अमृत सुवेदी
पोखरा १५ बैशाख/ गाउँ पुरै सखाप भएको छ । त्यो दिन म खेतमा भएका कारण बँचे । कोको मरे कोको बाँचेका छन् केही थाहा छैन । गाउँका सबैजना बाटोमै बसेर रात गुजारियो । बिहान गाउँमा हेलिकोप्टर गयो । अनि हामीसहित घाईते भएकाहरुलाई पोखरा ल्याईयो । धेरै आफन्तहरु मरेको भन्ने खबर आएको आएको छ तर को सँग सोध्ने गाउँको हालखबर ? यहाँबाट फर्किएपछि अब कहाँ गएर बस्ने, के खाने केही थाहा छैन ।
९ बर्षीय छोरी एलिशाको पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार गराइरहेकी गोरखा बारपाक गाविस–५ की सरिना घलेले दुखेको पोखिन् ।
गोरखा बारपाक खरिबोट कै ८० बर्षकी टुकेश्वरी घलेले पनि यस्तै दुखेसो पोखिन् ‘म यहाँ आएको मेरा छोराछोरी कसैलाई थाहा छैन । माईती पनि मेरै गाउँभन्दा अलिकति उता हो । त्यहाँ पनि को को के के भए थाहा छैन । सबै आत्तिएका होलान् । मैले फोन गर्न जान्दिन । अरुले उनीहरुले पनि फोन कहाँ गरुन् ? मेरा छोराछोरी र माईती अब कसले खोजिदेला ?’
अहिले गोरखाको बारपाक र आसपासमा भूकम्पबाट पीडित बनेका केही घाइते तथा विरामीको पोखराको विभिन्न अस्पतालमा उपचार भैरहेको छ । उनीहरु धेरैजसोको चिन्ता सरिना घलेको जस्तै छ । थुप्रै आफन्तहरु गाउँमा छटपटाइरहेको र अफ्ठ्यारो परेको खबर आइरहेको छ । यो सूचना कसलाई दिने ? आफ्ना आफन्तको उद्धारको काम र गाउँमा के भैरहेको छ ? अस्पतालमा उपचारपछि कहाँ जाने ? के गर्ने भन्ने कुराको सूचना पाउने र आफ्ना कुरा राख्ने आधिकारी ठाउँ नहुँदा धेरै जनालाई समस्या परेको रहेछ ।
सोमबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुग्दा धेरै जनाले यस्तै गुनासो गरे । घाइतेहरु शैयामा छटपाटाइरहेका थिए भने आफन्तहरु भित्रबाहिर गरिरहेका थिए । विभिन्न गैरसरकारी संख्या तथा राजनीतिक दल निकटका भातृ संस्थाले हेल्प डेक्स राखेका थिए । तर, दैवी प्रकोप उद्धार समितिले भने पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगायतका ठाउँमा हेल्प डेक्स राखेको बताएपनि घाइते र घाइतेका आफन्त भने आफ्ना समस्या राख्ने र खबर लिने ठाउँ नहुँदा अन्यौलमा थिए । भूकम्प पीडितका लागि काम गरिरहेको बताएपनि उद्धार समितिको अन्य संस्थासँग समन्वय नहुँदा घाइते तथा आफन्तहरुमा आफ्नो समस्या त छँदैछ उत्तिकै अन्यौलता पनि बढेको छ ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, गण्डकी मेडिकल कलेज, मणिपाल शिक्षण अस्पताल लगायतका अस्पतालमा ल्याइएका घाइते तथा आफन्तले आफुहरुलाई खानेपानी तथा अन्य खानेहरुको समस्या भएको बताए । ‘खल्तीमा पैसा छैन । प्यास लाग्दा र भोग लाग्दा खानेकुरा कहाँबाट ल्याउने हो ? कहाँ सक्पर्क गर्ने हो केही थाहा छैन’ घाइते राजकुमार घलेका आफन्तले भने,‘उपचार त पाएका छौं तर खानेकुराको समस्या भयो ।’
घाइतेको यही समस्याका विषयमा पश्चिमाञ्चल क्षेत्रीय प्रशासकलाई हटलाइनले जिज्ञासा राख्दा क्षेत्रीय प्रशासक जङ्गीए । ‘कहाँ छ यस्तो समस्या नचाहिने कुरा गर्ने ? हामीले सबै हेरका छौं । यस्तो नचाहिने बोल्ने को हो ? भन्नुस् म ल्याएर थुनिदिन्छु ।’ घाइते तथा घाइते आफन्तले राखेको समस्या तपाईलाइ भन्दा कसरी नचाहिने कुरा हुन्छ ? हटलाइनले प्रतिप्रश्न ग¥यो । उनले आफुले सबै अस्पतालको निरिक्षण गरेर आएको बताएका थिए । ‘त्यसपछि फेरी उनलाई उच्च ओहदामा बसेको मान्छेले यस्तो दुःखको बेला यसरी जर्कन सुगाउँछ । तपाइलाई घाइतेले भनेका समस्या राख्दा त यसरी जङ्गीनुहुन्छ भने भन्नै नसक्ने अवस्थामा रहेका जनताको कसरी उद्धार गर्नुहुन्छ ? जनताले आफ्नो गुनासो कसलाई सुनाउने’ भन्दाभन्दै प्रशासकले फोन काटे ।
घाइते तथा आफन्तको समस्या स्थानीय बिग एफएफ लगायतका अन्य एफएम रेडियो तथा पत्रपत्रिकामा आएपछि र यस्तो समस्या थाहापाए विभिन्न व्यक्ती तथा संस्थाहरुले स्वतस्फूर्त रुपमा खानेपानी तथा खानेकुराको प्रवन्ध गरेका थिए । उद्धार समितिको हेल्प डेक्सको विषयमा जिज्ञासा राख्दा उनले अस्पतालमा राखिसकिएको बताएपनि अस्पतालमा पुग्दा कसैलाई थाहा थिएन । फेरी उनलाई पत्रकारको टोलीले फोन गरेपनि अस्पताल प्रमुखलाई भेट्नु भन्ने उत्तर दिएका थिए । देशको यो दुःखद अवस्थामा सक्दो सहयोग गर्ने सबैको दायित्व हो । क्षेत्रीय प्रशासकले पनि आफ्नो दायित्व पुरा गरेकै होलान् तर, यसरी समस्याको विषयमा चासो राख्दा उनले आफ्नो असली रुप देखाएका छन् । अहिले त जतिसक्दो समस्यामा परेकाहरुलाई सहयोग गर्ने र गर्न अभिप्रेरित गर्नुपर्ने बेला होइन र ?
Comments are closed.