्री एवं सरकारका प्रवक्ता डाक्टर मिनेन्द्र रिजालले पत्रकार महासंघ कास्कीका सचिव त्रिभुवन पौडेललाई पाँच लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।
यसअघि पनि नेपाल सरकारले महासंघको भवन निर्माणका लागि संचार मन्त्रालय मार्फत सहयोग गरेको थियो । आइतवार प्राप्त पाँच लाख रुपैयाँसहित सरकारका तर्फबाट महासंघ कास्कीलाई अहिलेसम्म कूल १७ लाख रुपैयाँ प्राप्त भएको छ । यता पार्दीस्थित पत्रकार महासंघ कास्कीको भवन निर्माण कार्य लगभग सम्पन्न भइसकेको छ । भवन निर्माणको अन्तिम चरणमा आईपुग्दा छिट्टै बिशेष समारोहको आयोजना गरी महासंघको भवन उद्घाटन गर्ने योजना रहेको बताईएको छ ।
Comments are closed.