‘म सय वर्ष नाघेको मान्छेलाई पोखरादेखि बोलाएर मारे झैं गरे’ बिहीबार लालबहादुर झाेंक्किए, ‘म पोखरामा आफ्नै घरमा खुसीले बसिरहेको थिएँ, विभुषण दिन्छु भनेर राष्ट्रपतिले बोलाए । नाक फुलाएर काठमाडौं आएपछि गोली ठोकेझैं गरेर पठाउन लागेका छन् ।’
काठमाडौं, २६ चैत – सरकारले जनसेवाश्री राष्ट्रिय विभुषण लिन १ सय १ वर्षका लालबहादुर गुरुङलाई बिहीबारका लागि निम्तो दिएको थियो । उनी राष्ट्रपतिको हातबाट विभुषण लिन छोराको साथ लागेर मंगलबार नै पोखराबाट काठमाडौं आए । ३० दलीय मोर्चाले बन्दको आह्वान गरेको अग्रिम जानकारी भएपनि गृहमन्त्रालयका कर्मचारीले लालबहादुरका छोरा युवराजलाई सैनिक स्कटिङमा भएपनि कार्यक्रम हुन्छ भनेका थिए ।
‘तपाई चक्रपथको जुनसुकै ठाउँमा बसेपनि आर्मीको गाडीले कार्यक्रम स्थल पुर्याउँछ । तर, कार्यक्रम रोकिँदैन’ भनेर गृह मन्त्रालयको कर्मचारीले खबर गरेपछि युवराज बुबालाई लिएर मगलबार बिहानको जहाजमा काठमाडौं पुगे। दिउँसो गृह मन्त्रालय पुगेर राष्ट्रपति कार्यालय प्रवेश पास पनि लिए । अनि, बिहान ७ बजे नै बुबालाई एम्बुलेन्समा राखेर शितलनिवास पुर्याउने तयारी पनि गरिसकेका थिए ।
एक्कासी गृह मन्त्रालयबाट फोन आयो कार्यक्रम २७ गतेको लागि सर्यो भनेर । फेरि दिउँसो साढे ४ बजे मन्त्रालय बाट नै अर्को फोन आयो बैशाख ७ गते कार्यक्रम हुने भयो भनेर । उनलाई कारण पनि दिइएन, त्यसपछि त युवराज अन्यौलमा परे । ‘हिजो (बुधबार) १२ बजेतिर गृह मन्त्रालयका सुब्बाले फोन गरेर कार्यक्रम २७ गतेको लागि सरेको जानकारी दिए’ कार्यक्रम सरेको खबर दिँदै गृह मन्त्रालयबाट आएको फोनबारे युवराजले भने, ‘गृहबाट खबर आएपछि शुक्रबारको फर्किने टिकट शनिबारको लागि सारें । फेरि ४ बजेर ३५ मिनेट जाँदा उपसचिवको फोन आयो विभुषण वितरण बैशाख ७ गतेमात्रै हुने भयो भने ।’
‘ठूलाले जे गरेनी हुनि ! राष्ट्रपतिले नै लिउन् मेरो विभुषण’ उनी अझ राष्ट्रपतिसँग चिढिँदै थप्छन्, ‘म अब सम्मान लिन फेरि आउँदिन ।’ सरकारले गत जेठमा गणतन्त्र दिवसको दिन उनले गरेको समाजसेवालाई कदर गर्दै जनसेवाश्री (पञ्चम श्रेणी) को विभुषण दिने घोषणा गरेको थियो ।
कारण समेत नबताई बैशाखमा मात्रै विभुषण दिने भनी आएको खबर युवराजले बुबा लालबहादुरलाई सुनाए । त्यसपछि लालबहादुरले राष्ट्रपतिसँग भेटाइदिन पटक–पटक अनुरोध पनि गरे । तर, भेट्न सम्भव नभएपनि उनी निराश भएका छन् । ‘म सय वर्ष नाघेको मान्छेलाई पोखरादेखि बोलाएर मारे झैं गरे’ बिहीबार लालबहादुर झाेंक्किए, ‘म पोखरामा आफ्नै घरमा खुसीले बसिरहेको थिएँ, विभुषण दिन्छु भनेर राष्ट्रपतिले बोलाए । नाक फुलाएर काठमाडौं आएपछि गोली ठोकेझैं गरेर पठाउन लागेका छन् ।’
उनलाई राष्ट्रपतिको अगाडि पुगेर दुई हात जोडी ‘हजुर के कारणले खाली हात पठाउन लाग्नुभयो ?’ भनी प्रश्न गर्ने मन छ । भन्छन्, ‘केही कारण नै नभइ खाली हात पठाउन पनि राष्ट्रपतिले बोलाउने हो ?’ बैशाख ७ गते विभुषण लिन काठमाडौं नआउने निर्णयमा लालबहादुर पुगिसकेका छन् । ‘बोलीको भर नभएको सरकारले भन्दैमा फेरि को आउँछ, त्यो एउटा सम्मान न हो नभए पनि लाउन खान नपाउने होइन ।’
लालबहादुरले ब्रिटिस सेनाको तर्फबाट दोस्रो विश्वयुद्ध पनि लडेका थिए । लाहुरे जीवनपछि पोखरा उपमहानगरपालिका वडा नम्बर १२ मा बसोबास गर्दै आएका छन् । उनी कास्कीको याङ्जाकोटको उप–प्रधानपञ्च, याङ्जाकोट वडा नम्वर २ को वडा अध्यक्ष पनि भइसकेका छन् ।
स्थानीय तहमा विद्यालय, पुल बनाउन सहयोग गरेका छन् । दोस्रो विश्वयुद्धमा वीरता देखाएको भनी बेलायत सरकारले पटक पटक गरी पाँचवटा तक्मा उनलाई दिएको छ । तर, आफ्नै सरकारले भने करिब एक वर्षअघिदेखि दिने भनेको विभुषण पनि नदिएर रित्तो हात फर्काएकोमा राष्ट्रपतिसँग औधी रिसाएका छन् उनी ।
‘ठूलाले जे गरेनी हुनि ! राष्ट्रपतिले नै लिउन् मेरो विभुषण’ उनी अझ राष्ट्रपतिसँग चिढिँदै थप्छन्, ‘म अब सम्मान लिन फेरि आउँदिन ।’ सरकारले गत जेठमा गणतन्त्र दिवसको दिन उनले गरेको समाजसेवालाई कदर गर्दै जनसेवाश्री (पञ्चम श्रेणी) को विभुषण दिने घोषणा गरेको थियो । राष्ट्रपतिको हातबाट सोही विभुषण लिन आमहड्तालको समेत पर्वाह नगरी काठमाडौं आएका थिए । तर, गृह मन्त्रालयले मान पदवी, अलंकार र विभूषण वितरण गर्ने कार्यक्रम बैशाखमा सरेको कार्यक्रमको अघिल्लो दिन मात्रै जानकारी दिएको हो ।
-शब्द : प्रतिमा सिलवाल / तस्बिर : कृष्ण पौड्याल /चक्रपथ
Comments are closed.