यी सानै उमेरदेखि मन हर्न लागे
यीनै सुन्दरीले जुलुम गर्न लागे ।
कहाँ सम्मको आँट लौ हेर तिनको
रिसाएर आँखा पनि तर्न लागे ।।
सधैंका शनिबार कुनै न कुनै साहित्यीक तथा सांगीतिक कार्यक्रमले तातिरहने पोखरा यो शनिबार भने गजलको माहौलले तात्यो । गजलका प्रणेता मोतीराम भट्टको माथिको शेर सँगै सुरु भयो ‘बिशेष गजल वाचन तथा गायन’ । गजल सन्ध्या पोखराका सह सचिव मोहन भण्डारीले जब मोतीराम भट्टको यो गजलको शेर सापटी लिए तब पोखरा उद्योग वाणिज्य संघको अमृत कक्ष सुनसान बन्यो । ललितपुरका गजलकार समिर हुमागाईं स्टेज चढेपछि साँच्चिकै सुरु भयो ‘गजल मेहफिल’ ।
पानीको आकार जे पनि हुनसक्छ
जसरी मान्छेको विचार जे पनि हुनसक्छ ।
बर्षौंपछि कोइला पनि हिरा बनिदिन्छ
समयको आविष्कार जे पनि हुनसक्छ ।।
कार्यक्रममा देशभरका विभिन्न १० गजलकार अतिथीका रुपमा थिए । ती मध्ये उमेरले सबैभन्दा ‘फुच्चे’ थिए, कास्कीका गजलकार विशाल थापा । मान्छे फुच्चे भएपनि उनका गजल फुच्चे थिएनन् । उनका ३ वटै गजलले दर्शक दिर्घाका ताली र वाहवाही रोक्न सकेनन् ।
१. सब चीजको सुरुवात र अन्त्य उही हुँदैन
हिटलर पनि थिएन हिटलर सुरु देखि नै ।
उसले बतासलाई सराप्नु अघि यो सोच्नुपर्छ
कमजोर हुन्छ वालुवाको घर सुरु देखि नै ।।
बीच सफरमा आएर तिमी अचानक भेटियौ
अब गर्नु छ मलाई सफर सुरु देखि नै ।
अरुजस्तो बन्न खोज्दा म आफू बनिन
तिमी आफुजस्तो बन सकभर सुरु देखि नै ।।
२. कसैले एउटालाई सम्झेर दियो बाल्दाखेरी
यहाँ हजार पुतलीमा आगो लाग्दैछ ।
तिमिले यो दिललाई जलाउन सक्यौ भने
सम्झ अब खरानीमा आगो लाग्दैछ ।।
त्यसो त अछाम हुँदै काठमाडौंदेखि पोखरासम्म आएका युवा गजलकार तपेन्द्र घोडासैनीका गजलमा पनि उत्तिकै दम नभएका होईनन् । घोडासैनीको यो गजल सुन्दै गर्दा उपस्थित दर्शकले वाहवाही र तालीले हल गुञ्जाईदिए ।
लुकाएछन् बडो गाह्रो अवस्थामा लुकाएछन्
मणीलाई लगी एकदम अँध्यारोमा लुकाएछन् ।
लिए फोटा सबै मेरा अचेल धूवाँ नियाल्छन् रे
हतारैमा लिएका हुन् अँगेनामा लुकाएछन् ।।
साहित्यकार तीर्थ श्रेष्ठलाई धेरैले कविका रुपमा चिन्छन् । कविकै रुपमा चिनिएका श्रेष्ठले गजलबाटै कार्यक्रमको उद्घाटन गरे । कार्यक्रममा युवापुस्ताका गजलकारको प्रभुत्व देखिएपनि श्रेष्ठले ३६ बर्ष अघिको ‘ईतिहास गजल’ वाचन गरेपछि, बाग्लुंगका राम थापा ‘अविरल’ को यो गजल ‘जवान र बूढा’ को संयोग बन्न पुग्यो ।
अचेल घरहरु पनि कारागार जस्ता छन्
र कविताहरु पनि समाचार जस्ता छन् ।
कस्तो विडम्वना नजिक उभिनुपरेको
यी बूढाहरु पनि त कुमार जस्ता छन् ।।
यही गजल सुनेपछि, साहित्यकार श्रेष्ठले आफ्नो जवानी सम्झिए । “मलाई उ बेला अमिताभ बच्चनका फिल्म धेरै मन पथ्र्यो, यति फ्यान थिएँ की दोहोर्याई तेहेर्याई हेर्थेँ । अनि हलबाट निस्किँदा यस्तो लाग्थ्यो, अरु फिल्म हेर्ने दर्शक हुन् र मै अमिताभ हुँ ।” उनले भने– “धेरै पछि आज मलाई यस्तो लाग्दैछ, अब म बाहिर हिँड्दा आफैं जवान हुनेछु ।”
स्याङ्जाका गजलकार जीवनपानी, उमेरले पाका गजलकार । युवापुस्ताका गजलकारको माझमा उनका गजलमा भने त्यति जवानी सुनिएन । तर देशप्रेम र समाजप्रेम भने राम्रैसँग सुनियो ।
केन्द्रबाट उही दूरी गोलाकारमा देखिन्छ
मान्छेको असरी रुप व्यवहारमा देखिन्छ ।
कसको नियती कस्तो छ निधार ठूलो कस्को छ
भोली प्रकाशन हुने समाचारमा देखिन्छ ।।
आकाशको ढलान हुन्छ हिउँदका महिनामा
पानी चुहिन्छ चुहिन्न, त्यो असारमा देखिन्छ ।
बाउ बाजेलाई हेर्नु कस्तो थियो भूतकाल
भविष्य छोरा नातीको अनुहारमा देखिन्छ ।।
कार्यक्रममा गोरखाकी सुमी प्रकृति, चितवनका मुक्त उदास, कास्कीका कृष्ण देवकोटा, कृष्ण अधिकारी ‘त्रुपक’ र पवित्रा भण्डारी ‘पारु’ ले पनि गजल वाचन गरेका थिए । गजल सन्ध्या पोखराले १ सय ५० औं मोती जयन्तीको अवसरमा आयोजना गरेको कार्यक्रममा गजल वाचन गरेर गजलकारले गजलको स्टेज तताए भने पोखरेली गायक विनोद बानियाँ र केशवराज आचार्यले साँगीतिक माहौल बनाईदिए ।
आचार्यले पोखराकै अग्रज गजलकार दीपक समिपको गजल गाएपछि, यसरी तात्यो गजल गायनको मेहफिल ।
म कैदी प्रेमको जेलबाट छुट्ने रहर छ
लगत्तै यो मायाको बैंक लुट्ने रहर छ ।
लाउँदा लाउँदै चुरा फुट्दा अक्सर नारी चुक्चुकाउँछन्
मलाई पनि तिम्रै हातमा फुट्ने रहर छ ।।
आचार्यपछि, पालो आयो गायक विनोद बानियाको । गायनसँगै हाउभाउले पनि दर्शक तान्न माहिर बानियाँले मोतीराम भट्ट, ईश्वरमणी अधिकारी र आर जु बिष्ट सल्यानीका एक एक गजल सुनाए ।
“हुन त म गजललाई खासै बुझ्दिन, तर गजल भने गाउँछु ।” बानियाले भने– “गजल त बूढापाकाहरुले मात्रै लेख्ने र वाचन गर्ने होला भन्ने सोच्थेँ । तर आज आफुभन्दा धेरै जुनियर भाईबहिनीहरुका उत्कृष्ट गजल सुन्न पाएँ । कार्यक्रम यति सभ्य र भव्य होला भन्ने कल्पनै थिएन ।”
कार्यक्रममा अर्का पोखरेली गायक नरजङ्ग गुरुङ्गले पनि गजलकार शिव पलाँसको एउटा गजल गाए । गजलको उत्थान र गजलप्रेमीहरुलाई हौसला बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कार्यक्रमका संयोजक तथा गजल सन्ध्या पोखराका उपाध्यक्ष अमृत सुवेदी गुराँसले बताए । “नेपाली साहित्यप्रति पोखरेली उद्योगी व्यवसायीको यतिधेरै सकारात्मक सहयोग पाउन थालिएको छ ।” उनले भने– “पोखरेली साहित्यलाई उचाई दिन अब असहज नहोला । अब साहित्य पनि बिक्न थालेको छ ।”
गजल सन्ध्या पोखराकी अध्यक्ष बिर्सना बस्नेतको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण कार्यक्रम संयोजक अमृत सुवेदी गुराँसले गरेका थिए । ‘गजलको उत्थान, हाम्रो अभियान’ नारासहित क्रियाशिल गजल सन्ध्या पोखराले हरेक महिनाको दोस्रो शनिबार गजल वाचन तथा तेस्रो शनिबार अक्षरयात्रा गर्दै आएको छ । बिशेष गजल वाचन भने यो चैथाे पटक हो ।
– नवराज ढुङ्गाना
Comments are closed.