पोखरा हटलाईन
असार १४
प्रदेश निर्वाचन क्षेत्र पुर्वधार विकास कार्यक्रम अन्तर्गत कास्की निर्वाचन क्षेत्र नं २(ख) का २५ वटा विकास निर्माण आयोजनाको आज स्थलगत अनुगमन गरिएको छ ।
कार्यक्रम अन्तर्गत प्रदेश सभा सदस्यहरू विन्दुकुमार थापा, प्रभा कोइराला, कुमार खड्का र मीना गुरुबद्वारा विनियोजित कुल दुई करोड रुपैयाँको लागतमा निर्मित आयोजनाको प्रदेश सभा सदस्य, जिल्ला समन्वय समिति कास्कीका उपप्रमुख, पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुब, जनप्रतिनिधि, प्राविधिक तथा सञ्चारकर्मी समेतको उपस्थितिमा अनुगमन गरिएको हो ।कार्यक्रम अन्तर्गत पोखरा महानगरपालिकाका वडा नं ४, ८, ९, ११, १६ र २० मा सञ्चालित सडक तथा ढल, सिंचाई, खानेपानी, बहुउद्देश्यीय भवन, मन्दिर, चौतारा पुनःनिर्माण लगायतका योजना छन् योजनाको अनुगमका क्रममा अनुगमन समितिका संयोजक प्रभा कोइरालाले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमले जनताका आधारभुत आवश्यकता पूरा गर्न महत्वपूर्ण योगदान गरेको बताउनुभयो ।
निर्माणमा गुणस्तरीयता अपरिहार्य भएको बताउँदै उहाँले तोकिएको समयमा काम सम्पन्न हुनुपर्नेमा जोड दिनुभयो । योजनाको प्रभावकारिताका लागि स्थानीय उपभोक्ता समितिको भूमिका महत्वपूर्ण हुनेमा उहाँको जोड छ । चालू आर्थिक बर्षमा सञ्चालित योजनाहरु कोरोना भाइरसका कारण प्रभावित भएको कोइरालाले बताउनुभयो ।प्रदेश निर्वाचन क्षेत्र नं २(ख) बाट प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्य विन्दुकुमार थापाले विकास निर्माणमा जनताका अपेक्षा धेरै भए पनि त्यस अनुरुप बजेट पर्याप्त हुन नसकेको बताउनुभयो । अर्का सदस्य कुमार खड्काले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममा विनियोजित बजेटबाट सञ्चालित योजनामा जनताले अपनत्व बोध गरेको बताउँदै जनता समेतको सहभागितामा अघि बढेका योजना प्रभावकारी बनेको उल्लेख गर्नुभयो।अर्का सदस्य मीना गुरुबले योजनाको बाँडफाँडमा सबै क्षेत्र र बर्गलाई समेटिएको बताउँदै विकास निर्माणका काममा स्थानीय तहले पनि चासो दिनुपर्ने आवश्यकता औंल्याउनुभयो । अनुगमनका क्रममा स्थानीय उपभोक्ता समितिका पदाधिकारीले समयमै बजेट प्राप्त नहुँदा काममा ढिला सुस्ति भएको बताउँदै पछिल्ला महिना भने कोरोनाका कारण मजदूर नपाउनदा पनि समस्या भएको गुनासो व्यक्त गरे ।
Comments are closed.