क्लार्कसँग सम्झौता तोडेर नयाँ प्याकेज थप्दै पाेखराकाे पाँच तारे फूलबारी रिसोर्ट

स्वदेशी पर्यटकलार्इ  प्राथमिकता


 अमृत सुवेदी/ पोखरा १८ जेठ
भारतीय होटल समूह क्लार्कको व्यवस्थापन सम्झौता तोडर सम्पूर्ण जिम्मा आँफै लिएको पोखराको पाँच तारे होटल फूलबारी रिसोर्ट एण्ड स्पाले पर्यटक तान्न नयाँ प्याकेज ल्याएको छ । सम्पूर्ण व्यवस्थापनको जिम्मा लिएको क्लार्कसँग एक बर्षमै सम्झौता तोडेर नयाँ योजनाका साथ रिसोर्ट संचालनमा आएको हो । १५ बर्षका लागि क्लार्कसँग व्यवस्थापन सम्झौता गरिएको भएपनि उसको कामप्रति असन्तुष्टि जनाउँदै सम्झौता तोडिएको रिसोर्टले जनाएको छ । hotal-fulbari
सम्झौता अनुसार पुनर्निमार्णका काम रिसोर्टको लगानीकर्ता अमात्य समूहले गर्ने र व्यवस्थापन तथा बजारिकरणको काम क्लार्कले गर्नेपर्ने थियो । क्लार्क समूहले १ वर्षमा रिसोर्टलाई नाफामा लैजाने दाबी गर्दै सम्झौता गरेको भएपनि राम्रो नतिजा दिन नसकेको अमात्य समूहले जनाएको छ । क्लार्कसँग सम्झौतापछि होटल झन् घाटामा गएको समूहले जनाएको छ । क्लार्कको व्यवस्थापन हटाएर नयाँ योजना र म्यानेजमेन्टका साथ रिसोर्ट संचालन थलिएको बताइएको छ ।
भूकम्पपछि नेपालका होटल व्यवसाय पनि सुनसान बनेपछि रिसोर्टले स्थानीय पर्यटकलाई आकर्षण गर्ने खालका योजना अगाडी सारेको छ । ‘भूकम्पपछि सुनसान बनेको रिसोर्ट विस्तारै जाग्न थालेको छ’ रेसिडेन्ट म्यानेजर रोशन खवासले भने ‘विदेशीसँगै स्वेदेशी पर्यटकलाई बढी मध्यनजर गर्दै नयाँ योजनाका साथ रिसोर्ट संचालन भैरहेको छ ।’ स्थानीय पर्यटकलाई ध्यानमा राखी छुट्टाछुट्टै प्याकेजमा स्विमिङ्ग पुल, छुटका साथ कन्फरेन्स हल, सुटिङ स्थल, र लजिङ्ग, फुडिङ्गका योजनाहरु ल्याएको म्यानेजर खवासले बताए ।
रिसोर्टले प्याकेज योजनाका साथ पोखराकै ठूलो स्विमिङ्ग पुल संचालनमा ल्याएको दावी गरेको छ । करिव ३५ मिटर लम्बाई र २५ मिटर चौडाई भएको स्विमिङ्ग पुल संचालनमा ल्याएको खवासले बताए ।
स्थानीय तथा स्वदेशी पर्यटकका लागि एक समयको स्विमिङ्गसँगै सफ्ट ड्रिङ्सको पाँच सय, वियरसहितको सात सय, सफ्ट ड्रिङ्स र नेपाली खानासहितको एक हजार रुपैयाँ र बारबि क्यू लान्चसहितको १२ सय रुपैयाँ तय गरेको खवासले बताए । यो सेवा विदेशी पर्यटकका लागि भने महङ्गो पर्ने उनले बताए । यसैगरी विशेष छुटका साथ कन्फरेन्स् हल उपलब्ध गराउने रिसोर्टले जनाएको छ । २ हप्ता अगाडी मात्रै संचालनमा ल्याएको यो सुईमिङ्ग पुलमा स्थानीयहरुको चाप पनि बढ्दै गएको उनले बताए ।
२ ठूला र ३ साना हल रहेको रिर्सोटले राष्ट्रिय तथा स्थानीय सम्मेलन र विभिन्न कार्यक्रमका लागि २० प्रतिशतसम्म छुट दिएर हल उपलब्ध गराउने म्यानेजर खवासले जानकारी दिए । ‘हामीसँग राष्ट्रिय स्तरका सम्मेलन गर्न सक्ने हल छन्’ खवासले भने ‘देशको यो अवस्थामा पुरा सम्मेलन र कार्यक्रमका लागि उपयुक्त ठाउँ पनि हो । यसका लागि पनि विशेष छुटको योजना ल्याएका छौं ।’ रिसोर्टले कोठामा ५० प्रतिशत र खानामा २० प्रतिशतसम्म छुट दिने जनाएको छ ।

भूकम्पपछि रिसोर्टमा अरुबेलाको तुलनामा अहिले भण्डै पाँच प्रतिशत मात्र ग्राहक तथा कारोबार रहेको जनाइएको छ । विस्तारै विदेशी तथा स्वदेशी पर्यटकहरु आउन थालेको खवासले बताए । फूलबारी रिसोर्टमा मुलुककै पहिलो हेल्थ स्पा, एक्जिक्युटिभ गल्फ कोर्स र हेलिप्याड रहेका छन् । व्यापारिक घराना अमात्य समुहले सन् १९९८ बाट पोखरामा संचालनमा ल्याएको रिसोर्टले लामो समयदेखि घाटा व्यहोर्दै आउनुपरेको छ । रिसोर्टमा १३ सुइट्स, ६२ डिलक्स, ७६ सुपर डिलक्स र १४ रोयल एक्ज्यूकेटिभ गरी १ सय ६५ कोठा छन् ।

रिसोर्टको व्यवस्थापन सम्हाल्दै पोखराका खवास

524399_3821923872640_305487067_nभारतीय होटल समूह क्लार्कसँगको व्यवस्थापन सम्झौता तोडिएपछि रिसोर्टको व्यवस्थापन सम्हाल्न पोखराका रोशन खवास आएका छन् । कास्कीको थुम्की पाँचमा जन्मेर हाल पोखरा रामबजार निवासी खवास रिसोर्टको रेसिडेन्ट म्यानेजर पदमा भएपनि सम्पूर्ण म्यानेजमेन्टको जिम्मा पाएका हुन् । स्वदेशमा ७ तथा विदेशमा खाडी मुलुकका विभिन्न पाँचतारे होटलमा १४ बर्षसम्म काम गरेको अनुभव खवाससँग छ । खवासलाई तिन महिना पहिले मात्र अमात्य समूहले रिसोर्टको व्यवस्थापन हेर्ने जिम्मा दिँदै नियुक्ती दिएको हो ।
२०४८ सालमा पोखरा लेकसाइडको एक रेष्टुरेण्टमा कामदारका रुपमा यो क्षेत्रमा प्रवेश गरेका खवासले पोखराको पहिले ब्लू बर्ड र अहिलेको पोखरा ग्राण्डमा रिसेप्सनका रुपमा तीन बर्ष काम गरे भने खाडी मुलुकका विभिन्न पाँच तारे होटलमा म्यानेजरका रुपमा काम गरेका छन् । साउदीको चर्चित पाँचतारे होटल रोज ऊड, बहराइनको इन्टरकन्टिनेन्टल, कुवेतको र्‍याडिसन ब्लू कुवेत, लगायतका ठाउँका म्यानेजरका रुपमा काम गरेका खवासले होटल म्यानेजमेन्टमा ब्याचलर गरेका छन् ।
लामो समय देश तथा विदेशमा बटुलेको अनुभवलाई रिसोर्टमा लगाउने उनले दाबी गरे । ‘म सँग विभिन्न देशका पाँच तारे होटलमा गरेका अनुभवहरु छन्’ खवासले भने ‘त्यहाँ देखेको तथा बटुलेको अनुभव यहाँ लगाउनेछु । त्यसले एउटा प्रतिफल दिनेमा म ढुक्क छु ।’
पहिलेदेखि नै घाटा व्यहोर्दै आएको रिसोर्टमा म्यानेजमेन्टदेखि मेन्टिनेन्ससम्म आफुले सुधार गर्न लागिरहेको उनले बताए । अहिले भूकम्पका कारण रिसोर्ट सुनसान बनेको भएपनि विस्तारै बढ्दै जाने र आफुहरुले पनि सुविधा र स्तरियता बढाउँदै लैजाने खवासले दाबी गरे ।

Comments are closed.