पुतलीबजार १४ र वालिङद्धारा ११ किलोमिटर सडक कालोपत्रे


स्याङ्जा, १० बैशाख,

स्याङ्जाको सदरमुकामस्थित पुतलीबजार नगरपालिकाले पछिल्लो ५ वर्षको अवभिमा १४ किलोमिटर र जिल्लाकै मध्यभागमा व्यापारिक केन्द्रका रुपमा विकसित वालिङ नगरपालिकाले ११ किलोमिटर सडक कालोपत्रे गर्न सफल भएको दाबी गरेका छन् ।

प्राप्त विवरण अनुसार पुतलीबजार नगरपालिकाले २०७४ को स्थानीय निर्वाचनपछि १३ किलोमिटर ७० मिटर सडक कालोपत्रे गरेको छ भने, वालिङ नगरपालिकाले उपलब्ध गराएको विवरण अनुसार नगरपालिकाका विभिन्न वडाहरुमा गरेर १० किलोमिटर ७८ मिटर सडक कालोपत्रे भएको जनाएका छन् ।

पुतलीबजार नगरपालिकाले उपलब्ध गराएको विवरणमा बसपार्क मालेबगर ०.३, घुम्ती घुम्ती काउँले ६, सामग्रीचोक हमालडाँडा ०.४, बाडखोला नयाँबजार पौवेगौडे ०.३५, उमेशचन्द्र मार्ग ३, सुम्रेखोला पुलको मूख ०.५ गरी १३.७० किलोमिटर सडक कालोपत्रे गरेको उल्लेख गरिएको छ ।

उता कारागार मालेबगर ०.२५, स्याङ्जा बजार हुनीकोट ०.४, चिरुवा भैसीगौडा ०.१, सामग्रीचोक इन्द्रेश नुवाकोट ०.१, सिहांले स्वाँरा घिउखोला ०.१, ढडुवा पुन्यशिला ०.१३, सिद्धार्थ राजमार्ग गहाल्नेडाँडा ०.३, बहाकोट वडा कार्यालय जाने ०.१५, मैदान रातमाटा स्यानीचौरी १.१, विभिन्न वडामा ढलान सडक ३.७६ गरी यस अवधिमा ८.२४ किलोमिटर सडक ढलान गरिएको छ ।

५ वर्षको अवधिमा झण्डै १४ किलोमिटर कालोपत्रे सडक र कंक्रिट गरिएको करिब ९ किलोमिटर सडकलाई नगरपालिकाले ठूलो उपलब्धी मानेको छ । यसअघि नै कच्ची सडकका रुपमा विकास भएका सडकहरुलाई स्तरउन्नती गरेर कालोपत्रे गरेको सडकलाई उपलब्धीका रुपमा लिनु लज्जास्पध काम भएको स्थानीयले बताए ।

यस अवधिमा ढडुवा नयाँबजार सडक २.६५ ग्राभेल र ८.५२ किलोमिटर कच्ची सडक बनाएको पुतलीबजार नगरपालिकाले उपलब्ध गराएको विवरणमा उल्लेख छ । उपलब्ध विवतरणलाई नगरपालिकाले उपलब्धीका रुपमा समेत व्याख्या गरेको छ ।

जिल्लाकै वालिङ् नगरपालिकाले समेत २०७४ को स्थानीय निर्वाचनपछि १०.७८ किलोमिटर सडक कालोपत्रे गरेको जनाएको छ । नगरपालिकाले उपलब्ध गराएको विवरण अनुसार नगरका विभिन्न वडाहरुमा गरी १०.७८ किलोमिटर कालोपत्रे सडक निर्माण गरिएको छ ।

वालिङले यस अवधिका १९.३४ किलोमिटर सडक ग्राभेल गरेको जनाएको छ । वालिङ नगरपालिकाका अनुसार ढलान १०.७८, ग्राभेल १९.३४, नयाँ कच्ची सडक १० किलोमिटर, मर्मत सम्भार १५.५०, चौडा बनाउने ११.९१, गोरेटो र घोडेटो १४.५३ किलोमिटर बाटोहरु निर्माण गरिएको छ ।

दुबै नगरपालिकाले स्थानीय तह पूर्वाधार तर्फ उपलब्धीका रुपमा जनाएको कालोपत्रे सडक योजनामा विनियोजित र खर्च बजेट तीन तह सरकारको हो । संघीय र प्रदेश सरकारबाट प्राप्त बजेटलाई वर्गिकरण नै नगरी उनीहरुले आफ्नो उपलब्धीका रुपमा कालोपत्रे सडकलाई विवरणमा समाबेश गरेका छन् ।

Comments are closed.