पार्कीङ विवाद अझै मिलेन

yatayataपोखरा ५ पुस/ पोखरामा देखिएको पार्कीङ समस्या समाधानका लागि तोकिएको समयसिमा सकिएको छ । नगरपालिका र व्यवसायीको आआफ्नै अडानका कारण कुनै समाधान बिना समस्या समाधानका लागि तोकिएको समयसिमा सकिएको हो । गत मंसिर २९ गते नगरपालिकाका कानुन अधिकृत नारायण शर्माको संयोजकत्वमा सुझाव संकलन समिति गठन भएको थियो । समितिले ५ दिनभित्र स्पष्ट रायसहितको सुझाव दिने र छलफल गरी विवाद टुंगो लगाउने भनिएपनि तोकिएको समय सकिँदासम्म कुनै निर्णय हुन सकेको छैन ।

समितिले सरकारी कार्यालय, क्याम्पस तथा विद्यालय जस्ता जनसरोकारका सार्वजनिक ठाउँहरुमा निशुल्क पार्किङ जोन घोषणा गर्नुपर्ने, सार्वजनिक यातायतका साधनहरुले यात्रु झार्दा र चढाउँदा पार्किङ शुल्क नलिन र अहिले लिँदै आएको शुल्क घटाउन प्रश्ताव गरेको थियो । बस, ट्रक, मिनिबस, ट्याक्टरको १० रुपैयाँ, ट्याक्सी, भ्यान र माईक्रोबसको ७ रुपैयाँ तथा मोटरसाईकल र स्कुटरको ५ रुपैयाँ कायम गर्न सिफारिस गरिएको समितिका सदस्य तथा पोखरा बस ब्यवसायी समितिका अध्यक्ष रमेश गिरीले बताए ।

समितिको प्रश्ताव कार्यकारी अधिकृतलाई पेश गरिएको र यो बिषयमा थप छलफल भैरहेको समितिका संयोजक नारायण शर्माले जानकारी दिए । समितिले गरेको प्रश्ताव कार्यकारीलाई पेश गरेका छौं, शर्माले भने–“अबको प्रक्रिया कार्यकारीबाट हुने हो ।” समितिले गरेको प्रश्तावलाई भोलि कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत, यातायात ब्यवसायी र ठेकेदारसहितको उपस्थितिमा छलफल गरिने नगरपालिकाले जनाएको छ । तर समितिले प्रश्ताव गरेको नयाँ पार्किङ शुल्क ब्यवहारिक नहुने नगरपालिकाले जनाएको छ । अहिले लिँदै आएको पार्किङ शुल्क २०५७ सालमा निर्धारण गरिएकाले शुल्क बृद्धी हुनुपर्नेमा झनै घटाउनु ब्यवहारिक नहुने सरोकारवालाहरुले बताएका छन् । नगरपालिकाले २०६८ सालमा सडक मर्मत शुल्क, बार्षिक सवारी शुल्क र पार्किङ शुल्क समेत लिने गरी पार्किङ शुल्कमा हेरफेर गरेको थियो ।

तत्कालिन समयमा भएको सर्वदलिय संयन्त्र सहितको बैठकले बस तथा मिनिबसबाट १० रुपैयाँ पार्किङ शुल्क लिने निर्णय गरेको पोखरा उपमहानगरपालिकाका कर अधिकृत शिवहरी शर्माले जानकारी दिए । नगरपालिकाले अहिले बस, ट्रक र मिनिबसको दैनिक २५ रुपैया“, ट्याक्सी, भ्यान, माइक्रोवसको २० रुपैया“, निजी जिप, कारको १५ रुपैया“, पावर टिलर, ट्याक्टरको १० रुपैया“ तथा मोटरसाईकल र स्कुटरको ७ रुपैया“ पार्किङ्ग शुल्क तोकेको छ । पार्किङ ब्यवस्थापनको ठेक्का लिनुभएका ठेकेदार प्रेम कार्कीले भने भोलिदेखि नगरपालिकासँग सम्झौता भएकै रकममा पार्किङ शुल्क लिने र त्यसमा कुनै अबरोध आए नगरपालिका जिम्मेवार हुनुपर्ने बताए । विवादका कारण ठेकेदार कम्पनीले अहिलेसम्म पोखरा बस, र ट्याक्सीसँग पार्किङ शुल्क लिएको थिएन ।

Comments are closed.