पोखराका कतिपय सडक यसैपनि साँघुरा छन् । त्यसैमाथि सडकको दुवै किनारामा गरिएको पार्किङ, निर्माण सामाग्री, व्यापारिक प्रतिष्ठानका सामाग्री तथा विभिन्न वर्कसप र मोटरसाइकल विक्रेताहरुले सडकलाई च्याप्दा अरु अस्तव्यस्त बनेको छ । सडकलाई गोदाम जसरी सबै समान राख्ने भण्डार बनाइएको छ । पोखराका सडकमा निषेध गरिएको फुटफाथे व्यापार फेरी सल्वलाउन थालेको छ । डोके, पोके तथा ठेला मै राखेर सामान बेच्नेहरु पोखराका सडकमा प्रशस्त देख्न पाईन्छ । पोखराको सडकमा ट्राफिक समस्या झन बढ्दै जान थालेको छ । मुख्य सडकमा ठाउँठाउँमा जेब्रा क्रसिङ बनाइएको छ । तर, नत पैदल यात्रुलाई जेब्रा क्रसिङबाट वाटो काट्नुपर्छ भन्ने कुरामा सचेत छन् नत सवारी चालकसँग यात्रुले जेब्रा क्रसिङबाट बाटो काट्दा सवारी साधन रोक्नुपर्छ भन्ने सभ्यता छ ।
जेब्रा क्रसिङको प्रयोग र ट्राफिक जाम कम गर्न लागि ट्राफिक लाइट जडान गर्ने कुरा बषौंदेखि चलेको छ । तर, कुराबाट काममा परिणत हुनु र छेपाराले घर बनाउनु पोखराका लागि उस्तै हुन पुगेको छ । अर्कातिर पोखराका सडकमा जथाभावी पार्किङ गर्दा सडक अस्तव्यस्त त बनेकै छ । यहाँका घरधनी, व्यापारीदेखि यात्रुसम्मले सास्ती खेप्नु परेकोपरै छ । पोखराको सडक पार्किङस्थल होकी गाडी गुड्ने बाटो भन्ने यातायात व्यवसायीले उठाएको कुरा एक हदसम्म ठिकै पनि देखिन्छ । नगरपालिकाले आन्तरिक स्रोत बढाउनका लागि पार्किङ शल्क उठाउन पाउने कुरा स्थानीय स्वयत्त शासन ऐनमा स्पष्टसँग लेखेको छ । तर, आफु मातहतका सडक र यहाँका यात्रु तथा सर्वसाधरणलाई सहज र सजिलो बनाईदिने काम पनि उसैको हो । केही कुरामा सुधार गर्दा सर्वसाधरणलाई सुविधा हुन्छ र सडक पनि अलि खुल्ला हुन्छ भने त्यस तर्फ पनि सोंच्न जरुरी छ । जस्तै, पोखराका सडकमा पार्किङ शुल्क उठाउँदा कुन ठाउँमा कस्ता सवारी साधन रोक्ने र कहाँ रोक्न पाउने, कहाँ नपाउने भन्ने कुरा स्पष्ट निर्दिष्ट गरिदिँदा सडकमा अस्तव्यस्तता हुन जाने कारण यस तर्फ पनि पोखरा उपमहानगरपालिकाले सोंच्न जरुरी छ ।
त्यसैगरी पोखराका सडकमा जथाभावी सामान राख्न नदिने, निर्माण सामाग्रीलाई व्यवस्थित तरीकाले राख्न लगाउने, सडक हडप्ने वर्कसव तथा व्यापारिक प्रतिष्ठानहरुलाई कारवाही गर्ने र पोखरामा फेरी बढ्दै गएको फुथपाथ व्यापारलाई हटाउने लगायतका काम मात्रै नगरपालिकाले ठिक समयमा र नियमित गरिदिने हो भने केही हदसम्म व्यवस्थित हुन सक्छ । यसैगरी ट्राफिक लाईट निर्माण र जिल्ला ट्राफिक प्रहरी कार्यालयको समन्वयमा सडक ज्ञान सम्वन्धि विभिन्न सचेतना कार्यक्रम पनि नगरपालिकाले गर्नुपर्ने देखिन्छ । साथै यात्रु, व्यापारिक प्रतिष्ठान, सवारी चालक र सर्वसाधरणले पनि सानासाना कुरामा सचेतता अपनाइदिने हो भने अव्यस्थित सडकलाई थोरै भएपनि व्यवस्थित गर्न सकिने थियो ।
Comments are closed.