पोखरा, ५ माघ / गाउँको स्कुलमा कुनै बिदेशीले ल्यापटप दिँदा, गाउँले अभिभावकमा खुसी छाउनु स्वभाबिक नै हो । तर, त्यो खुसी एक महिनै मै छिनियो, जब उपहार पाएको ल्यापटप महिना दिनमै चोरी भयो ।आधुनिक पटपमा आफ्ना छोराछोरीले समय अनुसारको शिक्षा पाउने सपना देखेका उनीहरुको घाउमा मलमपट्टी लगाउने काम गरेको छ, वडा प्रहरी कार्यालय बैदाम पोखराले । पुम्दी भुम्दीको ओखलेडाँडा स्थित भुम्दीकोट माविमा गत पुस २ गते बिदेशी दातृ संस्थाले दिएको ल्यापटप चोरी गरेर बेच्ने समूहलाई वडा प्रहरी कार्यालय बैदामले पक्रन सफल भएको छ ।
रोटरी क्लब अफ कोलङ्गाटा अष्ट्रेलियाका तर्फबाट डायनाले दिएको १२ थान लेनोभो कम्पनीको ल्यापटप कम्प्युटर चोरी गर्ने सोही पुम्दीभुम्दी कै दुई जना र खरिद गर्ने दुई जनालाई शनिबार वडा प्रहरी कार्यालय बैदामले पक्राउ गरेको हो । बैदामका प्रहरी निरिक्षक सुन्दर तिवारीका अनुसार ल्यापटप चोरी गरी घरमा लुकाएका सहोदर दाजुभाई बर्ष २४ का दिपक नेपाली र बर्ष १७ का शंकर नेपाली पक्राउ परेका हुन् । शंकर स्कुलकै बिद्यार्थी पनि हुन् । उनीहरुले पोखराको जरेबरमा रहेको गोरखाली मोवाईल पसलमा एउटा ल्यापटप दश हजारमा बेचेका थिए भने पृथ्वीचोकको न्यू लामिछाने मोबाईलमा एउटा ल्यापटप तिन हजार पर्ने मोवाईलसँग साटेका थिए ।
अन्य दश वटा ल्यापटप अभियुक्तहरु कै घरबाट बरामद गर्न बैदाम प्रहरी सफल भएको छ । अभियुक्तहरुले घटनास्थलमा छाडेको हथौडाका आधारमा प्रहरीले अभियुक्तहरु पक्राउ गर्न सफल भएको हो । ‘गाउँमा कसको घरमा हथौडा छ ? भनेर गोप्य रुपमा बुझियो, हथौडा हुने संभावित घरमा खोज्दै हिडियो’ अनुसन्धान प्रकृया सुनाउँदै प्रहरी निरिक्षक तिवारीले भने ‘पहिला हथौडा छ भनेर पनि हामी खोज्न जाने बेलामा हथौडा देखाउन नसक्ने नेपाली दाजुभाइको घरमा खानतलासी गर्दा रड काट्न प्रयोग गरिएको हेक्सा ब्लेड देखियो । त्यसपछि शंका लागेर पक्राउ गर्दा उनीहरुनै अभियुक्त भएको खुल्यो ।’
Comments are closed.