नयाँदिल्ली — पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको न्युरो-इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको चिकित्सकीय परीक्षणमा देखिएको छ ।
चिकित्सक टोलीले बायोप्सी, डीओटीए एनओसी परीक्षण, इन्डोस्कोपिक अल्ट्रासाउन्ड, पीईटी सीटी स्क्यानसहित अन्य परीक्षणपछि ट्युमरमा क्यान्सर नभएको पुष्टि गरेको हो ।
देखिएको ट्युमरलाई भने ढिला नगरी दुई/तीन महिनाभित्रै शल्यक्रियाद्वारा फाल्नुपर्ने चिकित्सकको सुझाव छ । ‘बेलैमा शल्यक्रिया नभए क्यान्सरको खतरा पनि हुन सक्ने कुरामा चिकित्सकले सोमबारको परामर्शमा सचेत गराउनुभएको छ,’ भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले भने ।
फेब्रुअरी २२ बाट भारतको दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा भट्टराईको स्वास्थ्य परीक्षण भइरहेको थियो । उनले प्रा.डा. विक्रम भाटियासँग परामर्श लिएका थिए ।
भट्टराई लामो समयदेखि पेटको समस्याबाट पीडित थिए । उनले नेपालमा ललितपुरस्थित निदान अस्पतालमा उपचार गराउँदै आएका थिए । उपचारका क्रममा भट्टराईको पेटमा आमाशय र सानो आन्द्राको बीच भागमा पलाएको थियो । नेपालमा त्यो ट्युमर घातक (क्यान्सर) भएको वा नभएको नखुलेपछि निदानका चिकित्सक डा. निरज जोशीले नै भट्टराईलाई उपचारका लागि चाँडोभन्दा चाँडो दिल्ली जान सुझाएका हुन् ।
भट्टराईसँगै प्रेस सल्लाहकार विश्वदीप पाण्डे र श्रीमती हिसिला यमी पनि दिल्ली आएका छन् । भट्टराई मंगलबार स्वदेश फर्कने कार्यक्रम छ । from kantipur
Comments are closed.