पृथ्वीनारायण विश्वविद्यालय ः वीरबलको खिचडी पाक्ला त ?

1911087_10202749243965675_724728249_oविभु भुसाल

मिति ः २०१७ साल भदौ १७ गते
स्थान ः पोखराको वगर स्थित सिरु उम्रेको भीमकाली पाटन
परिवेश ः स्याउलाले छाएको र बाँसको झ्याङ्ग हानेका एका दुई झुपडी
पात्र ः दुई जना शिक्षक र १३ जना विद्यार्थी

तत्कालीन पृथ्वीनारायण कलेजको पटाक्षेप यसरी भएको थियो । जुन पृथ्वीनारायण कलेज पृथ्वीनारायण क्याम्पस भए । चार बर्ष पहिले स्वर्णजयन्ती पनि मनायो । पृथ्वीनारायण क्याम्पसलाई विश्वविद्यालय बनाउने बहस पोखराका चोकहरुकमा चलिरहेको छ । के पृथ्वीनारायण क्याम्पस विश्वविद्यालय बन्न सक्छ ? पिएन क्याम्पस विश्वविद्यालय बन्न आवश्यक पुर्वाधार छ ? नजिकै लेखनाथमा रहेको पोखरा विश्वविद्यालयलाई कसरी सम्बोधन गर्ने ? लगायतका प्रश्नहरुले पोखरेली शिक्षाप्रेमीहरुको मथिँगल मडारिएको लामो समय भैसक्यो ।

चर्चा उठ्दै सेलाउँदै

२०१८ सालमा त्रिभुवन विश्वविश्द्यालयका तत्कालीन प्रमुख सुर्यबहादुर थापा र रजिष्ट्रार जगतबहादुर बुढाथोकीले स्थलगत अवलोकन गरेर पोखरामा क्याम्पस हुन सक्दैन भनेर गए । तै तै मानविकीसम्म पढाउने र विज्ञानका विषयका विद्यार्थीलाई त्रिचन्द्रमा पठाउने आदेश दिएर उनीहरु गए । त्यसबेला पृथ्वीनारायण कलेजमा मावनविकी र विज्ञान पढाई हुन्थ्यो । कलेज सञ्चालन हुँदै गर्दा स्थापना भएको आठ वर्षपछि २०२५ सालमा विश्वविद्यालय बनाउने कुरा उठाईएको हो । कुरा उठाउँदै गर्दा मानविकी संकायको डीन कार्यालय पोखरामा बस्यो । पोखरामा मानविकीको डीन कार्यालय बस्दा विराटनगरमा कमर्स र धरानमा विज्ञानको डीन कार्यालय पनि बस्यो । डीन कार्यालय बसेपछि क्याम्पस अब विश्वविद्यालय हुने भयो भनेर पोखरेलीहरु ढुक्क भए । ‘दुई चार वर्षपछि डीन कार्यालय फर्कियो त्यसपछि विश्वविद्यालयको धोको धोको मै सिमीत भयो ।’ क्याम्पसका सँस्थापक प्रमुख जोर्ज जोन सम्झन्छन् ।
Admin Building Of PNCतर पनि क्याम्पस भने चलि नै रह्यो । २०३९ सालमा ‘शाही शिक्षा आयोग’ गठन भयो । उक्त आयोगले पनि पृथ्वीनारायण क्याम्पसको अध्ययन ग¥यो । अध्ययन अनुसार आयोगले पृथ्वीनारायण क्याम्पसलाई विश्वविद्यालय बनाउन हुन्छ भन्ने सुझाव दियो । फेरी पनि त्यहाँ राजनीतिक सहमतिको कुरा उठेर लोप्पा खुवाईयो । त्यसपछि पनि पटकपटक पृथ्वीनारायण क्याम्पसलाई विश्वविद्यालय बनाउने कुरा उठे, त्यत्तिकै सेलाए ।
‘२०४६ सालमा बन क्याम्पस, नर्सिङ् क्याम्पस, ईञ्जिनियरिङ क्याम्पस र पृथ्वीनारायण क्याम्पस मिलेर दरबारमा बिन्तीपत्र हाल्यौं तर त्यो पत्र पञ्चालयतले रद्दिको टोकरीमा फालिदियो’ पुर्व क्याम्पस प्रमुख गणेशबहादुर गुरुङ्ले भने ।
तर, पनि पोखरेलीहरु हार खाएनन् । पञ्चायत रहुञ्जेल क्याम्पस प्रशासनले गरेका प्रयास पञ्चायत ढलेपछि स्ववियुले गर्न थाल्यो । तत्कालीन स्ववियु सभापति तथा युवा संघका महासचिव राजिव पहारीले पृथ्वीनारायण क्याम्पसलाई विश्वविद्यालय बनाउने कुरा फेरी चर्चामा ल्याए । त्यो कुरा ‘चिया र समोसा गफ’ मा मात्रै सिमित भयो । यसरी पटकपटक पृथ्वीनारायण विश्वविद्यालयको कुरा उठ्ने र सेलाउने गर्दागर्दै फ्याट्ट २०५३ सालमा पोखरा विश्वविद्यालय स्थापना भयो ।

गाँठी कुरा राजनीतिक सहमति

स्थापनाको केही समयपछि विश्वविद्यालयको चर्चा हुने र सेलाउने गरेपनि राजनीतिक सहमति नभएकै कारणले क्याम्पसमा मात्रै सिमित रहेको पूर्व क्याम्पस प्रमुखहरुको अनुभव छ । ‘विश्वविद्यालय स्थापना भनेको ठुलो काम हो राजनीकि सहमति विना केही हुन सक्दैन ।’ संस्थापक प्रमुख जोन भन्छन्, ‘राजनीतिक सहमति भयो भने तत्कालै हुन्छ ।’ यस्तै अनुभव पूर्व प्रमुख गणेबहादुर गुरुङ्को पनि छ । ‘राजनीतिक सहमति नभएकै कारण पटक पटकका प्रयास असफल भएका हुन्’ उनले सुनाए । तर, स्वतन्त्र विद्यार्थी युनियनका पूर्व सभापति सोमनाथ अधिकारी प्यासी भन्छन्, ‘राजनीतिक सहमति भनेर भनिरहनु भन्दा पनि यस क्षेत्रका १६ जिल्लाका स्थानीय पार्टीमा दबाब दिने हो भने सम्भव छ ।’ पूर्व क्याम्पस प्रमुख डा. दिलबहादुर क्षेत्रीले पनि राजनीतिक सहमति कायम गर्न सकेमा पृथ्वीनारायण क्याम्पसलाई विश्वविद्यालय बनाउन कुनै कठीनाई हुन नसक्ने बताए । तर, राजनीतिक सहमतिको विषय अहिले विश्वविद्यालयका सरोकारवालाहरुलाई ‘विरालोको घाँटीमा कसले घण्टी बाँध्ने’ जस्तै जटिल विषय जस्तो बनेको छ, जुन यति धेरै कष्ट उठाउनुपर्ने विषय होईन ।

भौतिक पूर्वाधार र जनशक्ति

पृथ्वीनारायण क्याम्पसलाई विश्वविद्यालय बनाउन भौतिक पूर्वाधार र जनशक्ति पर्याप्त रहेको क्याम्पस प्रशासन र शिक्षकहरु बताउँदछन् । यसका साथै क्याम्पसको जग्गा पनि प्रसस्त छ । केही जग्गा अधिग्रहण गर्ने वा दानमा लिने भन्ने स्पष्ट भएमा क्याम्पसमा भौतिक पूर्वाधार, जनशक्ति र जमिनको कुनै खाँचो नरहेको क्याम्पसका प्राध्यापकहरु बताउँछन् । यसका साथै आँट गरेमा आर्थिक स्रोत पनि जुट्ने विश्वास क्याम्पस सम्बद्ध अधिकारीहरु बताउँछन् । ‘पहिले विश्वविद्यालय बन्ने कुरा निश्चित हुनप¥योे, आर्थिक स्रोत जसरी पनि जुट्छ’ क्याम्पसका पूर्व विद्यार्थी समेत रहेका कास्कीका तत्कालिन स्थानीय विकास अधिकारी नरहरि बराल भन्छन्, ‘सामान्य सत्तल र मन्दिर बनाउन लाखौं दान दिने पोखरेलीले विश्वविद्यालय बनाउन कसो नदेलान र ?’ । क्याम्पसकै पूर्व विद्यार्थी रहेर तत्कालिन पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत तिलक पौडेलले पनि विश्वविद्यालय बन्ने निश्चित भएमा आर्थिक स्रोत जुटाउन कुनै कठीनाई नभएको प्रतिकृया दिए ।
अन्यौलताहरु

विश्वविद्यालय स्थापना गर्नको लागि जनशक्ति पूर्वाधार, विद्यार्थी संख्या पुरा भएपनि स्थापना गर्न र गरिसकेपछि पनि केही अन्यौलताहरु भने कायमै रहन्छन् । विश्वविद्यालय स्थापनामा राजनीतिक सहमति भएपछि हालको क्याम्पस परिसरलाई उपकुलपति, डीन, रेक्टर, परीक्षा नियन्त्रकको कार्यालय राख्ने की केन्द्रीय क्याम्पस राख्ने भन्ने निष्कर्ष निकाल्न जरुरी हुन्छ । यदी त्यहाँ केन्द्रीय क्याम्पस भए अरु कार्यालय कहाँ स्थापना गर्ने ? एउटै क्याम्पस परिसर भित्र केन्द्रीय क्याम्पस र विश्वविद्यालय कार्यालय भएमा शैक्षिक क्षेत्रमा हुने अराजकतालाई रोक्न कस्तो पहल गर्ने ? पिएन क्याम्पसका एक प्राध्यापक भन्छन्, ‘सामान्य माग लिएर उपकुलपतिको कार्यालय घेर्न जाने प्रबृत्ति भएको अवस्थामा एउटै परिसरमा विश्वविद्यालय कार्यालय र केन्द्रीय क्याम्पस कति उचित हुन्छ ?’
त्यस्तै प्रमाणपत्र तह हटाईएको अवस्थामा केन्द्रीय क्याम्पसमा स्नातक तह अध्यापन गराउने की नगराउने ? यो प्रश्न पनि अन्यौलताको रुपमा देखा परेको छ । गरिब विद्यार्थीको विश्वविद्यालय बनाउने भनिएको अवस्थामा निजी क्याम्पसका महँगो शुल्क तिरेर स्नातक पढ्नु परेमा के होला ? पाठ्यक्रम र शैक्षिक कार्यक्रम कस्तो राख्ने अरु विश्वविद्यालयमा जस्तै राख्ने की नयाँ र व्यवहारिक राख्ने ? यसलाई राष्ट्रिय स्तरको बनाउने की क्षेत्रीय स्तरको ? उत्पादित विद्यार्थी त्रिभुवन विश्वविद्यालयका उत्पादन जस्तै वेरोजगार भएका विश्वविद्यायको विश्वसनीयता कहाँ पुग्ला ? यस्तै धेरै अन्यौलताले घेरिएको छ । तर, पनि प्रयास भएमा अन्यौलताहरु मेट्न भने सकिन्छ र विश्वविद्यालय पनि स्थापना गर्न सकिन्छ ।

…भर्सेज पोखरा विश्वविद्यालय

पृथ्वीनारायण क्याम्पसलाई विश्वविद्यालय बनाउनु अघि पोखरा विश्वविद्यालयलाई पनि मनन गर्न जरुरी छ । र, पोखरा विश्वविद्यालयलाई सुकाउने उद्देश्यले पृथ्वीनारायण विश्वविद्यालय बनाउने प्रयास भएमा यसले उल्टै पोखरेलीलाई घाटा पु¥याउने छ ।
हाल पोखरा विश्वविद्यालयले दर्जनौं क्याम्पसलाई सम्बन्धन दिएको छ । आफ्नै परिसरमा भने यसले व्यवस्थापन र मेडिकल साईन्सका कक्षाहरु सञ्चालन गरेको छ । पोखरा विश्वविद्यालयको स्थापना पनि विवादरहित भने छैन । २०४९ सालको राष्ट्रिय शिक्षा आयोगले पोखराका पृथ्वीनारायण विश्वविद्यालय स्थापना गर्ने सुझाब दियो । तर, २०५३ सालको शिक्षा विधेयकले पोखरा विश्वविद्यालय घोषणा ग¥यो । उक्त घोषणाले पोखरेलीमा थप निराशा थप्यो । त्यसैमा तत्कालीन तथा हालका अर्थमन्त्री डा.रामशरण महतले आर्थिक वर्ष २०५७÷५८ को बजेट भाषणमा पृथ्वीनारायण क्याम्पसलाई पोखरा विश्वविद्यालयको सम्बन्धन बनाउने बताएपछि यसले पोखरेलीमा झन् आक्रोश थप्यो ।
पोखरा विश्वविद्यालय स्थापना भएपनि यसले आम नेपाली विद्यार्थीलाई समेट्न सकेको छैन । यस्तो अनुभव विद्यार्थी स्वयमले गरिरहेका छन् । पृथ्वीनारायण क्याम्पस स्ववियु सभापति रश्मी आचार्यले पनि पोविवि गरिब विद्यार्थीको विश्वविद्यालय नभएको बताउँछन् । ‘पोखरा विश्वविद्यालय हामीले सोचे अनुसारको भएन’ उनले भने । पूर्व सभापति राजिव पहारीले पनि पोखरा विश्वविद्यालयले अपनत्व कमाउन सकेन भन्छन् । ‘पोखरा विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको सम्बन्धन जस्तो छ । सबै शिक्षक कर्मचारी यताबाट लगेर चलाएका छन्’ उनले भने ।

सुझाव

पृथ्वीनारायण क्याम्पस समाजशास्त्र तथा राजनीति शास्त्र विभागका प्राध्यापक डा. विश्वकल्याण पराजुलीले विश्वविद्यालय स्थापना गर्न नौं बुँदे सुझाव दिएका छन् । राष्ट्रिय तथा क्षेत्रीय आवश्यकताको पहिचान, उच्च शिक्षाको लक्ष्य निर्धारण, मस्यौदा कार्यदल गठनको आवश्यकता, प्रविधि हस्तान्तरण, अनुसन्धानमुखी तथा व्यवहारिक शिक्षामा जोड दिनुपर्ने, प्राज्ञिक स्वतन्त्रता हुनुपर्ने, जनशक्तिको पलायन रोक्नुपर्ने, स्वतन्त्र विश्वविद्यालय सभा गठन हुनुपर्ने लगायतका सुझाव पराजुलीले दिएका छन् ।
उनले तयार पारेको ८ पृष्ठ लामो कार्यपत्रमा प्रस्तावित पृथ्वीनारायण विश्वविद्यालयलाई कहिल्यै बन्द नहुने र न्यून आयस्रोत भएका विद्यार्थीहरुको विश्वविद्यालय बनाउने तर्फ ध्यान दिन सुझाव दिएका हुन् ।
क्षेत्रीय विश्वविद्यालय स्थापना गर्ने भएमा यस पेरीफेरीका विशिष्ठताको अध्ययन गरेर त्यही अनुरुपका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने र कुनै एउटा विषयको विशिष्ठ विश्वविद्यालय बनाउन सकेमा नेपालको शिक्षा क्षेत्रमा नौलो आयाम हुनेछ ।

निष्कर्ष

बढ्दो जनसंख्यासँगै अहिले त्रिभुवन विश्वविद्यालयको बोझ बढ्दै छ । वार्षिक रुपमा अरु विश्वविद्यालयले भन्दा त्रिभुवन विश्वविद्यालयले बढी विद्यार्थीको भार बहन गर्नुपरिरहेको छ । त्रिभुवन विश्वविद्यालयको बोझ कम गर्न पनि पोखरामा सस्तोमा शिक्षा दिने एउटा विश्वविद्यालय आवश्यक छ । ‘त्रिविवि बुढो घोडा जस्तो भएको छ, जुनसुकै बेला पनि ढल्न सक्छ त्यसैले पृथ्वीनारायण विश्वविद्यालय अत्यावश्यक छ’ क्याम्पसको अर्थशास्त्र विभागका प्राध्यापक डा. यादव शर्मा गौंडेल भन्छन् ।
स्ववियुका पूर्व सभापति पहारी पनि सानातिना समस्या आए भन्दैमा ठुलो कामको अभियानलाई रोक्नु हुन्न भन्छन् । ‘चुनौतीहरुलाई अवसरमा बदलेर बहसभन्दा कार्यान्वयनमा जानुप¥यो’ उनले भने ।
जसले जे भनेपनि २०२५ देखि २०७१ सालसम्म आउँदा पृथ्वीनारायण क्याम्पसलाई विश्वविद्यालय बनाउने कुरा ‘बीरबलले खिचडी पकाएको’ जस्तो हुँदै आएको छ । हेरौं भावी दिनमा यो खिचडी पाक्छ की पाक्दैन !
बक्समा
‘विश्वविद्यालय भएको हेर्ने धोको छ’
Grorge John Founder Chief of Prithivi Narayan Campus (1)जोर्ज जोन÷संस्थापक प्रमुख, पृथ्वीनारायण क्याम्पस

कुनैपनि संस्था जन्माईसकेपछि उक्त संस्था फुलेको–फलेको, संस्थाले प्रगति गरेको देख्ने चाहना सबैलाई हुन्छ । मेरो धोको पृथ्वीनारायण क्याम्पस विश्वविद्यालय भएको हेर्ने छ । क्याम्पसमा छँदा यसलाई विकास गर्न काम गरियो । अबको पुस्ताले यसलाई पहल गर्नुपर्छ ।
यसलाई विश्वविद्यालय बनाउन सकियो भने यस क्षेत्रका दुर्गम भेगका सर्वसाधारणले पनि सहज ढंगले उच्च शिक्षा पाउन सक्ने थिए । आफ्नै घरमा कृषि पेशा गरेर युनिभर्सिटी शिक्षा लिन पाउनु भनेको ठुलो कुरा हो । शिक्षाको विकास भएमा देशको विकास हुन्छ भन्ने कुराको उदाहरण विभिन्न देशहरुमा हेर्न सकिन्छ ।
तर पृथ्वीनारायण क्याम्पसमा अध्ययन गरेका धेरै विद्यार्थी राजनीतिमा लागेर धेरै माथि पुगे । राज्य सञ्चालनको महत्वपूर्ण स्थानमा पुगेपनि यसलाई कसैले हेरेनन् । अहिले सबै कुरा पुगिसरि भएपनि विश्वविद्यालय नहुँदा यो क्याम्पसमा पढेकाहरुले हेर्नुपर्ने हो । तर हेरेनन् । मैले पनि यसलाई विश्वविद्यालय बनाउन सक्दो प्रयास गरें तर राजनीतिक खिचातानीका कारण सम्भव भएन । अबको पुस्ताले यसलाई सम्भव बनाउँछ की !

Comments are closed.