पर्वत, १७ असार
परम्परागत कोदो र आलुखेती गर्दै आएका पर्वतका कृषक भूइँ स्याउ (ग्राउण्ड एप्पल) खेतीतर्फ आकर्षित बनेका छन् ।
जिल्लाको उत्तरी क्षेत्रका विभिन्न गाविसमा विगत दुई वर्षदेखि सुरु भएको भूइँ स्याउ औषधियोग्य र बजारमा समेत राम्रो मूल्यमा बिक्री हुन थालेपछि कृषक यसको व्यावसायिक खेतीतर्फ लागेका हुन् । लेकफाँट, सालिजा, बनाँै, क्याङ, भूकलगायतका गाविसमा पहिलो वर्षमा लगाएको खेतीबाट राम्रो आम्दानी गरेको र गतवर्ष कोरियामा समेत निकासी हुन थालेपछि व्यावसायिक रुपमै उत्पादन थालेका हुन् ।
भूइँ स्याउ विशेष गरी पाँचतारे होटलमा बढी माग हुने र गतवर्ष परीक्षणको रूपमा लगाउँदा समेत राम्रो आम्दानी लिन सफल भएपछि कृषकहरू खुसी भएका हुन् । उत्तरी गाविसका प्रायःजसो सबै घरधुरीले ५० बोटदेखि पाँचहजार बोटसम्म लगाएको स्थानीय गौबहादुर पुनले बताउनुभयो । सुरुमा काठमाडाँैका तारे होटल र वाइन बनाउने कम्पनीबाट माग आएपछि यसको व्यावसायिकखेती सुरु भएको उनले बताए ।
“औषधि र नगदेबालीको रूपमा प्रयोग गर्न सकिने भएकाले व्यावसायिक रूपमा खेतीगर्न थालेका हौँं” उनले भने । भइँ स्याउबाट सलाद, जुस र अन्यपरिकार बनाइन्छन् भने वाइन बनाउनका लागि सबैभन्दा बढी प्रयोग हुने गर्दछ । पछिल्लो समयमा गाउँमै यसबाट रक्सी बनाउन थालिएको छ । यसको सेवनले जोर्नी दुःखेको र मधुमेह रोगलाई समेत निको पार्ने भएकाले अधिकांश घरधुरीले आफ्नै प्रयोजनका लागि पनि खेती गर्दै आएका छन् ।
भूइँ स्याउ एउटा बोटमा नौ किलोसम्म उत्पादन हुने र बजार मूल्य समेत राम्रो भएकाले कमाई राम्रो हुने कृषक बताउँछन् ।
Comments are closed.