पर्यटकीय पैदल मार्ग र साइकल मार्ग एकैसाथ

पोखरा, १४ साउन/पोखराको सराङ्कोटदेखि कास्कीकोट हुँदै ढिकुरपोखरीसम्म निर्माणाधीन पर्यटकीय पैदलमार्गसँगै साईकलमार्ग निर्माणका लागि पनि सम्भाव्यता अध्ययन भएको छ । पर्यटकीय मार्ग निर्माण समितिका अध्यक्ष विष्णुहरि शर्माको नेतृत्वमा निर्माण समितिका पदाधिकारीहरु र साइकल सिटी पोखरा अन्तर्गतको समिति साइकल मैत्री पर्यटकीय शहर निर्माण परियोजनाले साईकल मार्ग सम्भाव्यताको अध्ययन गरेको हो ।

cycle-lane
पोखराको जरेबरबाट सुरु हुँदै सराङ्कोट–कास्कीकोट–ढिकुरपोखरी–भदौरेतामागी–पञ्चासे–बौद्धस्तूपा–डेमसाइडसम्म अहिले निर्माण भैरहेको पैदलमार्गसँगै ७४ किलोमिटर लामो साईकलमार्ग पनि निर्माण गर्न सकिए यो मार्ग उत्कृष्ट पर्यटकीय गन्तव्य बन्न सक्ने अवलोकन टोलीले निष्कर्ष निकालेको छ । साइकल मैत्री पर्यटकीय शहर निर्माण परियोजनाका संयोजक निरज थापा, सदस्य सचिव प्रकाश बज्राचार्य, सदस्य श्याम कृष्ण श्रेष्ठ, साइकल माउण्टका अध्यक्ष जगत विश्वकर्मा लगायतका सदस्यहरुको टोली अवलोकनमा सहभागी थियो । यो मार्गबाट पोखराको सुन्दर फेवाताल र अन्नपूर्ण माछापुच्छ«े हिमश्रृंखलाको एकै पटक सबै ठाउँबाट दृश्यावलोकन गर्न सकिन्छ ।
पदमार्गमा मोटरगाडीहरु प्रवेश गर्न नमिल्ने गरी बनाईंदैछ भने सिँढीमा साइकल बोकेर पनि लैजान सकिनेछ । समथर स्थानमा साईकल पनि चलाउन सकिने भएकोले साइकल मार्गलाई पनि सँगसँगै लैजान सकिने टोलीको भनाई छ ।
प्राकृतिक मनोरम दृश्य, जङ्गल, परम्परागत सांस्कृतिक गाउँघरका साथै ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदाहरुलाई जोड्दै लगिने मार्गको छुट्टै महत्व रहने साइकल मैत्री शहर निर्माण परियोजनाका संयोजक निरज थापाले बताए ।
यस क्षेत्रमा रहेका ऐतिहासिक, धार्मिक, सांस्कतिक र प्राकृतिक सम्पदाहरुको संरक्षण गर्दै यसलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने उद्देश्यले निर्माण गर्न लागिएको पैदल मार्गको निर्माण पश्चात हजारौं व्यक्तिहरुलाई रोजगारीको अवसर सृजना गर्न सकिने निर्माण समितिका अध्यक्ष विष्णुहरि शर्माले बताए ।

Comments are closed.