पोखरा–२३, चैत्र
राष्ट्रिय मानव अधिकार आयोगले पश्चिमाञ्चलका विभिन्न कारागार तथा थुनुवाकेन्द्रहरुको अनुगमन सुरु गरेको छ । आयोगका सदस्य सुदिप पाठक नेतृत्वको टोलीले पश्चिमाञ्चल विकास क्षेत्रका गोर्खा, लमजुङ, तनहँु, म्याग्दी र मुस्ताङ जिल्लाका कारागार तथा थुनुवा केन्द्रको अनुगमनको सुरु गरेको हो । यसअघि आयोगले पश्चिमाञ्चालका कास्की, स्याङ्जा, बाग्लुङ्ग र पर्वतलगायत देशभरिका झण्डै ४० कारागारहरुको अनुगमन गरिसकेको छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवअधिकार कानुनले प्रत्याभूत गरेका अधिकारहरुको बारेमा केन्द्रित रहेर अनुगमन गर्ने कार्यक्रम रहेको छ ।
विशेष गरेर कारागार तथा हिरासतमा हुनसक्ने यातना, सुरक्षा व्यवस्था, कैदीबन्दीहको अवस्था, भौतिक संरचना, कारगारको क्षमता, स्वास्थ उपचारको व्यवस्था, शिक्षा, सूचना तथा सीप विकासको अवस्थालगायतका विषयमा अनुगमन गरी कारागारको अवस्था सुधार गर्न नेपाल सरकारलाई सिफारिस गर्ने क्षेत्रीय मानवअधिकार आयोग पोखराका निर्देशक डा. टिकाराम पोख्रेलले बताए । स्थानीय तहबाट समाधान हुनसक्ने विषयहरुमा आयोगको टोलीले स्थानीय प्रशासनलाई आवश्यक निर्देशन दिने पोख्रेलले बताए । साथै, आयोगको टोलीले बाग्लुङ्ग निर्वाचन क्षेत्र नं. १ मा चैत्र २८ मा हुन गइरहेको संविधानसभाको उपनिर्वाचनको समेत अनुगमन गर्नेछ ।
Comments are closed.