पोखराका पर्यटन व्यवसायीले पर्यटकीय सिजनमा बन्द, हड्ताल तथा आन्दोलनका कार्यक्रम नगर्न सम्बन्धित सबैलाई आग्रह गरेका छन् ।पर्यटनको सिजनको सुरुवातसंगै बन्द हड्ताल र आन्दोलनका कार्यक्रम आह्वान गरिएको भन्दै व्यवसायीले त्यसो नगर्न आग्रह गरेका हुन् । चैत, वैशाख र जेठ महिनालाई पर्यटनको सिजन भएको भन्दै यही सिजनको मुखमा आएर आव्हान गरिएको बन्द र हड्तालका कार्यक्रमले पर्यटन क्षेत्रमा भएका बुकिङहरु रद्द हुने क्रम सुरु भएको पर्यटन व्यवसायीले बताएका छन् । पोखराका पर्यटन व्यवसायीहरुको छाता संगठन पश्चिमाञ्चल होटल संघले विज्ञप्ति निकालेर बन्द र हड्तालले भ्रमणका लागि पर्यटक आउने वातावरण बिग्रिने र पर्यटक नआउने निश्चित जस्तै हुने बताउँदै विभिन्न राजनीतिक दलका तर्फबाट पर्यटनलाई प्रत्यक्ष असर पार्ने गरी आव्हान गरिएका सम्पूर्ण कार्यक्रम फिर्ता लिन अपिल गरेको छ ।
पोखरामा बार्षिक लाखौं आन्तरिक तथा बाह्य पर्यटक भ्रमणका लागि आउने गरेको र यस्तो भ्रमण नेपालका अन्य पर्यटकीय शहरमा समेत हुने गरेकाले पर्यटकलाई भ्रमणका लागि निश्चित वातावरण निर्माण गर्न होटल संघ पोखराका अध्यक्ष भरतराज पराजुलीले आग्रह गरे । विगतमा अन्नपूर्ण फेरोमा आइपरेको हिमआँधीको त्रासदी, नेपालको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टर्किस एयरको जहाजले अवरोध पु¥याउँदा विदेशबाट पर्यटक आउने क्रम केही दिनका लागि ठप्प जस्तै भएको अवस्था लगायतका कारणले समेत नेपाल र पोखरा आउने पर्यटक दर कम भएको अवस्थामा बन्द र हड्तालका कार्यक्रमले झनै नकारात्मक प्रभाव पार्ने पर्यटन व्यवसायीको भनाई छ । पर्यटकीय सिजनलार्ई ख्याल गर्दै पश्चिमाञ्चल होटल संघ पोखराले सबै दल र पक्षहरुसँग बन्द र हड्तालका कार्यक्रम फिर्ता लिन विज्ञप्तिमार्फत् आग्रह गरेको छ ।
Comments are closed.