पहिलोपटक देख्न पाए सर्वसाधारणले ‘रत्नमन्दिर’

पोखरा, बैशाख ६ गते-
पोखराको रत्न मन्दिर अर्थात् पुरानो राजदरबारका बारेमा धेरैथोरै सुनिएकै हो । रत्न मन्दिरको बारेमा सुनेपनि यो राजदरबार कस्तो होला भनेर अहिलेसम्म निकै कमैले देखेका छन् । किनकी यहाँभित्र पस्न र फोटो खिच्न सर्वसाधारणलाई अनुमति दिईंदैनथ्यो ।
कुनै सामाजिक सञ्जाल अथवा गुगल सर्च गरियो भनेपनि रत्न मन्दिरको एउटै फोटो कहिँकतै भेटिँदैन । शनिबार विश्व सम्पदा दिवसको अवसरमा पहिलोपटक यहि रत्न मन्दिरभित्र सार्वजनिक कार्यक्रम आयोजना गरियो र कहिल्यै रत्न मन्दिरको मुख देख्न नपाएका सर्वसाधारणहरुले पनि प्रत्यक्ष रुपमा रत्न मन्दिरलाई अवलोकन गर्ने मौका पाए । आफ्नै क्षेत्रभित्र रहेको रत्नमन्दिरभित्र प्रवेश गरी प्रत्यक्ष अवलोकन गर्न पाउँदा अन्तक्र्रिया गर्न पाउँदा पोखरेलीहरु यसै पनि खुशि थिए ।
खासमा पूर्व राजपरिवारका सदस्यहरु पोखरा आउँदा बसोबास गर्ने ठाउँ हो रत्नमन्दिर । राजपरिवारका सदस्यहरु बस्ने ठाउँ भनेपछि पक्कै पनि यो पृथक छ र यसको महत्व पनि बिशेष नै हुने भैहाल्यो । पोखराको बसुन्धरापार्कबाट तालबाराही मन्दिर जाने बाटोको बिचमै रहेको रत्न मन्दिरलाई कडा सुरक्षाका साथ अग्लो पर्खाल लगाईएको छ ।

ratna
पहिलेदेखि नै यो दरबारको सुरक्षाका लागि नेपाली सेनाको एउटा बटालियन नै राखिएको छ, दरबार परिसरमा । पूर्व राजा स्व. वीरेन्द्र शाहको नाममा रहेको रत्नमन्दिर २०६३ सालको राजनीतिक परिवर्तनसँगै त्यसको एकबर्षपछि मन्त्रिपरिषद्को निर्णयले नेपाल ट्रष्टको स्वामित्वमा आईसकेको छ । वि.सं. २०१४ सालमा राजा महेन्द्रले आफ्नी कान्छी श्रीमती रत्नको नामबाट पोखरा आउँदा जाँदा बस्नमिल्ने गरी यो दरबारको निर्माण गर्न लगाएका थिए ।
रत्न मन्दिरलाई हिँउदे दरबारको रुपमा समेत नामाकरण गरिएको थियो । महेन्द्रका पालामा बनेको दरबार पछि पुस्तान्तरण हुँदै रत्न मन्दिर राजा विरेन्द्रको नाममा आएको थियो ।
कवि तथा सँस्कृतिविद् तीर्थ श्रेष्ठ भन्छन्– “रत्न मन्दिरमा सार्वजनिक कार्यक्रम गरेर सर्वसाधारणका लागि खुल्ला गरिएको पहिलोपटक हो ।” श्रेष्ठले राजा विरेन्द्रको पालामा रत्न मन्दिरभित्रै गएर आफ्ना कविता सुनाएको स्मरण गर्दै पोखरा हटलाइन सँग भने– “मैले यही मन्दिरभित्र गएर केही पटक राजा विरेन्द्रलाई कविता पनि सुनाएको थिएँ । हुन त रत्नमन्दिरभित्र त्यति ठूलो र राम्रो चिज केही पनि बनेको छैन । पूर्व राजपरिवारका सदस्यहरुको बस्ने ठाउँ भएकाले नै यसले त्यति धेरै महत्व पाएको हो ।”

ratna-mandir-pokhara1
पछिल्लो समय रत्न मन्दिरलाई कहिले पाँचतारे हाटल बनाईनुपर्ने त कहिले जैविक विविधता संग्रहालय अनि पार्क बनाईनुपर्ने माग पनि उठिरहेको छ । यसलाई जे बनाएपनि व्यवस्थित गरी त्यसको ऐतिहासिकता नमर्ने गरी बनाउनुपर्ने श्रेष्ठको तर्क छ ।
त्यसअघि केही समय सर्वसाधारणका लागि पनि खुल्ला गरेर बृहत् छलफलपछि के बनाउँदा उपयुक्त हुन्छ, त्यही बनाउनु उपयुक्त हुने उनी बताउँछन् । एक सय ११ रोपनी क्षेत्रफलमा फैलिएको यो मन्दिर २०६७ सालदेखि नेपाल ट्रष्टको स्वामित्वमा छ ।

Comments are closed.