अझै आएन पोखरामा मापदण्ड विपरितका घरको तथ्याङ्क
पोखरा १० असार/गएको वैशाख १२ गते गएको भूकम्प र त्यसपछिका परकम्पबाट समेत जोगिएको पोखरामा लगत्तै भवन निर्माण आचारसंहिताको र मापदण्ड विपरित बनेका भवनको विषयले खुव चर्चा पायो । भूकम्पबाट होशियार हुने मौका पाएको पोखरामा भवन मापदण्ड र यस विपरित बनेका घरको विषयमा ठूलो बहश र छलफल पनि भए । तर, फेरि यो विषय सेलाउन थालेको छ । पोखरा उपमहानगरपालिकाले झण्डै एक महिना अगाडी मापदण्ड मिचेर बनेका भवनका सम्वन्धमा सर्वपक्षिय छलफल नै आयोजना ग¥यो । विषय उठान गर्ने, निर्णय पनि गर्ने तर काम भने सिन्को नभाँच्ने पोखरा उपमहानगरपालिका, उपत्यका नगर विकास समिति लगायतको पुरानै समस्या फेरि पनि दोहोरिने देखिएको छ ।
उपमहानगरपालिकाले जेठ १४ गते सवै पक्षलाई बोलाएर गरेको छलफलले पहिलो चरणमा कार्यदल गठन गरि कार्यदलले मापदण्ड विपरित बनेका घरको लगत संकलन गरी कारवाही अगाडी बढाउने निर्णय गरेको थियो । प्राविधिकसहितको ११ सदस्यीय कार्यदल गरी बढीमा १५ दिन भित्र मापदण्ड विपरित बनेका घरको लगत संकलन गरी बुझाउने कुरामा सबै सहमत भएका थिए । तर, एक महिना वितिसक्दा पनि कार्यदलले मापदण्ड विपरित बनेको घरको लगत बुझाउन सकेको छैन ।
तत्कालका लागि यो समस्या समाधान गर्ने काम मात्रै गरेको र समय वित्दै गएपछि यो विषय नै ओझोलमा पर्ने सर्वसाधरणको अनुमान छ । तर, कार्यदलले समय थप गरी २० गतेसम्म बनाएको र त्यसभित्र लगत आउने कार्यदल संयोजक तथा पोखरा उपमहानगरपालिकाका वरिष्ठ ईन्जिनियर पूर्णबहादुर गुरुङले बताए । ‘यसबीचमा केही दिन सार्वजनिक विदा परे भने केही वडामा समस्यापनि देखियो’ गुरुङले भने ‘अव २० गते भित्र लगत बुझाउँदै र फेरि कारवाही के गर्ने वा अवको दिनका कसरी अगाडी बढ्ने भन्ने विषयमा प्रक्रिया अघि बढ्छ ।’ पाेखरामा झण्डै १० हजार बढी मापदण्ड बिपरितका घर तथा भवनहरु बनेका छन् ।
पोखरामा नियम कानुन बन्ने तर कारवाही नहुने भएका कारण यो विषय पनि अव यत्तिकै हराउने पोखरा नयाँ बजारका श्याम थापाको बुझाई छ । ‘नगरपालिकाले यही राम्रो काम गर्ने भए । पहिले कहाँ कस्तो घर बन्दैछ भन्ने यसलाई जानकारी हुन्थ्यो । काम नगर्ने बरु मिलेमतोमा नियम मिच्ने काम भैरहेका छन्’ थापाले भने ‘नगरपालिकाको यो सब नाटक हो बरु यसमा अल्झिएर समय फाल्नुभन्दा अवको दिनमा के गर्ने त्यो सोँच्दा राम्रो हुन्छ ।’
नागरिक समाजका अध्यक्ष रामबहादुर पौडेलले कहाँ नेर कमजोरी भयो भन्ने मूल्याङ्क गरी तत्काल मापदण्ड विपरित बनेका घरको सूचीकरण र बर्गिकरण गर्दै उनीहरुलाई कस्तो कारवाही गर्ने र अवको दिनमा कस्तो प्रकृतिको घर बनाउने, कहाँ बनाउने भन्ने खालको निक्र्योल गर्नुपर्ने बताए ।
पोखराको लेकसाईड क्षेत्रमा दुई तला वा २४ फिटसम्म र ३६ फिट भन्दा माथि उचाईको घर बनाउन नपाईने निमय छ । तर, यो नियम लागु हुन नसक्ने भएकाले भूगर्भ विदहरुको सहभागीतामा भूबनोटको अध्ययन गरी आचारसंहिता परिमार्जन गर्दै बलियो घर बनाउने खालको नियम कसरी बनाउन सकिन्छ त्यता तर्फ सोंच्नुपर्ने धेरैको सुझाव छ ।
नयाँ घर निर्माणमा लागेको प्रतिवन्ध हट्यो
सरकारले विनाशकारी भूकम्पपछि नयाँ घर निर्माणमा लगाएको प्रतिवन्ध हटाएको छ । साथै प्रक्रियामा रहेका नयाँ नक्सा पास स्वीकृति प्रक्रिया अघि पनि बढाउने निर्णय भएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले मन्त्रिस्तरीय निर्णयका आधारमा भवन निर्माणसम्वन्धी ८ बुँदे सर्कुलर जारी गरेको छ । जसमा गत जेठ ४ गते जारी भएको १६ बुँदे निर्देशनको प्रमुख १, २ र ३ नम्बरको निर्णयहरुलाई सम्बोधन गरिएको छ ।
नयाँ निर्देशन अनुसार नक्सा पास भएका तथा निर्माण सुरु नभएका घरहरुको निर्माणमा लागेको प्रतिवन्ध हटेको छ । साथै निर्माणाधीनको हकमा दुई तलाभन्दा बढी बनाउन नपाइने व्यवस्था पनि खारेज भएको छ ।
यस्तै भवन निर्माणका लागि प्रक्रियामा अगापडि बढेका भवनहरुको नक्सा तथा डिजाइनहरु राष्ट्रिय भवन संहिता तथा स्वीकृति मापदण्ड अनुसार भए कानून अनुसार नक्सा स्वीकृत गर्ने निर्णय भएको छ । तर, भवन निर्माण अनुमतिका लागि असार मसान्तसम्म नयाँ निवेदन दर्ता नगर्ने निर्णय भने कायमै राखिएको अधिकृत केशवराज पार्धले बताए ।
भूकम्प कारण क्षति भएका तथा मर्मतयोग्य घरहरु मर्मत तथा रेट्रोफिट गर्न सकिने भएको छ । नियम अनुसार नक्सा पास भएर बनेका घरहरुको मर्मत तथा रेट्रोफिट गर्न योजनासहित गाविस वा नगरपालिकाको कार्यलयमा निवेदन दिनु पर्नेछ ।
Comments are closed.