पानी र हावाबाट सर्ने रोगको संक्रमण बढी

पोखरा, १० साउन/ मौसम परिवर्तनसँगै पोखराका विभिन्न अस्पतालहरुमा बिरामीको चाप बढ्न थालेको छ । दूषित पानी र अस्वस्थकर खानपानका कारण केही सातायता बिशेषगरी ज्वरो, रुघाखोकी झाडापखाला, निमोनिया लगायत रोगका बिरामीहरु बढेका हुन् ।
पश्चिमाञ्चलकै ठूलो पश्चिमाञ्चल क्षेत्रीय अस्पताल रामघाटमा मात्रै साउन लागेपछि २० प्रतिशत बिरामीहरु बढेका मेडिकल सुपरिटेण्डेण्ट श्रीकृष्ण श्रेष्ठले जानकारी दिए । यसअघि सामान्यता दैनिक ६÷७ सयजना बिरामीहरु चेकजाँचका लागि आउने गरेकोमा अहिले ओपिडीमा जाँच गराउन आउनेहरुको संख्या ९ सयको हाराहारीमा पुगेको उनले बताए ।
“मौसम परिवर्तनसँगै अहिले सिजनेवल रोगका बिरामीहरु बढेका छन् ।” उनले भने– “पानीबाट सर्ने रोग र हावाबाट सर्ने रोगका बिरामीहरुको चाप बढी छ । बर्षायाममा मूल तथा खोलानालाको पानी प्रदूषित हुने भएकाले बर्षेनी यो समस्या बल्झिरहन्छ ।”
बिशेषगरी बालबालिका तथा वृद्धवृद्धाहरु ज्वरो, झाडापखाला, टाइफाइड तथा निमोनियाको समस्या लिएर अस्पताल आउने गरेको श्रेष्ठले बताए ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अहिले ओपिडीमा जाँच गर्न आएकामध्ये १० प्रतिशतभन्दा बढी बिरामीले भर्ना गरेरै उपचार गराईरहेका छन् ।
यस्तै, फूलबारीस्थित मणिपाल शिक्षण अस्पतालमा पनि पछिल्लो समय बिरामीको संख्या बढेको छ । अन्य रोगसँगै ज्वरो, टाइफाइड, झाडापखाला र निमोनियाका बिरामीहरुको चाप बढेको अस्पतालले जनाएको छ । मणिपालमा पनि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालकै हाराहारीमा बिरामीहरु चेकजाँचका लागि आउने गरेका छन् ।
यसैगरी, गण्डकी मेडिकल कलेज, फेवासिटी अस्पताल, फिस्टेल अस्पताल, मेट्रोसिटी अस्पताल लगायतका अस्पताल र अन्य मेडिकल हलहरुमा समेत मौसमी रोगबाट प्रभावित बिरामीको संख्या बढेको पाईएको छ ।
अहिले बर्षायाम भएकाले बिषेशगरी खानेपानीका श्रोतहरुमा बाढी तथा ढलको पानी मिसिने भएकाले पानी प्रयोगमा बिशेष ध्यान दिन चिकित्सकहरुले सुझाव दिएका छन् । सकेसम्म उमालेको पानी प्रयोग गर्न र नसके फिल्टर गरेर भएपनि प्रयोग गर्न उनीहरुको सुझाव छ । साथै सरसफाईमा बिशेष ध्यान दिने, बासी तथा सडेगलेका खाना नखाने, भिडभाडमा सकेसम्म नजाने गरेमा केही हदसम्म भएपनि यी रोगको संक्रमणबाट बच्न सकिने पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. श्रीकृष्ण श्रेष्ठले बताए ।
रुघाखोकी, ज्वरो लगायतका रोग हावाको माध्यमबाट सजिलै सर्ने भएकाले सकेसम्म धेरै भिडभाडमा नजान र र जानैपरे मास्कको प्रयोग गर्न उनको सुझाव छ ।
यसैगरी, विभिन्न सामान छुँदा, हात मिलाउँदा पनि हातमा सर्ने रोगका जिवाणु हुनसक्ने भएकाले खाना खानु अघि साबुनपानीले हात सफा गर्न, दिसापिसाबको उचित व्यवस्थापन गर्न र रुघाखोकी लागेका व्यक्तिहरुबाट टाढै रहन पनि चिकित्सकहरुले सुझाव दिएका छन् ।

Comments are closed.