पोखरा , जेठ २२ गते ।
स्थानीय सरकारको न्यायपालिकाको रुपमा रहेको न्यायिक समितिको गठन प्रकिया, अधिकार क्षेत्र, न्याय निरुपणका बारेमा जानकारी गराउने उदेश्यले विद्यार्थीसंग न्यायिक समिति कार्यक्रम सञ्चालन गरिएको छ ।
देश संघीय शासन व्यवस्थामा प्रवेश गरेसंगै नागरिकलाई छिटोछरितो न्याय प्रदान गर्ने उदेश्यले नेपालको संविधानमा न्यायिक समितिको व्यवस्था गरिएको छ । यसको महत्व, आवश्यकता र औचिय तथा यसले निरुपण गर्ने विवादका विषयमा क्याम्पस र विद्यालयस्तरबाटै जानकारी तथा प्रचार गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको पोखरा महानगरका कार्यबाहक प्रमुख एंव न्यायिक समिति संयोजक मञ्जुदेवी गुरुङले बताउनुभयो ।वडा स्तरिय महिला सञ्जाल पोखरा महानगरपालिका वडा नम्वर ९ को आयोजना र महानगर न्यायिक समितिको सहकार्यमा पोखरा बहुमुखी क्याम्पस शान्ति वनमा विद्यार्थीसंग न्यायिक समिति कार्यक्रमको आयोजना गरिएको हो । पोखरा महानगर न्यायिक समितिले विद्यार्थी, ज्येष्ठ नागरिकसंग न्यायिक समित कार्यक्रम सञ्चालनका लागि बजेट विनियोजन गरेको थियो ।पोखरा महानगरपालिकाका कार्यबाहक प्रमुख मञ्जुदेवी गुरुङले विद्यार्थीलाई न्यायिक समितिको औचित्यबारे जानकारी दिन कार्यक्रम गरिएको बताउदै विद्यार्थीका माध्यमबाट घरघरमा यसको संवैधानिक व्यवस्था, गठन प्रक्रिया र क्षेत्राधिकारबारे जानकारी गराउने कार्यक्रमको उदेश्य भएको बताउनुभयो ।
कानून सबैले जान्नुपर्ने विषय भएकाले विद्यार्थीहरूका माध्यमबाट यसको प्रचार महत्वपूर्ण हुने उहाँको भनाई छ । “ यो विषय महत्वपूर्ण छ ।तपाईंहरूलाई प्रशिक्षण दिन कार्यक्रम गरिएको हो । जानिसकेपछि घरमा गएर आममाबुबा दिदीबहिनी छिमेकीलाई भन्नुहुनेछ भन्ने आशा लिएका छौँ,” उहाँले भन्नुभयो, “यसले के काम गर्छ। यसको काम कर्तव्यबारे अफना अभिभावक र छिमेकीलाई जानकारी गराउदै समस्या भए न्यायिक समितिमा जान सुझाव दिनुहुने छ ।”वडा स्तरिय महिला सञ्जालको आयोजनामा पहिलो क्याम्पसका विद्यार्थीसँग अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम आयोजना गरिएको न्यायिक समिति सदस्य एव पोखरा ९ का सदस्य भावना श्रेष्ठले जानकारी दिनुभयो । वडा स्तरिय महिला सञ्जालका अध्यक्ष कमला केसीको अध्यक्षमा भएको कार्यक्रममा पोखरा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख शिशुकला पराजुली, सञ्जालका उपाध्यक्ष सरिता बास्तोला लगायतले बोल्नुभएको थियो । “न्यायिक सम्पादन सर्वसाधारणका लागि खर्चिलो र झन्झटिलो भएकाले सरल र सर्वसुलभ रुपमा न्याय प्रदान गर्न न्यायिक समितिको व्यवस्था गरिएको बताउदै यसको प्रभाकारीता बढाउन कार्यक्रम आवश्यक रहेको न्यायिक समिति सदस्य कालिदास पोखरेलले बताउनुभयो ।कार्यक्रममा पोखरा महानगर न्यायिक समिति सदस्यद्वय कालिदास पोखरेल, भावना श्रेष्ठले यसको गठन प्रकिया र अहिले भैरहेका अभ्यास बारे विद्यार्थीलाई सहजिकरण गर्नुभएको थियो भने महानगर न्यायिक समितिका अभिलेख संरक्षक राममणी अधिकारी र मेलमिलाप सहजकर्ता सोम लम्सालले न्यायिक समितिको अधिकार क्षेत्र बारे प्रशिक्षण दिनुभएको थियो ।
Comments are closed.