पाेखराका २५ मासु पसलमा अनुगमन

कालोबजारी रोक्न खसी तथा कुखुरा व्यवसायीलाई आग्रह


पोखरा १०, चैत / सोमबार मात्रै पोखराका २५ वटा मासु पसलमा अनुगमन गरिएको छ । पोखरा उप–महानगरपालिकाको संयोजनमा भएको अनुगमनका क्रममा चार वटा मासु पसलको प्रमाण पत्र, ३ वटाको मूल्य सूचना बोर्ड र एउटा ढक बरामद गरेको छ । उनीहरुलाई समय दिएर नगरपालिकामा हाजिर हुन निर्देशन दिईएको पोखरा उप–महानगरपालिकाका नगर प्रहरी निरीक्षक वसन्त चालिसेले जानकारी दिए । पोखराका अधिक मासु पसलमा व्यवसायीको एकाधिकार कायम रहेको, मूल्यमा एक रुपता नभएको, कतिपय पसलहरु अत्यन्तै फोहोर भेटिएको अनुगमन समितिले जनाएको छ । अनुगमन गरिएका २५ वटा पसल मध्ये सिद्धार्थचोकमा रहेको फिस्टेल कोल्ड स्टोर्स र सिर्जनाचोकमा रहेको जस्मिन फ्रेस हाउस निकै फोहोर रहेको पाईएको छ ।

समितिले पोखराको जिरो किलोमिटरमा एक व्यापारीले काँचो कपडा, फलफूल र तरकारी एउटै पसलबाट बिक्री गरेको भन्दै पसल संञ्चालकलाई नगरपालिकामा हाजिर हुन निर्देशन दिएको छ । अधिकांश मासु पसल सञ्चालकहरुले कुखुराको मासुको मूल्य छुट्टा छुट्टै टाँसेर बिक्री गर्ने गरेको पाईएको छ । अहिले पोखरामा कुखुराको प्रतिकेजी होल मासुको मूल्य ३ सय ९० कायम गरिएको भएपनि व्यवसायीहरुले साँप्रा मात्र भन्दै ७ सय ८० रुपैयाँ प्रतिकेजी मासु बिक्री गर्दै आएको भेटिएको छ । यो सरासर कालोबजारी भएको अनुगमन समितिले निश्कर्ष निकाल्दै कास्की खसी तथा कुखुरा व्यवसायीलाई बोलाएर तत्काल कालोबजारी रोक्न निर्देशन दिने बताएको छ । नगरपालिकाका नगर निरिक्षक वसन्त चालिसेको संयोजकत्वमा सोमबार अनुगमन भएको हो । अनुगमन टोलीले आइतबार पोखराका १६ वटा मासु पसलमा अनुगमन गरेको थियो ।

Comments are closed.