पुम्दीभुम्दीका जेष्ठ नागरिकहरुसँग मित्र मिलन को नवौँ वार्षिकोत्सव

जेष्ठ नागरिकहरु सम्मानित

 

पोखरा,

पोखरा–९ नयाँबजारमा अवस्थित मित्र मिलन बचत तथा ऋण सहकारी संस्थाले शुक्रबार आफ्नो स्थापनाको ९ औँ वार्षिकोत्सव मनाएको छ । स्थापना दिवसको अवसर पारेर संस्थाले पोखरा–२२ पुम्दीभुम्दीमा रहेको आदर्श जेष्ठ नागरिक समितिका ९ जना जेष्ठ नागरिकहरुलाई नगदसहित दोसल्ला ओढाएर सम्मान गरेको हो ।

पोमनपा–२२ का वडा अध्यक्ष मित्रलाल बरालको प्रमुख आतिथ्यतासँगै राष्ट्रिय सहकारी बैँक पोखरा शाखाका प्रमुख नरेश पाण्डेको विशेष आतिथ्यतामा पोखरा पुम्दीभुम्दी स्थित सक्रिय महिला बचत तथा ऋण सहकारी संस्थाको सभाहलमा सम्पन्न कार्यक्रमको अध्यक्षता मित्रमिलन साकोसका अध्यक्ष रमण पौडेलले गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बरालले ‘‘मित्रमिलनले जेष्ठ नागरिकहरुको सम्मानमा गरेको यस कार्य ज्यादै प्रशंसनीय रहेको उल्लेख गरे । वडाका तर्फबाट पनि जेष्ठ नागरिकहरुका लागि सहयोग भइरहेको र पोखरेली परिवेशमा छुट्टै पहिचान बनाउन सफल मित्र मिलनले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनेमा आफू विश्वस्त रहेको उनले जनाए ।”  कार्यक्रममा बोल्दै विशेष अतिथि राष्ट्रिय सहकारी बैँक पोखरा शाखाका प्रमुख नरेश पाण्डेले सहकारीले आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह मात्र गरेको छैन सहकारीहरुका भिडमा विशेष पहिचान बनाएर अघि बढेकामा आभार व्यक्त गरे । आजका युवापुस्ता थोरै भड्किएको तर्फ सङ्केत गर्दै त्यसबाट नआत्तिई तिनलाई सही दिशा निर्देश गर्न जेष्ठ नागरिकहरुको महत्वपूर्ण भूमिका रहनेमा उनले स्पष्ट पारे ।    लेखा समिति सदस्य प्रतीक लामिछानेले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा आदर्श जेष्ठ नागरिक समितिका अध्यक्ष तथा पूर्व वडाध्यक्ष खडानन्द बराल, शुक्रराज माविका प्र.अ.नरनाथ बराल, आदर्श जेष्ठ नागरिक समितिका व्यवस्थापक भुवानीप्रसाद बरालसँगै सम्मानित जेष्ठ नागरिक मध्येबाट तारापति बरालले शुभकामना मन्तव्य राखेका थिए ।  १०० जना बढी जेष्ठ नागरिकसँगै स्थानीय बाक्लो उपस्थिति रहेको कार्यक्रममा बोल्दै कार्यक्रमका सभाध्यक्ष रमण पौडेलले सहकारी गतिविधि बारे स्पष्ट पार्दै सहकारीले युवा,महिला लक्षित कार्य गर्दै आएको र आगामी दिनमा जेष्ठ नागरिक लक्षित कार्यक्रम गर्ने योजना रहेको सुनाए । कोखदेखि शोकसम्म र ओठदेखि गोठसम्म सहकारी कार्यक्रम लिएर अघि बढेको स्मरण गराउँदै जेष्ठ नागरिक जिउँदा भगवान् भएकाले सम्मान गर्न पाउँदा ज्यादै खुसी लागेको बताए ।

गत वर्ष मानव सेवा आश्रम पोखरा छोरेपाटनमा आश्रितहरुका लागि सहयोग लिएर पुगेको सहकारीले ९ औँ वार्षिक उत्सव भएकाले समितिले उपलब्ध गराएको तथ्याङ्क अनुसार सबै भन्दा जेष्ठ नौ जना जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको मित्रमिलन साकोसका प्रमुख कार्यकारी अधिकृत किरण अधिकारीले बताए । सम्मानित हुने जेष्ठ नागरिकहरुमा लक्ष्मी बराल, लेखनाथ बराल,देवीलाल बराल,टुल्की बराल, पोतनाथ बराल, धनरुपा बराल, बसन्धरी बराल,तारापति बराल र नरहरि बराल रहेका छन् ।  कार्यक्रममा सहकारीले संस्थाका लागि २५ थान कुर्सी र एक थान फाइल दराज समेत हस्तान्तरण गरेको थियो । सहकारी संस्थाका सेयर सदस्य, सल्लाहकार दण्डपाणि बरालको संयोजकत्वमा भएको कार्यक्रमको सञ्चालन तथा सहकारीका सात सिद्धान्त वाचन संस्थाका का.सदस्य गोपाल खनालले गरेका थिए ।

Comments are closed.