पोउवा संघले विधान संशोधन गर्न विशेष साधारण सभा गर्ने

पोखरा १ चैत । पोखरा उद्योग वाणिज्य संघले मौजुदा विधान संशोधनको लागि विशेष साधारण सभा गर्ने निर्णय गरेको छ । संघको कास्कीको पर्यटकीय गाउँ धम्पुसमा सम्पन्न कार्य समितिको दसौं नियमित बैठकले आउँदो वैशाखको २६ गते विधान संशोधनको मुख्य एजेण्डासहित विशेष साधारण सभा गर्ने निर्णय गरेको हो ।

संघको मौजुदा विधान २०५० लाई समय सापेक्ष आवश्यक परिमार्जन गरी संघको दायरा फराकिलो बनाउन विधान संशोधनको पहल गरिएको संघका अध्यक्ष विन्दुकुमार थापाले बताउनुभयो । उहाँले विधान संशोधनको लागि सहयोग गर्न सम्पूर्ण वस्तुगत संघ तथा साधारण सदस्यहरुलाई आह्वान पनि गर्नुभयो । विधान संशोधनको लागि संघका दुई तिहाई सदस्यहरुको उपस्थिति र ‘म्याण्डेट’ आवश्यक पर्छ । संघमा अहिले २३ सय ९३ जना साधारण, एसोसियट सदस्य र ११ जना मानार्थ सदस्यहरु रहनुभएको छ । २०११ सालमा पोखरा व्यापार संघको रुपमा स्थापित तथा २०३५ सालमा पोखरा उद्योग वाणिज्य संघमा रुपान्तरण भएको संघ पोखराकै जेठो सामाजिक संस्था हो ।

बैठकमा हालै संघको आयोजनामा सम्पन्न मित्रराष्ट्र भारतको अध्ययन अवलोकन भ्रमण तथा हालसम्म संघले गरेका गतिविधीबारे समेत समीक्षा गरिएको थियो । यसैबीच संघको दुई दिने वार्षिक कार्ययोजना तर्जुृमा गोष्ठी पनि शनिबार नै पर्यटकीय गाउँ धम्पुसमा सम्पन्न भएको छ । दुई दिने गोष्ठीले चालु र आगामी वर्षको लागि संघले सम्पादन गर्ने कार्ययोजना बनाउनुको साथै व्यवसायीक हितको लागि ठोस कार्यक्रम ल्याउने निर्णय गरेको महासचिव रवीन्द्रबहादुर प्रजुले जानकारी दिनुभयो । गोष्ठीमा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापा सहित पदाधिकारी, कार्यसमितिका सदस्य एंव पूर्व अध्यक्षहरुको समेत सहभागिता रहेएको थियो ।

गोष्ठीमा हरिहर सुवेदी, आनन्दबहादुर जोशी र रामप्रसाद तिवारीले सहजीकरण गर्नुभएको वार्षिक कार्ययोजना गोष्ठीका संयोजक ईश्वर कर्माचार्यले जनाउनुभयो । गोष्ठीको समापन कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघ तथा समापन कार्यक्रमका अध्यक्ष विन्दुकुमार थापाले गोष्ठी संघलाई नया दिशा दिने उदेश्यमा सफल रहेको धारणा राख्नुभयो । उहाँले कार्ययोजनासहित अगाडि बढ्दा संघले अंगिकार गरेको लक्ष्य प्राप्ति हुने आशा व्यक्त गर्नुभयो ।

गोष्ठीका प्रशिक्षक हरिहर सुवेदीले पोखरा उद्योग वाणिज्य संघको गतिविधीलाई एउटा संस्थाको मात्र नभई समग्र पोखराको गतिविधीको रुपमा बुझिने हुँदा संघका कार्यक्रमहरु वृहत्तर हितको लागि हुनुपर्ने सुझाव दिनुभयो । पोखरा उद्योग वाणिज्य संघका महासचिव रवीन्द्रबहादुर प्रजुले सामूहिक भावनाले नै संघ अगाडि बढ्ने बताउनुभयो । गोष्ठी संयोजक तथा पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य ईश्वर कर्माचार्यले गोष्ठीबाट प्राप्त ज्ञानलाई व्यवहारमा लागु गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।