पोखरा, १८ असार/ संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पाेखरा अाएरनयाँ क्रान्ति सुरु हुने चेतावनी दिएका छन् । मेची—काली सन्देश सभा अन्र्तगत शुक्रबार पोखरामा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले नयाँ नेपालका लागि नयाँ शक्ति आवश्यकताका कारण आन्दोलनहरुको एकीकरण गरिएको बताउँदै नवगठित पार्टी सत्ताको लागि नभई संघर्षको लागि भएको दावी गरे ।
उनले नेपालको संविधान २०७२, प्रारम्भिक मस्यौदा पञ्चालकालिन संविधान भन्दा प्रतिगामी भएको बताए । यादवले जनताका विभिन्न बलिदानीपूर्ण आन्दोलनको भावना विपरीत संघीयता, पहिचान, समावेशीता, मधेशी, आदिवासी जनजाति, महिला, दलित, अल्पसंख्यकका अधिकार विरुद्ध जबरजस्ती जारी गरिएको मस्यौदा अन्तरिम संविधान विरुद्ध भएको आरोप लगाए । आफुहरुको विरोधकाबीच संविधानसभामा मस्यौदा प्रस्तुत गरिएकाले संविधानसभामै च्यात्ने र जनताले सडक सडकमा जलाउने कार्य गरेको उनको भनाई छ ।
कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जनताको अधिकार सुनिश्चित गराउन वैकल्पिक शक्ति आवश्यक महसुस गरी एउटै आन्दोलनमा फरक पार्टीबाट आन्दोलित भईरहेको तीन पार्टीको एकीकरण गरिएको बताए । पार्टी उपाध्यक्ष रेणु यादवले सबैखाले षडयन्त्र तोड्दै जनताको पार्टी गठन गरिएको बताईन् । मस्यौदा समितिका संयोजक कृष्णप्रसाद सिटौलाले नक्कली सिटामोल प्रस्तुत गरेको भन्दै कडा आपत्तिका साथ आदिवासी जनजाति, मधेशी लगायतको सोझोपनलाई निकम्मा नठान्न उनले चेतावनी दिईन् ।
गत जेठ ३२ गते संघीय समाजवादी पार्टी, मधेशी जनाधिकार फोरम नेपाल र खस समावेशी राष्ट्रिय पार्टी एक भई संघीय समाजवादी फोरम नेपाल गठन भएको थियो । नयाँ पार्टी गठनपश्चात् देशव्यापी रुपमा पार्टीले मेची—काली सन्देश सभा आयोजना गर्दै आएको छ । यसैबीच, दीपक तामाङको अध्यक्षतामा ४७ सदस्यीय संघीय समाजवादी फोरम कास्की घोषणा गरिएको छ । उपाध्यक्षमा प्रकाश बोहोरा, सचिवमा गिरीप्रसाद गुरुङ, सहसचिवमा रामबहादुर चर्मकार र कोषाध्यक्ष क्याप्टेन नरेश थापा रहेका छन् ।
Comments are closed.