पोउवासंघ र चीनको उचिसियानाबीच साझा लगानीबारे छलफल

पोखरा, २९ चैत ।
पोखरा उद्योग वाणिज्य संघ र चीनको उचिसियान नगरबीच साझा लगानीका बिषयमा पोखरामा छलफल भएको छ ।
पोखरा भ्रमणमा रहेको उइसियान महानगरपालिकाको प्रतिनिधिमण्डलसँग आइतबार पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेको ‘नेपाल र चीनबीच साझा लगानी’ बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै चीनको उइसियान महानगरपालिकाका नगरप्रमुख सु चुन ह्वेले उक्लँदो चिनिया अर्थतन्त्रबाट नेपालले फाइदा लिनुपर्नेमा जोड दिए । उनले पोखरा र उचिसियान नगरबीच आपसी सहकार्य र पर्यटन प्रवद्र्धनमा सहकार्यको हात अगाडि बढाइने जानकारी दिए ।
पोखराको सुन्दरताबाट प्रभावित भएका नगरप्रमुख ह्वेले चीनको प्रमुख शहर मध्येको एक पर्यटकीय गन्तव्य उचिसियान भ्रमणको निम्तो पनि दिएका छन् । उनले आफ्नो नगरले प्राङ्गारिक खेतिप्रणाली, व्यवस्थित नगर व्यवस्था तथा साँस्कृतिक सम्पदाहरुको संरक्षणमा गरेका कामहरुको फेहरिस्त प्रस्ुत गर्दै सही योजनाले मात्र दिगो विकास सम्भव रहने कुरा बताए ।
कार्यक्रम तथा पोखरा उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष मीनराज काफ्लेले नेपालमा आयात हुने सामाग्रीमा चिनिया सामानको हिस्सा ३५ प्रतिशत रहेको सन्दर्भ उल्लेख गर्दै नेपालमै उद्योग स्थापना गरी अर्को ठूलो भारतीय बजारमा सामान निर्यात गर्न चिनिया पक्षलाई आग्रह गरे । उनले चिनिया पर्यटकको लागि नेपाल सस्तो तथा सजिलो गन्तब्य भएकाले नेपाल भ्रमणमा आउन चिनियाहरुसँग अनुरोध गरे । नेपालको जलविद्युत, पर्यटन र कृषिमा लगानीको प्रचुर सम्भावना रहेको उनको भनाई थियो ।
कार्यक्रमका समन्वयकर्ता तथा पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य विश्वशंकर पालिखेले चीन भ्रमणमा जाँदा बेइजिङबाटै भिसा लगाउनु पर्दा नेपालीहरुलाई समस्या परेको अवगत गराउँदै अन्य राज्यहरुबाट पनि नेपालीलाई भिसा दिने प्रक्रिया थाल्न चीनसँग आग्रह गरे । लेखनाथ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष लक्ष्मीराज त्रिपाठीले पोखरा प्रवद्र्धनमा सघाउन चिनियाहरुसँग आग्रह गरे ।
पोखरा उद्योग वाणिज्य संघका उपमहासचिव प्रकाशदेव पालिखेले संचालन गरेको कार्यक्रममा कोषाध्यक्ष दीलिपराज श्रेष्ठले धन्यवाद ज्ञापन गरेका थिए । चीनको फुजियान राज्यमा पर्ने उचिसियान युनेस्कोको साँस्कृतिक सम्पदामा परेको सहर हो । चिया, बुद्ध, वोन र कन्फुसियसको दर्शनको मिश्रित सँस्कृति त्यहाँको विशेषता हो ।

Comments are closed.