पोखराका २ अधिकृत धरौटीमा छुटे, बुटवलमा समातिए

पोखरा १८, असार/यातयात व्यवस्था कार्यालय पोखरामा घुस लिँदै गर्दा रंगे हात पक्राउ परेका दुई लेखा अधिकृत धरौटीमा छुटेका छन् । सेवाग्राहीसँग १० हजार घुस लिँदै गरेका यातयात कार्यालयका लेखा अधिकृत द्वय गोविन्दप्रसाद बराल र नारायणहरी शर्मा अधिकारीलाई मंगलवार अख्तियार दुरुपायोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराको एक टोलीले रंगे हात पक्राउ गरेको थियो ।
उनीहरुलाई बिहीबार जनही २० र २० हजार सहित धरौटिमा छाडिएको अख्तियार अनुसन्धान आयोग पोखरा कार्यालयका सुचना अधिकृत नरेन्द्र भट्टराईले बताए । उनीहरुको मुद्धा अदालतमा पुगेकोले फैसला नहुन्जेल जागीर निलम्वनमा परेको भट्टराईले बताए ।
सेवाग्राही टेकबहादुर बरुवालले निजी कारको नविकरण गर्दा लाग्ने रकम तिरी सक्दासमेत बिल बुक दिन लेखा अधिकृतहरुले आलटाल गरी थप रकम १० हजार माग गरे पछि उनले १० हजार दिदै गर्दा अख्तियारको टोलीले रंगे हात पक्राउ गरेको अख्तियारले जनाएको छ । रंगे हात पक्राउमा परेका लेखा अधिकृत दुबै जनालाई असार १५ गते प्रहरी हिरासतमा राखिएको थियो ।
बरुवालले आफ्नो गाडीको नविकरण गर्दा कार्यालयबाट तोकिएको रकम २४ हजार ३ सय रुपैयाँ तिरेर रसिद लिए पनि दुई महिना देखि विलबुक नपाएको गुनासो गरेका छन् । लेखा अधिकृतहरुले २० हजार रुपैयाँ माग गरे पनि १० हजार भएपनि हुन्छ भनी माग गरेपछि आफुले १० हजार दिएको उनले बताए । यस बिषयमा भने लेखाअधिकृत द्वय बराल र अधिकारीले अख्तियारले आफुहरुलाई नियोजित ढंगले भ्रष्टचारको मुद्धामा पारेको गुनासो गरेका छन् ।

बुटवल कार्यालयका कर्मचारी ‘घुस’सहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले यातायात व्यवस्था कार्यालय बुटवलका एक कर्मचारीलाई बिहीबार घुस लिँदालिँदै रङ्गेहात पक्राउ गरेको छ । आयोगको पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखराको सम्पर्क कार्यालय बुटवलको टोलीले यातायात व्यवस्था कार्यालयका नायब सुब्बा यादव केसी खड्कालाई रङ्गेहात पक्राउ गरेको हो ।
कपिलवस्तु बुड्डी गाविस–४ का खड्कालाई सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को प्रतिलिपि बनाउन सेवाग्राहीबाट छ हजार घुस लिँदै गर्दा कार्यालयबाटै पक्राउ गरिएकोे अख्तियारको सम्पर्क कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक सुदनसिं बस्नेतले जानकारी दिए ।

पेशागत महासंघको ध्यानाकर्षण

यातायात व्यवस्था कार्यालय, सवारी गण्डकीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराले गरेको अनुसन्धानको दायरालाई अबलम्बन गरी गोप्य अनुसन्धान गरिनु पर्नेमा टोलीले देखाएको कार्यशैलीप्रति पेशागत महासंघ नेपाल कास्कीकोे गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
संस्थाको दैनिक कार्यप्रक्रिया फराकिलो दायरा भित्ररही गोप्य, सन्तुलित र निश्पक्ष तथा न्यायिक हुनुपर्नेमा त्यसो नभएको भन्दै महासंघले ध्यानाकर्षण भएको जनाएको हो ।
कार्यरत लेखाअधिकृत र लेखापालले सेवाग्राहीसँग अनुचित तरिकाले रकम माग गरेको भनी जवरजस्ती कार्यकक्षमा प्रवेश गरी सबै सेवाग्राही र कर्मचारीहरुले देख्ने गरी एक जना सेवाग्राहीको माध्यमबाट कमेजको गलामा जवरजस्ती रकम राखी दिने र त्यसैलाई आधार मानी पक्राउ गर्ने कार्यशैलीले सम्पूर्ण निजामती कर्मचारी तथा सबै क्षेत्रका पेशाकर्मीहरु र निजामती पेशालाई समेत अपमानित बनाएको महासंघले विज्ञप्तीमा जनाएको छ ।
राज्यको महत्वपूर्ण जिम्मेवारी प्राप्त संबैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्य सम्मानजनक हुनु पर्नेमा उक्त घट्नाको छानविनको प्रक्रिया थालनी प्रारम्भ हुनासाथ विभिन्न सञ्चार माध्यमका अनलाईन खबर मार्फत अतिरञ्जित तरिकाबाट समाचार संप्रेषण हुनु दुःखद रहेको उसले विज्ञप्तीमार्फत उल्ेख गरेको छ । आफ्नो पदीय जिम्मेवारीबाट विमुख भई अबाञ्छित रुपमा लाभलिने काम, गतिबिधि गरि सेवाग्राहीबाट रकम, नजराना लिने कुनै पनि राष्ट्रसेवकलाई छानवीनको दायरामा ल्याई कारबाही गर्न अध्यक्ष ध्रुवसिंह खड्का र सचिव इश्वरप्रसाद सुवेदीले संयुक्त रुपमा निकालेको विज्ञप्तीमार्फत माग गरेको छ ।

Comments are closed.