पोउवासंघको विधान संशोधन हुने

logo

पोखरा, १ चैत । पोखरा उद्योग वाणिज्य संघको विधान संशोधन हुने भएको छ । मौजुदा विधान संशोधनको लागि संघले विशेष साधारण सभा गर्ने निर्णय गरेको छ । संघको कास्कीको पर्यटकीय गाउँ धम्पुसमा भएको कार्य समितिको दशौं नियमित बैठकले आउँदो वैशाखको २६ गते विधान संशोधनको मुख्य एजेण्डासहित विशेष साधारण सभा गर्ने निर्णय गरेको हो ।
संघको मौजुदा विधान २०५० लाई समय सापेक्ष आवश्यक परिमार्जन गरी संघको दायरा फराकिलो बनाउन विधान संशोधनको पहल गरिएको संघका अध्यक्ष विन्दुकुमार थापाले बताए । उनले विधान संशोधनको लागि सहयोग गर्न सम्पूर्ण वस्तुगत संघ तथा साधारण सदस्यहरुलाई आह्वान पनि गरे । विधान संशोधनको लागि संघका दुई तिहाई सदस्यहरुको उपस्थिति र ‘म्याण्डेट’ आवश्यक पर्छ । संघमा अहिले २३ सय ९३ जना साधारण, एसोसियट सदस्य र ११ जना मानार्थ सदस्यहरु रहेका छन् ।
२०११ सालमा पोखरा व्यापार संघको रुपमा स्थापित तथा २०३५ सालमा पोखरा उद्योग वाणिज्य संघमा रुपान्तरण भएको संघ पोखराकै जेठो सामाजिक संस्था हो । बैठकमा हालै संघको आयोजनामा सम्पन्न मित्रराष्ट्र भारतको अध्ययन अवलोकन भ्रमण तथा हालसम्म संघले गरेका गतिविधीबारे समेत समीक्षा गरिएको थियो ।
यसैबीच, संघको दुई दिने बार्षिक कार्ययोजना तर्जुृमा गोष्ठी पनि शनिबार नै पर्यटकीय गाउँ धम्पुसमा भएको छ । दुई दिने गोष्ठीले चालू र आगामी बर्षको लागि संघले सम्पादन गर्ने कार्ययोजना बनाउनुको साथै व्यवसायीक हितको लागि ठोस कार्यक्रम ल्याउने निर्णय गरेको महासचिव रवीन्द्रबहादुर प्रजुले जानकारी दिए । गोष्ठीमा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापा सहित पदाधिकारी, कार्यसमितिका सदस्य एंव पूर्व अध्यक्षहरुको समेत सहभागिता रहेको थियो । गोष्ठीमा हरिहर सुवेदी, आनन्दबहादुर जोशी र रामप्रसाद तिवारीले सहजीकरण गर्नुभएको बार्षिक कार्ययोजना गोष्ठीका संयोजक ईश्वर कर्माचार्यले जनाए ।
गोष्ठीको समापन कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघ तथा समापन कार्यक्रमका अध्यक्ष विन्दुकुमार थापाले गोष्ठी संघलाई नया दिशा दिने उद्देश्यमा सफल रहेको धारणा राखे । उनले कार्ययोजनासहित अगाडि बढ्दा संघले अंगिकार गरेको लक्ष्य प्राप्ति हुने आशा व्यक्त गरे । गोष्ठीका प्रशिक्षक हरिहर सुवेदीले पोखरा उद्योग वाणिज्य संघको गतिविधीलाई एउटा संस्थाको मात्र नभई समग्र पोखराको गतिविधीको रुपमा बुझिने हुँदा संघका कार्यक्रमहरु वृहत्तर हितको लागि हुनुपर्ने सुझाव दिए ।

Comments are closed.