पश्चिमाञ्चललार्इ एउटै प्रदेश बनाउन माग

पोखरा, १ भदौ / पश्चिमाञ्चल विकास क्षेत्रबाट प्रतिनिधित्व गर्ने अधिकांश सभासद्ले देश सङ्घीयतामा जाँदा आफ्नो क्षेत्रलाई एउटै प्रदेशमा राख्नुपर्नेमा जोड दिएका छन् । नेपाली काँग्रेसको संसदीय दलमा भएको भेलामा उनीहरूले सो क्षेत्रमा विकासका लागि चाहिने सामथ्र्य र पहिचान दुवै मिलेकाले क्षेत्र टुक्र्याउन नहुने अडान राखे ।Regions-03-Western-hamrakura
उनीहरूले त्यस क्षेत्रमा सिद्धार्थ गौतम जन्मिएको लुम्बिनी, धार्मिकस्थल मुक्तिनाथ र पर्यटकीयस्थल पोखरालगायत ऐतिहासिक, धार्मिक तथा आर्थिक हिसाबले सम्भावना बोकेको प्रदेश भएकाले त्यसलाई कायम राख्नुपर्नेमा जोड दिए ।

काँग्रेस उपसभापति तथा तनहुँको क्षेत्र नम्वर २ बाट सभासद बनेका रामचन्द्र पौडेलले पश्चिमाञ्चल क्षेत्र दुई विमानस्थल भएको तथा जलस्रोतमा पनि प्रचुर सम्भावना बोकेकाले यदि एउटै प्रदेश भएमा देशकै समृद्ध प्रदेश हुने सम्भावना रहेको बताए । “पश्चिमाञ्चलसँग सिमाना मिल्ने केही जिल्ला मिसाउन सकिन्छ, यदि आउनुहुन्छ भने स्वागत छ, तर पश्चिमाञ्चल चाहिँ एउटै हुनुपर्छ” – उनले भने ।

स्याङ्जाबाट सभासद बनेका काँग्रेस नेता गोपालमान श्रेष्ठले पनि उपसभापति पौडेलकै कुरामा समर्थन गर्दै भने “पश्चिमाञ्चल एउटै प्रदेशमा बस्ने अठोट गरौँ, अरु जिल्ला पनि थपिन चाहन्छन् भने स्वागत छ ।”

नेकपा (एमाले)का उपमहासचिव विष्णुप्रसाद पौडेलले पश्चिमाञ्चल टुक्रिन नहुने भन्ने जनताको चाहना भएकाले आफूहरूले सोही माग राखेको बताउए । “एकाध अरु जिल्ला थपेर पश्चिमाञ्चल कायम राख्ने सम्भावना छ” – उनले भने ।

एकीकृत नेकपा (माओवादी)का सचिव टोपबहादुर रायमाझीले पश्चिमाञ्चल अखण्ड राख्दा एकाध जिल्लाबाहेक असन्तुष्टि नरहेको बताउँदै भने– “साझा मनोविज्ञान, सामथ्र्य र सम्भावना मिलेको छ, नाम जे राखे पनि केही फरक पर्दैन । ”
भेलामा शङ्कर भण्डारी, धनराज गुरुङलगायतले पाँच विकास क्षेत्रलाई नै सङ्घीय प्रदेश मानेर पाँच प्रदेशमा जानुपर्नेमा जोड दिए भने अब्दुल रज्जाक, शिवराम थापालगायतले फरक मत राखेका थिए ।

Comments are closed.