पहिरोमा मर्नेको संख्या ४७ पुग्यो 

Taplejung_Landslideताप्लेजुङ- बुधबार साँझदेखि परेको वर्षासँगै ताप्लेजुङको पश्चिमी क्षेत्रका ६ वटा गाविसमा पहिरो जाँदा हालसम्म ४७ जनाको मृत्यु भएको छ। प्रहरीले भने १२ जनाको शवमात्र प्राप्त भएको बताएको छ।

सान्थाक्रा गाविसमा मात्र १० जना बेपत्ता छन्। घटनामा गम्भिर घाइते भएका १० मध्ये २ जनालाई थप उपचारका लागि जिल्ला अस्पताल ल्याइँदैछ। बाँकी ८ जनाको उपचार सम्भव नभएपछि उनीहरु मृत्युसँग जुधिरहेका छन्।

बाक्लो कुहिरोबीच उद्धारका लागि उड्यो सेनाको हेलिकोप्टर

उद्धारका लागि काठमाडौंबाट आएको नेपाली सेनाको हेलिकोप्टर अन्ततः उद्धारका लागि उडेको छ। बाक्लो हुस्सु लागे पनि सेनाको हेलिकोप्टर फुङ्लिङबजारदेखि लिवाङतर्फ उडेको छ।
हेलिकोप्टरमा प्रमुख जिल्ला अधिकारी डमरुप्रसाद निरौला र ताप्लुजुङ-२ का सभासद डम्बरध्वज तुम्बाहाम्फे पनि सँगै छन्।

तमोर र मैवा खोलाबीचको दोभान बजारमा रहेका एक सय घरका बासिन्दा सुरक्षित स्थानमा सरेका छन्। नेपाली सेनाको खेदेनिङ गाविसमा पुगेको टोली र ताप्लेजुङ सदरमुकामबाट मेजर अभिसेक कार्कीको नेतृत्वको नेपाली सेनाको टोली पनि स्थलमार्गबाट उद्धारका लागि पहिरो प्रभावित स्थानतर्फ लागेको छ।

मेवाखोलाको पहिरोले खार्तेपस्थित झोलुङ्गे पुल बगाएपछि पहिरोग्रस्त क्षेत्रमा जान समस्या भएको प्रहरीले जानकारी दिएको छ। घाइते ८ जनालाई उपचारका लागि स्थानीयले ल्याउन प्रयास गरेपनि वरपरको पहिरोले समस्या भएको स्थानीयको भनाइ छ।

पहिरोले हालसम्म सबैभन्दा बढी मानवीय क्षति लिवाङ गाविसमा गरेको छ। सो गाविसको वाड १, २ र ३ मा पहिरोका कारण २४ जनाको मृत्यु भएको स्थानीय शिक्षक मातृका शेर्पाले जानकारी दिए।

मृतक २४ जनाको शव निकालेको जानकारी दिँदै १ र ३ मा १८ जनाको शव भेटिएको उनले बताए। वाड २ मा थप ६ जनाको शव भेटिएको जानकारी उनले टेलिफोनमार्फत् दिए।Taplejung_Landslide_03

उनका अनुसार मृतकको सनाखत भएको छैन। यता थिङलावु गाविसको याङपेलीमा ५ जनाको शव देखिएको छ। स्थानीय नरेन ओख्राबुका अनुसार थिङलावु ६ याक्पेलीमा ५ जनाको शव देखिए पनि कसको हो पुष्टि भएको छैन।

पहिरोबाट शव निकाल्न बाँकी रहेको उनले जानकारी दिए। पहिरोले खोक्लिङ-७ धुसेनीमा एक घर बगाउँदा २ जनाको ज्यान गएको छ। स्थानीय राजकुमार मादेनको घ बगाउँदा ११ वर्षीय सविन मादेन र सोही गाविसका ८ वर्षिया वसन्त विकको मृत्यु भएको प्रहरीले बताएको छ।

गम्भीर घाइते भएका दुई जनालाई उपचारका लागि जिल्ला अस्पताल ल्याइँदै गरेको मृतक सविनका काका बिष्णु मादेनले जानकारी दिए।

लिङतेपमा तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा आइतबहादुर लिम्बुकी छोरी चमेली, वाड ३ का ३१ वर्षीया मनकुमारी लिम्बु र नाम नखुलेका अर्का एक छन्।

सान्थाक्रा गाविसमा पनि पहिरोले दुई जनाको मृत्यु भएको छ। सान्थाक्रा ३ को लाक्चुङका अमरबहादुर लिवाङ र उनको नाम नखुलेका नातिको मृत्यु भएको स्थानीय तेजकुमार चोङवाङले जानकारी दिए। मृतक चमेलीका बाबु आइतबहादुर बेपत्ता छन्।

यस्तै पहिरोका कारण लिङतेप, खोक्लिङ, लिवाङ र थिङलाबु गाविस सबैभन्दा बढी प्रभावित छन्। स्थानीयका अनुसार लिङतेपमा ७, खोक्लिङमा ९, लिवाङमा ६ र थिङलाबु गाविसमा ६ घर बगाएको छ। इलाका प्रहरी कार्यालय दोभानका प्रहरी निरीक्षक देवीप्रसाद फागोका अनुसार मेवाखोला बढेर आउँदा खाम्लुङ गाविसको दोभान बजारको पल्लो भागका पवन लिम्बु,श्याम लिम्बु र दावा शेर्पाको घर बगाएको छ।

पानी परिरहेको र खोल्सा तथा खोला बढेका कारण यति नै संख्यामा हताहती भएको अनुमान लगाउन गाह्रो भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डिएसपी शान्तिराज कोइरालाले बताए।

गाउँमा रहेका प्रहरी युनिट उद्धारका लागि खटिए पनि पैदलको माध्यबाट पहिरोग्रस्त क्षेत्रमा जान नसकिएको उनले बताए।

तमोर तथा मेवाखोला आसपासको सबैभन्दा ठूलो दोभान बजार जोखिममा रहेको र त्यहाँ ३ वटा घर बगाएको स्थानीयले बताएका छन्। बाँकी घरका बासिन्दा घर छाडेर भागेका छन्।

यता ७ घर रहेको लिङतेपको रामदुवाली बजारका इन्द्र नाल्वो, बसन्त सामेखाम, दलबहादुर नाल्वो, भवानसिंह नाल्वो, राजकुमार सामेखाम र डाँडापारी साइला भनिनको घर बगाएको छ।

स्थानीय आशिष केदेमका अनुसार लिङतेप- ६ का आइतबहादुर केदेमको परिवारका ६ जना घाइते भएका छन्। उनीहरुलाई उपचारका लागि ल्याउन कठिनाइ भएकाले ज्यान जोखिममा परेको उनले जानकारी दिए।

Comments are closed.