पन्चासे क्षेत्रमा बढ्यो चोरी शिकारी

पोखरा ४ वैशाख ।कास्की, पर्वत र स्याङ्जाको सिमानामा पर्ने धार्मिक तथा पर्यटकीय स्थल पन्चासे क्षेत्रमा बढ्दै गएको चोरी शिकारी र जडिबुटि तस्करीप्रति स्थानीयबासिन्दा चिन्तित भएका छन् । पन्चासे संरक्षित वन मूल परिषदको आयोजनामा पन्चासेमा भएको पन्चासे चोरी शिकार प्रतिरोध सञ्जाल गठन कार्यक्रममा स्थानीयहरुले यहाँको वन, जडिबुटि लगायत जैविक विविधता संरक्षण गर्न कडाई गर्नुपर्नेमा जोड दिए । पन्चासेमा विभिन्न प्रजातिका ५ सय ८९ वनस्पती, १ सय ७ औषधीजन्य विरुवा र विभिन्न जंगली जनावर पाउन सकिन्छ । संसारमै नपाइने २ थरिका सुनाखरी पनि यहाँ छ ।

10628132_1559162100981397_6335373133550370599_n
जिल्ला वन कार्यालय कास्कीका प्रमुख जिल्ला वन अधिकृत प्रभात सापकोटाले स्थानीयको सक्रियता विना कुनै पनि क्षेत्रको संरक्षण हुन नसक्ने बताउँदै मानिसको अस्तित्वको लागि पनि पारिस्थिीतिकीय प्रणालीलाई जिवित राख्नुपर्नेमा जोड दिए ।पन्चासे संरक्षित वन मुल परिषदका अध्यक्ष गोपाल गुरुङले स्थानीयहरु गस्तिमा हिड्न थालेपछि चोरी शिकारी तथा तस्करीमा ७० प्रतिशत कमि आएको जानकारी दिए । पन्चासे चोरी शिकार प्रतिरोध सञ्जालका संयोजक प्रेम बहादुर गुरुङले यस क्षेत्रमा हुने आगलागी, विना योजना ग्रामिण बाटो निर्माण र बसाईसराई पनि चुनौतीमा रुपमा देखापरेको उल्लेख गरे ।

हरियो वन कार्यक्रम पोखराका कार्यक्रम अधिकृत लिलाजंग गुरुङले स्थानीयहरुसँग सहकार्य गरि वन संरक्षणका विभिन्न कार्यक्रम गरिरहेको बताए । स्याङ्जा, कास्की र पर्वतमा अवस्थित पन्चासेमा करिव ६४ हजार जनसङ्ख्या छ । पेरिफेरि सहित १७ गाविसमा ५ हजार ५ सय हेक्टर वन क्षेत्र रहेको छ । यसमध्ये १ हजार ७ सय हेक्टर सामुदायीक वन र ३ हजार ८ सय हेक्टर राष्ट्रिय वन छ । ७८४ मीटर देखि २५१७ मीटरसम्मको उचाईमा रहेको यस स्थानबाट कास्की, स्याङ्गजा र पर्वतका सदरमुकाम लगायत एकै ठाउँबाट सबैभन्दा बढी हिमाल देखिन्छ । माछापुच्छ«े विकास संघका कार्यकारी निर्देशक दिल बहादुर भट्टराईले स्थानीयहरुलाई आयआर्जनका विकल्पहरु प्रदान गरि खुला चरिचरण रोक्न सके वन संरक्षमा टेवा पुग्ने बताए ।

यसैबीच पन्चासेमा सम्पन्न कार्यक्रमले प्रेमबहादुर गुरुङको संयोजकत्वमा ११ सदस्यीय पन्चासे चोरी शिकार प्रतिरोध सञ्जाल गठन गरेको छ । बैठकले भदौरे, घाटीछिदा, पुम्दीभुम्दी, बाँगेफड्के र पर्वतमा ५ वटा नाकाका स्थानीयलाई समेटेर सञ्जाल गठन गरेको हो । सचिवमा मिननाथ बराल, कोषाध्यक्षमा राधादेवी गुरुङ रहेकी छिन् । सदस्यहरुमा देउ बहादुर घले, दुर्गा बहादुर घले, प्रेम बहादुर गुरुङ, रामकृष्ण गुरुङ, विष्णु माया गुरुङ, लालहादुर नेपाली र खिम कुमारी गुरुङ रहेकी छिन् । सञ्जालले मुल परिषदको उपसमितिको रुपमा रहेर काम गर्नेछ ।

Comments are closed.