पाठ्यपुस्तकमा हुने कमिशनको खेल रोक्न आवश्यक

पोखरा १९ चैत ।पाठ्यपुस्तकमा हुने कमिशनको खेल रोक्नुपर्नेमा पोखरामा भएको कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् ।उपभोक्ता मञ्च कास्की, अभिभावक संघ नेपाल र संयुक्त विद्यार्थी संगठन कास्कीको संयुक्त आयोजनामा पोखरामा भएको ‘पाठ्यपुस्तक वितरण लगायत समग्र शैक्षिक क्षेत्रमा विद्यमान समास्याहरु र समाधानमा हाम्रो दायित्व’ बिषयक अन्तक्र्रिया कार्यक्रमका सहभागिहरुले यस्तो बताएका हुन् ।

कार्यक्रमका सहभागिहरुले फरक फरक विद्यालयहरुमा फरक फरक पाठ्यपुस्तकको पढाई हुनु, विद्यार्थीहरुलाई बुक लिष्ट नदिनु, विद्यालयले तोकेको पसलबाट मात्र विद्यार्थीहरुले पाठ्यपुस्तक र स्टेशनरीको सामान किन्नुपर्ने बाध्यता रहेको बताएका थिए ।
नयाँ शैक्षिक सत्रसंगै केही निजी विद्यालयहरुले पब्लिकेशनसँग मिलेर कमिशनको माध्यमद्धारा कमाउन उद्यत रहेको भन्दै यस्तो कार्य रोक्न उनीहरुको माग थियो ।

कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले सामुदायिक बिद्यालयहरुको शैक्षिक गुणस्तरमा वृद्वि ल्याउनुपर्ने बताए । यसका लागि विभिन्न राजनीतिक दलहरुसंग आबद्ध शिक्षक, प्राध्यापक र विद्यार्थी संगठनहरुको भूमिका उल्लेख्य रहने उनको भनाई थियो । राउतले गैर कानुनी ढंगले सञ्चालनमा आएका विद्यालयहरुलाई चेतावनी दिँदै त्यस्ता विद्यालयहरुलाई बेलैमा सुधार गर्न समेत आग्रह गरे । ‘केही विद्यालयहरु गैर कानूनी ढंगले सञ्चालनमा आएको हामीलाई सूचना आएको छ,’ उनले भने– ‘गैरकानूनी ढंगले चलेका विद्यालयहरु सधैं प्रशासनका लागि अमान्य हुनेछ’ ।

कार्यक्रममा स्थानीय विकास अधिकारी तारानाथ अधिकारी, प्याब्सन कास्कीका चिनु रानाभाट, एन प्याब्सनका रामबहादुर मोची, पुस्तक तथा स्टेशनरी व्यवसायी समिति कास्कीका जगदिश पोखरेल, पत्रकार महासंघ केन्द्रीय सदस्य सुष्मा पौडेल लगायतले शिक्षा क्षेत्रमा रहेका विकृति र विसंगति हटाउनका लागि प्रतिबद्धता जनाएका थिए ।उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिल कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममाथि अखिल क्रान्तिकारीका कृष्णराज दाहालले प्रकाश पारेका थिए ।

Comments are closed.