काठमाडौं ११ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मालाई ओली परिवर्तन विरोधी शक्तीले प्रयोग गरेको बताएका छन् । केपी ओली परिवर्तन नचाहने शक्तिहरूको ‘दलाल’ र ‘मोहरा’ बनेको आरोप पनि लगाएका छन् । बुधबार धुलिखेलमा नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले २०६२÷०६३ पछिको परिवर्तनलाई नरुचाएको शक्तिले ओलीलाई प्रयोग गरेको उल्लेख गरे ।विस्तृत शान्ति प्रक्रियादेखि नै एउटा वर्गले यथास्थितिवादकै पक्षमा चलखेल गर्दै आएको जिकिर गर्दै प्रचण्डले संविधानसभाको निर्वाचन हुन नदिन, संविधानसभाबाट संविधान जारी हुन नदिन, कम्युनिस्ट पार्टीहरूबीच एकता हुन नदिन अनेक प्रयास गर्दै आएको बताए
‘संविधान जारी भयो, चुनाव भयो, झण्डै दुई तिहाइ बहुमत पनि ल्याइयो,’ उनले भने, ‘जो पहिलादेखि षडयन्त्रमा थिए, हाम्रै पार्टीभित्रका साथीलाई दलाल बनाउन सफल भए । पार्टीको जसलाई अर्को अध्यक्ष बनाइएको थियो, तिनै अध्यक्षलाई एउटा दलालको रुपमा, मोहराको रुपमा प्रयोग गर्न त्यो वर्ग, त्यो तप्का, त्यो शक्तिले सफलता प्राप्त ग¥यो ।’त्यसकै परिणामस्वरुप संसद विघटन गर्ने, संविधान क्षतविक्षत बनाउने र लोकतन्त्र मास्ने प्रयास भइरहेको उनको भनाइ थियो ।प्रतिनिधिसभा विघटनपछि आफूहरुले त्यसका विरुद्ध संघर्ष गरेको र लाखौं जनता सडक संघर्षमा उत्रिएको स्मरण गराउँदै उनले अन्ततः सर्वोच्च अदालतले विघटनको घोषणालाई खारेज गरिदिएको बताए । जनताले एउटा ‘ब्याटल’ जिते पनि ढुक्क हुने अवस्था नरहेको उनको भनाइ छ ।प्रतिनिधिसभा विघटनविरुद्धका रिटबारे फैसला गर्दै संवैधानिक इजलासले वर्तमान सरकारलाई संविधानको धारा ७६ को उपधारा १ अन्तर्गतको मानेको तर अर्को एक मुद्दामा त्यही अदालतको दुईजना न्यायाधीशको इजलासले यो सरकार धारा ७६ को उपधारा २ अन्तर्गतको बनाइदिएको भन्दै प्रचण्डले अस्वाभाविक ढंगले यी चिजहरू आएको बताए । उनले भने, ‘हामी गम्भीर छौं, हामी सतर्क पनि छौं ।’
लामो संघर्ष र धेरै नेपालीको बलिदानपछि मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र आएको स्मरण गराउँदै उनले समावेशी, संघीयता, धर्मनिरपेक्षता यसको मौलिक पक्ष रहेको बताए ।
नेपालको राजनीति एकपटक फेरि असहज परिस्थितिमा जाने खतरा देखिएको उनको भनाइ छ । गणतन्त्र, संघीयता समानुपातिक समावेशी व्यवस्था एकथरी मान्छेलाई पहिलादेखि नै पटक्कै मन नपरेको जनाउँदै उनले तिनीहरुले नै अहिले संविधान, लोकतन्त्रमाथि प्रहार गर्न थालेको बताए ।
‘जसरी संसद भङ्ग भयो, त्यो संसदमात्र भङ्ग भएको थिएन,’ उनले भने, ‘संविधानलाई कागजको खोस्टो बनाएर च्यात्ने दुस्साहस थियो त्यो । पहिलो चोटी संविधानमा सार्वभौम भएका नेपाली जनताको सार्वभौम अधिकारको अपहरण थियो त्यो ।’ रातोपार्टी बाट साभार
Comments are closed.