पसिनाले कविता लेख्ने कवि

10380088_884482164919083_5244258001750659267_oअमृत सुवेदी / चिया पसलमा बसेर चियाको चुस्कीसँगै नेपाली साहित्यको बहस गर्ने कुनै कवि जमातमा भेटिँदैनन्, उनी। न कहिल्यै भेटिन्छन्, कुनै ठूला कवि गोष्ठीमा । न सुनिन्छन,् पोखरामा भएका ठूला साहित्यिक कार्यक्रममा उनका कविता । न कुनै गुटमा छन् न कुनै समूहमा । पोखरामा हुने नियमित साहित्यिक कार्यक्रमहरुमा अक्कलझुक्कल भेटिन्छन्, कवि इन्द्र राना ‘प्रतीक’ र सुनाउँछन् आफ्नो जीवन भन्दा सुन्दर कविता । जति उनले बुलन्द र सरल कविता लेख्छन् त्यति उनको जिन्दगी सरल छैन । उनी कहिले सेती नदी किनारमा बालुवा बोक्दै हुन्छन् त कहिले शहरमा बन्दै गरेका घरका भित्ताहरु रङ्ग्याउँदै गर्दा लेख्छन् कविता । ज्याला मजदुरीको काम गर्ने रानाले पोखराका विभिन्न साहित्यिक संघसंस्थाले गर्ने नियमित रचनावाचन कार्यक्रममा समय निकालेर कविता, गजल, मुक्तक सुनाउन आइपुग्छन् ।


यो देशमा कमजोर र निरीह मान्छे भएर जन्मनुको पीडा ओकल्छन् कवितामा । खोज्छन्, पसिनाको मूल्य । आफ्नै सुन्दर जिन्दगी लेख्न नसकेपनि उनले कवितामा लेखेका छन्, धेरै मान्छेहरुको सुन्दर जिन्दगी, यो देशको उज्ज्वल भविश्य । व्यक्त गर्छन्, देशमा संविधान नबन्दाको चिन्ता, बढ्दै गएको बेथिति, मानविय संवेदना र आरोह–अवरोहहरु ।  भारतमा जन्मेर स्याङ्जाको क्याक्मीमा पुर्खौली घर भएपनि आफुले अधिकार नपाएका कवि रानाको नाममा अहिलेसम्म न घर छ न एक टुक्रा जमिन नै । २३ बर्षको उमेरदेखि पोखरा बस्न थालेका उनी अहिले फुलबारी आमा समूह भवनमा परिवार सहित रात कटाउँछन् । परिवारमा परेका बज्रपातहरुले उनलाई अरु आर्थिक समस्यामा पारेको हो । प्रसव पीडाले श्रीमतीको मृत्यु भएपछि त्यसको पाँच बर्षपछि अर्को विवाह गरेका रानाकी श्रीमतीलाई पेट सम्बन्धि रोग लाग्यो र पोखराका केही साहित्यकारहरुको पहलमा जुटेको रकमले उपचार गराएर निको भइन् ।
आफ्नै घरको जग हाल्न नसकेपनि रानाले शहरमा धेरैको घरमा जग हालेका छन् र लेखेका छन् पसिनाले कविता । २ सय भन्दा धेरै कविता लेखेका कवि रानाको मुख्य काम मजदुरी हो । यसैबाट उनले परिवार पाल्दै आएका छन् । उनी धेरै कविता लेख्नुभन्दा राम्रा कविता लेख्नुपर्छ भन्ने मान्यता राख्छन् । उनी भन्छन्–‘मेरो जिन्दगीको दुःख भुलाउने भनेका यिनै कविताहरु हुन् । म कविता भनेर धेरै कविता लेख्दिन राम्रा कविता लेख्न चाहन्छु र उर्तान चाहन्छु मानव जीवनका नविन कुराहरुलाई ।’


कवि रुपीन्द्र प्रभावी भन्छन्–‘रानाका धेरै शक्तीशाली कविताहरु छन् । पोखरामा राम्रा कविहरुको नाम लिने हो भने उनको नाम पनि लिन्छु तर पनि उनको मुल्याङ्कन नभएकोमा दुःख लाग्छ ।’ कवि ईश्वरमणी अधिकारी पनि रानालाई राम्रा कविका रुपमा चिन्छन् । उनको कवित्वको मूल्याङ्कन हुन सकेको छैन ।  उनी संचार माध्यमहरुमा कविता छाप्नका लागि आग्रह गर्दै हिँड्दैनन्, न उनले फेसबुकमा आफ्ना कविताहरुलाई राख्न जानेका छन् । पोखरामा हुने नियमित कार्यक्रम बाहेक हुने कार्यक्रमहरु उनलाई प्राय थाहै हुँदैन । उनलाई कार्यक्रम बारे खबरै हुँदो रहेनछ । रानासँग एउटा मोबाइल समेत छैन । उनी भन्छन्– ‘मैले कामबाट बचेको समयलाई साहित्य सृजनामा लगाएको हुँ । म कसैलाई रचना प्रकाशित गरिदिनुस् भन्दै हिँड्दिन । राम्रा कार्यक्रममा खबर गर्नुस् भन्दिन । हुनुपर्ने लेखन हो । निरन्तरता हो । त्यो गरिरहेको छु । एकदिन मेरा रचनाले मूर्त रुप पाउने छ ।’ उनीसँग कविता संग्रह प्रकाशित गर्न पुग्ने कविताहरु छन् । मन पनि छ तर पैसा नभएकाले थन्किएका छन् । 
रानाको कविताको पाण्डुलिपी तयार भइसकेको र सम्मोहन साहित्यिक पत्रिकाले प्रकाशन गर्ने तयारी गरिएको भएपनि पैसाको अभावले प्रकाशनमा समस्या परेको पत्रिका प्रकाशक रुपिन्द्र प्रभावीले बताए । उनले रकम संकलन गरी रानाको कविता संग्रह प्रकाशनका लागि तयारी भैरहेको बताए ।

Comments are closed.