हटलाइन संवाददाता
पोखरा, १४ असार
भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिले नेपालको पुनर्निर्माणमा एकजुट हुन सबैसँग आग्रह गरेका छन् । विश्वकर्मा समाजको केन्द्रीय कार्यालय भवनको शिलान्यास गर्न पोखरा आएका निधिले भूकम्पका कारण तहसनहस भएका संरचनाको पुनर्निर्माणमा जुट्न आग्रह गरेका हुन् ।
भूकम्पका कारण देशभर करिब ३९ खर्बको भौतिक संरचनामा क्षति पुगेको भन्दै उनले यसको पुनःनिर्माण गर्न सरकार एक्लैले नसक्ने भएकाले सबैको साथ र सहयोग आवश्यक रहेको बताए । मन्त्री निधिले सम्पूर्ण जातजाति, वर्ग र लिङ्गको अधिकार र पहिचान सुनिश्चित गरिएको संघिय लोकतान्त्रीक संविधान यथाशिघ्र जारी हुने बताए । “तोकिएकै समयमा संविधान बन्नेमा शंका छैन ।” उनले भने– “यसमा सबैको हक अधिकार सुरक्षित हुनेछ ।” जातिय छुवाछुत अन्त्यका लागि नेपाली कांग्रेसले पनि पार्टीको संरचनामा निश्चित स्थान दिएको उनले स्पष्ट पारे ।
वर्गिय हित र अधिकार वकालतका लागि सामाजिक र राजनीतिक शसक्तिकरणको आवश्यकता औल्याउँदै उनले समुन्नत राष्ट्र निर्माणमा आवश्यक भूमिका खेल्न आग्रह गरे । राज्यका हरेक संरचनाहरुमा सबैको प्रतिनिधित्व हुनुपर्नेमा उनको जोड छ । समावेशि सहभागीता मुलुकको विकास र समृद्धिको आधार बन्ने बताउँदै निधिले सामाजिक शसक्तिकरणको क्षेत्रमा लाग्न आग्रह गरे । आफुहरु जातिय छुवाछुतको विरुद्धमा रहेका बताउँदै निधिले यसको अन्त्यका लागि सामाजिक चेतना नै महत्वपूर्ण हुने उल्लेख गरे ।
हरेक बर्ष असोज १ गते मनाईँदै आईएको विश्वकर्मा पुजालाई राष्ट्रिय पर्वको रुपमा स्थापित गर्न आफुले पहल गर्ने उनले विश्वास दिलाए । विश्वकर्मा समाज नेपालले गएको बर्षदेखि नै बिश्वकर्मा पुजालाई राष्ट्रिय पर्वको रुपमा मनाउनुपर्ने माग गर्दै आएको थियो ।कार्यक्रममा बोल्दै सभासद्हरु शारदा पौडेल र ध्रुव वाग्लेले पनि छुवाछुतको अन्त्य नभएसम्म दलित समुदाय माथी उठ्न नसक्ने बताए । दलितको हक अधिकार सुनिश्चित गर्नका लागि आ–आफ्नो ठाउँबाट पहल गर्ने उनीहरुले प्रतिबद्धता जनाए ।
कार्यक्रमकै अवसरमा दलित समुदायको उत्थाका लागि काम गर्ने विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा कांग्रेस नेता शुुक्रराज शर्मा, सोभियत बहादुर अधिकारी, नवराज गुरुङ, समाजका अगुवा पदमसिंह विश्वकर्मा, समाजसेवि निरज थापा, ओम शान्तिका ब्रह्माकुमार शैलेस भाई, समाजका सल्लाहकार दुर्गाबहादुर सुनार, सुनचाँदी व्यवसायी संघ कास्कीका अध्यक्ष भन्द्रकिशोर गौतम, विश्वकर्मा समाज महिला समितिकी अध्यक्ष मन्जु विश्वकर्मा, बरिष्ठ उपाध्यक्ष दिल बहादुर विश्वकर्मा लगायतले दलित समुदायको उत्थानका लागि सामाजिक र राजनीतिक चेतना अभिवृद्धि हुनु पर्नेमा जोड दिएका थिए ।
समाजले करिब ५० लाख रुपैयाँको लगानीमा एकतले भवन निर्माण गर्न लागेको हो ।
आधा रोपनी क्षेत्रफलमा भवन निर्माणका लागि पोखरा १५ रामबजार स्थित नयाँगाउँमा करिब ३२ लाख रुपैयाँमा जग्गा खरिद गरिएको थियो ।
Comments are closed.