पूर्वप्रधानमन्त्री एवं पाका नेता सूर्यबहादुर थापाको निधन

काठमाडौँ ३ वैशाख । पूर्वप्रधानमन्त्री एवं पाका नेता सूर्यबहादुर थापाको निधनले नेपाली राजनीतिको एउटा युगको अन्त्य भएको छ ।धनकुटा जिल्लाको मुगा गाबिसमा जन्मेका थापाको बुधबार राति भारतको मेदान्त अस्पतालमा निधन भएको हो । स्वासप्रश्वास सम्बन्धी रोगले उहाँको ज्यान लिइ छाड्यो । थापाले गत चैत ५ गते काठमाडौंको मालीगाउँस्थित आफ्नै निवासमा ८८ औँ जन्मदिन मनाउनुभएको थियो ।

11148787_980989615246198_6080997658418717257_n

जीवनको अन्तिम समयसम्म पनि राजनीतिमा सक्रिय रहेका थापा खरो स्वभावका पाका नेताका रुपमा चिनिनुहुन्थ्यो । उहाँ धेरैपटक प्रधानमन्त्री हुनेहरू मध्येमा पर्नुहुन्छ । पटकपटक गरी ५ पटक प्रधानमन्त्री बन्नुभएका थापा राजा महेन्द्र, राजा बीरेन्द्र र राजा ज्ञानेन्द्र गरी तीन राजाको शासनकाल भोग्ने नेपालका एक्ला प्रधानमन्त्री हुनुहुन्छ ।

२०१५ सालमा राजा महेन्द्रबाट संसदको निर्वाचन घोषणा भएपछि गठित सल्लाहकार सभामा थापा अध्यक्ष बन्नुभएको थियो । २०१७ साल पुस १ गते राजा महेन्द्रले संसदीय व्यवस्था अन्त्य गरेर निर्दलीय पञ्चायत व्यवस्था स्थापना गरेपछि उहाँ मन्त्री, मन्त्रीपरिषद्को उपाध्यक्ष हुँदै अध्यक्ष सम्म बन्नुभएको थियो । पञ्चायतको पहिलो प्रधानमन्त्री उहाँ नै बन्नुभएको थियो । राजनीतिक व्यवस्था जस्तोसुकै भए पनि सूर्यबहादुर थापाले उदारवादी राजनीतिक अवधारणालाई सधैँ आफ्नो प्राथमिकतामा राख्नुभयो ।

२०३६ सालको जनमत संग्रहअघि नै थापाले नेपालमा चलिरहेको राजदरबार र सिंहदरबारको द्वैध शासन अन्त्य हुनुपर्ने माग गर्नुभएको थियो । २०३६ सालको जनमत संग्रहलाई निर्दलीय पञ्चायतको पक्षमा ल्याउन साम, दाम, दण्ड, भेदको नीति अख्तियार गरेर चर्चाको शिखरमा रहेका थापाले तत्कालीन राजा वीरेन्द्रसँग समन्वय स्थापित गर्न सक्नुभएन् । राष्ट्रिय पञ्चायतमा उहाँका विरुद्ध ल्याइएको अविश्वासको प्रस्तावमा नाटकीयरूपले उहाँ पराजित हुनुभएको थियो । प्रजातन्त्र पुनर्स्थापनापछि नेपाली काँग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका थापा ज्ञानेन्द्रको शासनकालमा पनि प्रधानमन्त्री हुनुभएको थियो । छरछिमेकका राजनीतिमा सुझबुझपूर्ण समझदारी राख्ने थापा नेपालका केही परिपक्व राजनीतिज्ञमध्ये एक मानिनुहुन्थ्यो ।राष्ट्रिय जनशक्ति पार्टीलाई छाडेर केही समयअघि मात्र उहाँ आफैले जन्माएको राष्ट्रिय प्रजातन्त्र पार्टीमा फर्कनुभएको थियो । थापा राप्रपाको वरिष्ठ नेता हुनुहुन्थ्यो ।

Comments are closed.