पाँच दिनदेखि भारतबाट इन्धन अाएकाे छैन

२२ कात्तिक, काठमाडौं । पछिल्लो पाँच दिनदेखि भारतबाट पेट्रोलियम पदार्थ आयात ठप्प भएको छ । वीरगञ्जमा प्रदर्शनका क्रममा गत सोमबार प्रहरीले चलाएको गोली लागी एक भारतीय नागरिकको मृत्यु भएको भोलिपल्ट नेपालगञ्ज र काँकडभिट्टा नाकाबाट केही इन्धन बोकेका ट्यांकर नेपाल प्रवेश गरेका थिए । तर, त्यसपछि कुनैपनि नाकाबाट पनि नेपालमा पेट्रोलियम पदार्थ बोकेका ट्यांकर नेपाल नभित्रिएका नेपाली भन्सार अधिकारीहरुले बताएका छन् ।

५ दिनदेखि निगमको भण्डारमा भारतबाट आएको एक लिटर पनि तेल नथपिएको आयल निगमका निमित्त निर्देशक मकुन्द घिमिरेले जानकारी दिए । तर, चीनले अनुदानमा दिएको पेट्रोल भने आपूर्ति भइरहेको छ ।

वीरगञ्जमा आफ्ना नागरिक मारिएसँगै भारतले सीमा नाकाहरुमा कडाइ गरेको थियो । भारतीय आयल कर्पोरेशन आईओसीका डिपोहरुले नेपाललाई दिने तेलको परिमाण घटाएका थिए । तर, आईओसीको डिपोबाट तेल भरेका ट्यांकर पनि भारतीय भन्सारले छाडेको छैन ।

सीमा क्षेत्रमा सयौं इन्धन बोकेका गाडी रोकिएका छन् । मालबाहक सवारी साधनहरुको संख्या ७ हजारभन्दा बढी छ ।

नेपाली अधिकारीहरुका अनुसार काँकडभिट्टाको मेची भन्सार पारी ३८ वटा इन्धन ट्यांकर भारतीय पक्षबाट रोकिएको छ भने बिराटनगरको रानी भन्सार पारी जोगबनीमा एकसय भन्दा बढी ट्यांकर भन्सार पास हुने प्रतिक्षामा छन् ।

यसैगरी भैरहवाको बेलहिया भन्सार पारी सुनौलीमा १ सय २० इन्धनका गाडी रोकिएका छन् । नेपालगञ्जको जमुनाह पारी रुपैडियामा पनि १ सय भन्दा बढी तेल बोकेका ट्यांकर तथा ग्यासका बुलेट अलपत्र छन् । कैलालीको गौरीफन्टा नाकामा १२ वटा इन्धन ट्याकंर ५ दिनदेखि रोकिएका छन् । नेपालगञ्ज नाकाबाट भने अपवादका रुपमा शनिबार राति एक बुलेट ग्यास भित्रिएको छ ।

 

Comments are closed.