पाेखरामा कामदारै छैनन्, निर्माण कार्य ठप्प

अमृत सुवेदी
पोखरा १९ बैशाख/ पोखराको विरौटामा बाटो निर्माणका लागि ११ गते शुक्रबार निर्माण व्यवसायी रामचन्द्र बरालले एक ठेकेदारलाई पेश्की स्वरुप केही रकम दिए । त्यसको भोलिपल्ट नेपालमा विनासकारी महाभूकम्प आयो । त्यसले देशभर ठूलो जनधनको क्षति गर्‍यो । अहिलेसम्म पनि देश त्यही पिडाले आक्रान्त छ । भूकम्पले देशभर ठूलो आहात पुर्‍याएपछि ठेकेदार पनि पोखराबाट घर तर्फ लागे । गोरखा, धादिङ, हेटौंडा लगायतका ठाउँका कामदार आफ्नै गाउँघरमा ठूलो क्षति भएपछि घर जानै पर्‍यो । अन्य धेरैजसो कामदार पनि डरले पोखराबाट हिंडे । बाटो बन्ने कुरै भएन । ‘पुरै देश पिडामा रहेका बेला कसैलाई केही भन्ने कुरै भएन । उपभोक्ता समितिले बाटो बनाउने काम सुरु गर्न भनिसके । तर, काम गर्ने कामदार नै छैनन्’ निर्माण व्यवसायी बरालले भने । अहिले भूकम्पका कारण पोखरामा निर्माण कार्यका लागि कामदार कै अभाव भएको छ । कामदारको अभावले धेरैजसो ठाउँमा निर्माण कार्य ठप्प भएको निर्माण व्यवसायी बताउँछन् । भूकम्पले पछिसम्म विकास निर्माण कार्यमा प्रभाव पार्ने उनीहरुको भनाई छ ।


 –भूकम्पले निर्माण कार्यमा दिर्घकालिन असर
–पोखरामा पहिलेको दाँजोमा १० प्रतिशत मात्रै कामदार
–घर गएका कामदार फर्किने संभावना कम
– विकास निर्माण समयमा नसकिने
–कास्कीको ९० प्रतिशत निर्माण कार्य प्रभावित
–छड, सिमिन्टको समेत अभाव


पोखरामा पहिलेको तुलनामा अहिले १० प्रतिशत कामदार मात्रै छन् । पोखरामा आउने गोरखा, धादिङ, लमजुङ चितवन लगायतका ठाउँका कामदार भूकम्पले क्षति पुर्‍याएपछि सबै घर फर्केका छन् । ति कामदार फेरी काममा फर्कने संभावना कम रहेको निर्माण व्यवसायी संघ कास्कीका अध्यक्ष ऋषि गौतमले बताए । ‘भूकम्पका कारण कुनैपनि निर्माणकार्य समयमै सक्ने अवस्था अव रहेन्’ अध्यक्ष गौतमले भने, ‘निर्माण कार्य पनि ९० प्रतिशत ढिला हुने संभावना देखिन्छ ।’ उनको पोखरामा अव कामदारको खडेरी नै पर्नसक्ने अनुमान छ । पोखरामा आउने सिमेन्ट, रडहरुसमेत आउन नसकेको व्यवसायीहरुले बताए । अहिले पोखरामा न कामदार छन् न कच्चा पदार्थ नै आएको छ । ‘कास्कीमै कामदार पाईदैन । यहाँका मान्छेले यँही काम गर्दैनन् । बाहिरबाट आउने संभावना छैन’ अध्यक्ष गौतमले भने ‘यस आसपासका कामदारका आफ्नै घर भत्केका छन् । आफ्नै बनाउनुप¥यो । गाउँका घर पनि पुनः निर्माण गर्नुपर्‍यो । यस्तो अवस्थामा धेरै कामदार प्रदेशिन पनि सक्छन् ।’

1

पोखरामा निर्माणधिन घर तथा भवनहरु समेत कामदार अभावका कारण रोकिएका छन् । बरालले भने,‘अहिले सबैखाले निर्माण कार्य अलपत्र बनेका छन् । घरधनि तथा समितिले छिटो निर्माण गर्नुपर्‍यो भन्छ । तर, कामदार नै नहुँदा चौपट भएको छ ।’ यसले संरचना पुनःनिर्माणमा समेत असर पार्न सक्ने व्यवसायीहरुको बुझाई छ । पोखरामा रहेका भारतीय मूलका कामदारसमेत भूकम्पको त्रासले हिँडेका छन् । जसले गर्दा भैरहेका काममा समेत असर पारेको छ । निर्माण व्यवसायी विनोद केसी भन्छन्,‘पश्चिम तर्फका केही कामदार मात्र छन् । पूर्व तथा पोखरा आसपासका कामदार घर फिरेका छन् ।’
दक्षताअनुसार ज्यालादारीमा काम गर्ने एउटा मिस्त्रीले दैनिक ८ घन्टा काम गर्दा ८ देखि एक हजार रुपैयाँ कमाउँछन् । अदक्ष कामदारले भने ५ देखि ६ सय रुपैयाँसम्म कमाउँछन् । दैनिक १२ घन्टा काम गर्दा ज्याला पनि त्यसैअनुसार बढ्छ । कमाइका हिसाबले यो पारिश्रमिक नराम्रो नभएपनि अरुबेलासमेत निर्माण व्यवसायमा संलग्न ठेकेदारलाई कामदारकै अभाव हुने गरेको थियो । अहिले यो महाभूकम्पले निर्माण क्षेत्रमा पनि भूकम्प नै ल्याइदिएको व्यवसायीहरु बताउँछन् । ‘कामदारलाई टिकाएर राख्नै सकिन्न’ अध्यक्ष गौतम भन्छन् ‘अलिअलि काम सिकेपछि विदेशतिर हिँडिहाल्ने अवस्था थियो । प्रोजेक्टपिच्छे नयाँ कामदार खोज्नुपर्ने र उनीहरूलाई काम सिकाउनुपर्ने अवस्था थियो । अव त त्यही पनि नपाइने जस्तो देखियो ।’

 

Comments are closed.