‘नेपाली साहित्यमा पाेखराकाे उपस्थिती बलियाे छ । यहाँ हुने केही कार्यक्रमले पुरै नेपाली साहित्यकाे ध्यानाकर्षण गराउने शक्ति राख्छ । तर, पछिल्लाे समय बढ्दै गएका संस्था र कम हुँदै गएकाे सिजर्नशीलताले याे राजमार्ग फराकिलाे भने हुन सकेकाे छैन । दर्जनाैं संघसंस्थाले साहित्यकर्म त गरिरहेका छन् तर, नविनता र सिजर्नशीलताकाे कमी छ ।’
अमृत सुवेदी/ पाेखरा ३ माघ
पोखरामा साहित्यिक संस्था कति छन् ? कसैले सोध्यो भने पोखराकै रैथाने साहित्यकारले पनि झट्ट भन्न सक्दैन । साहित्यको नगरी भनिएको पोखरामा विधा पिच्छेका संस्था मात्रै छैनन् झण्डै व्यक्ति पिच्छेका संस्था छन् । परिचय दिँदा प्रायलाई भन्न पुग्ने संस्था छन् पोखरामा । कोही न कोही संस्थासँग आवद्ध छन् । पोखरामा दर्जन बढी साहित्यिक संस्था खुलेका छन् । पोखरेली साहित्यमा देखिएको समस्या धेरै साहित्यिक संस्था खुल्नु र क्रियाशील नहुनु अनि सिर्जनशीलताकाे कमी हुनु पनि हो । कतिपय पोखरामा खुलेका साहित्यिक संस्थाहरु अहिले गुमनाम छन् । कतिले आ–आफ्नै तरिकाले कार्यक्रम गरिरहेका हुन्छन् तर ‘वाह’ भन्ने खालका र सिर्जनात्मक कार्यक्रम पछिल्लो समय कमै भएका छन् । त्यसो त सँधै राम्रा कार्यक्रम गर्न सकिँदैन तर भएका कार्यक्रममा पनि सिर्जनात्मकता हराउँदै जान थालेको छ ।
खास पोखराका कार्यक्रममा सिर्जनशीलता किन हराउँदै गए त ? साहित्यकार तीर्थ श्रेष्ठ भन्छन्,‘पोखरामा साहित्यिक संघसंस्था मात्रै धेरै भएनन्, जस्तो साहित्य सिर्जना गरेपनि एक अर्कालाई उचाल्दिने र प्रशंसा गरिदिने धेरै भए । जसले गर्दा दुई-चार वटा जस्ता रचना लेखे पनि साहित्यकार भईन्छ भन्ने भ्रम सिर्जना भयो ।’
सिर्जनाका समिक्षात्मक टिप्पणीको खाँचो उनी औंल्याउँछन् । साहित्यमा लागेका व्यक्तिहरुबाटै पनि सिर्जनशीलता मार्ने काम भएको उनी स्विर्काछन् । ‘सिर्जनात्मक ढंगले भन्दा पनि रहरले साहित्यमा लाग्ने र ज्यादा प्रचारबाजीका कारण लगनशीलता कम भयो तर, निरास नै भईहाल्नुपर्ने अवस्था भने आइसकेको छैन’, श्रेष्ठ भन्छन् । यहाँ धेरै सिर्जना गरे साहित्यकार भईन्छ भन्ने भ्रम पनि धेरैलाई छ । कतिपय कार्यक्रममा सुनाइने रचनाले कार्यक्रमको स्तर नै घटाईरहेको भान हुन्छ ।
पोखरालाई कर्मथलो बनाएर नेपाली साहित्यको उच्च पंक्तिमा उभिएका संगित तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त भन्छन्,‘सिर्जनशीलता कसरी बढाउने भन्दा अभिरुचीले संस्था जन्माउँछौ र जनतासम्म पुर्याउन सक्दैनौं ।’ उनले यो अवस्थालाई विकासक्रमकै रुपमा हेरेका छन् । एकै पटक ठूला साहित्यकार जन्मन सक्दैनन् तर त्यही अभ्यासमा अहिलेको पुस्ता रहेको उनको भनाई छ । कुनैबेला पोखराका कार्यक्रम पाठशाला नै थिए । पोखरेली युवा सांस्कृतिक परिवारले पोखरामा कार्यक्रमहरु सुरु गर्दा अरु साहित्यिक संस्थाहरु थिएनन् अहिले दजनौं साहित्यिक संस्थाहरु भए । ‘यो क्षेत्रमा नयाँ पुस्ताको आकर्षण छ तर, स्कुलिङ हुन सकिरहेको छैन’ उनले भने । पोखरेली साहित्यले उत्पादन गरेका व्यक्तीले अहिले नेपाली साहित्यमा आफ्नो अलग्गै पहिचान पनि बनाएका छन् । बाहिर हल्ला आएजस्तो यहाँ गुटउपगुट बनाउने काम कम भएपनि धेरै संस्था खुल्नु यसकै उपज भएको विश्लेषकहरु बताउँछन् । सिर्जनाले भन्दा प्रचारबाजीका कारण माथि जान खोज्ने र त्यही अनुसार संस्था खोल्ने भएकाले सिर्जनाशक्ती नबढेको धेरैको बुझाई छ । यहाँ हप्तैपिच्छे साहित्यिक कार्यक्रम हुन्छन् । त्यसमा पनि धेरैजसो शनिबार नै हुन्छन् । जसका कारण कार्यक्रममा सम्वन्धित व्यक्ती वाहेक स्रोता, दर्शकको कमी हुन्छ ।
पोखरामा पहिलो शनिबार पोखरेली युवा सांस्कृतिक परिवारको ‘समता काव्य’ दोस्रो शनिबार गजल सन्ध्या पोखराको ‘गजल वाचन’ तेस्रो शनिबार गजल सन्ध्या पोखरा र नवनित साहित्य सागरको ‘अक्षरयात्रा’ साहित्यिक अभियान, अन्तिम शनिबार मुक्तक मञ्च पोखराको ‘मुक्तक वाचन’, पठन संस्कृतिको विकास गर्नका लागि खुलेको ¥याण्डम रिडर्स सोसाईटी अफ नेपालले पनि छिटफुट बाहेक अन्तिम शनिबार नै कार्यक्रम गर्ने गरेको छ । यस्तै साहित्य श्रृंखला, प्रगतिशील बाङ्मयको रचना वाचन लगायतका थुप्रै नियमित कार्यक्रम पोखरामा भैरहेका छन् । लोककवि अलिमिया वाङ्मय प्रतिष्ठानले पनि बर्षको एक÷दुई वटा कार्यक्रम मुस्कीलले गर्छ। यसैगरी सरुभक्तको नेतृत्वमा रहेको संरक्षण कविता आन्दोलन बर्षका एकदुई पटक भएपनि चर्चामा आउने गरेको छ । यस्तै कविता यात्रा, लेअनाथ साहित्य प्रतिस्ठान, गिताञ्जली साहित्य समुह, हेमजा साहित्य प्रतिष्ठान, सम्पदा कला मन्दिर पनि बेलाबेलामा हुने पोखरेली साहित्यिक कार्यक्रम गर्ने मध्यका हुन् । नेपाली साहित्यमा पोखरेली साहित्यको उपस्थिति बलियो छ । तर, पछिल्लो समयमा यस्ता आश लाग्दा अनुहार कम देखिएका छन् । दर्जनौ संघसंस्थाले साहित्य क्षेत्रमा काम त गरिरहेका छन् तर, सिर्जनशीलता हराउँदै गएको धेरै साहित्यकार स्वीकार्छन ।
साहित्यको प्रवद्र्धन र सिर्जनशीलता लागि भन्दा पनि आफु अनुकुल संस्थाहरु चलेको र आफ्नो अनुकुलताका लागि संस्थाहरु चलाइएको गुनासो पोखरेली साहित्यलाई छ ।
पोखरामा बेलाबेलामा गर्ने ठूला कार्यक्रमहरुले पोखरेली युवा सांस्कृतिक परिवारलाई स्थापित गराएको छ । पुरानो र नेपालमै स्थापित भईसकेका साहित्यकार समेतको छत्रछाँया पनि पाएका कारण परिवारको केन्द्रीय सम्वन्ध बलियो देखिन्छ । परिवारले गर्ने ठूला कार्यक्रमले नेपाल कै ध्यानाकर्षण गराउने शक्ती राख्ने भएकाले यहाँका अन्य साहित्यिक कार्यक्रम यसको ओसमा परेका हुन की भन्ने अनुमान छ । नेपाल कै जेठो संस्था मध्येमा पर्ने पोखरेली युवा सांस्कृतिक परिवारले समता काव्य सन्ध्यालाई कविताको पाठशाला भन्दै आएको छ । पहिले समता काव्यलाई पाठशाला बनाउँदै केही राम्रा कवि पनि निस्किए । एकताका समता काव्य साँच्चिकै कविताको पाठशाला नै थियो । कवि भूपीन, सरस्वति प्रतिक्षा, ईश्वरमणी अधिकारी लगायत त्यसैको उपजका रुपमा जन्मेका कविका रुपमा लिइने गरिएको छ । तर, अहिले ‘विरालो बाँधेर श्राद्ध गर्ने’ बाहेक समता काव्यका कुनै नविनता र सिर्जनशीलता देखिँदैन । धेरै संस्था खुल्दै बन्द हुँदै र धेरै कार्यक्रमहरु विचैमा टुटेको अवस्थामा २०३४ सालमा खुलेको परिवारले दिएको निरन्तरतालाई मान्नैपर्छ । तर, कविताको पाठशालामा नयाँ अनुहार खासै देखिँदैनन् । कार्यक्रममा भएको उपस्थितिले पनि यसको लोकप्रीयता घटेको देखाउँछ । पछिल्लो समयमा यो पाठशालाबाट कविताको शक्ती लिएर उदाउनेहरु कम छन् । पोखरेली युवा सांस्कृतिक परिवार राजधानी बाहिर रहेर कला, साहित्य र संगितको उत्थानमा लागेकोले पनि उत्कृष्ट भएको दाबी उनीहरुको छ ।
पोखराकै पुरानो संस्थामा सबै अटाउन सकेनन् र अरु संस्था खुल्दै गएको भन्नेहरु पनि छन् । साहित्यको प्रवद्र्धन र सिर्जनशीलता लागि भन्दा पनि आफु अनुकुल संस्थाहरु चलेको र आफ्नो अनुकुलताका लागि संस्थाहरु चलाइएको गुनासो पोखरेली साहित्यलाई छ । नयाँ पुस्ताका कवि, मन क्षेत्री भन्छन्,‘निश्चित समयमा निश्चित स्वार्थका लागि निश्चित मान्छेहरुले संघसंस्थाहरुको गठन गरे, कतिपय स्वार्थपूर्ती भएपछि बन्द भए भने कतिपयमा निरन्तरता भएन ।’ क्रियाशिल संस्थामा पनि नविनता, अभिभावकत्व र रचनात्मक नभएपछि नयाँ पुस्ताको सम्मोहन नभएको उनको ठम्याइ छ ।
डेढ दशक अघि ‘गजलको उत्थान, हाम्रो अभियान’ भन्ने नारासहित खुलेको गजल सन्ध्या पोखरामा अहिले नेपालभरी जस्तै युवाहरुको हस्तक्षेप छ । परम्परागत शैली र पुराना पुस्ताका गजललाई विस्तापित गरी नयाँ धारका समसामयिक गजल भित्र्याउँदै पोखरेलीलाई गजलको स्वाद त चखाएका छन् तर, नेपालभरी चिनाउने संग्रह निकाल्न र गजलको साख अझ माथि उठाउन भने सकेको देखिदैन । नेपाली गजलमा पोखरेली गजलले आफ्नो स्थान जमाउन सफल भएको उसले बताएपनि गजलका नाममा सुनाइने फजलले त्यसप्रतिको आकर्षण घटाएको छ । तर, गजल सन्ध्याका अध्यक्ष उदिपराज ढुंगाना यो मान्न तयार छैनन् । उनी भन्छन्,‘संग्रह निकाल्नुलाई मात्रै सिर्जनशीलता भन्न मिल्दैन, अहिले पोखरेली गजलको स्तर र यसप्रतिको धारणा बद्लीएको छ । गजलको माहौल पहिले भन्दा धेरै राम्रो छ ।’ बजारमा जसोजसो बिक्ने त भएको छ तर, गजल भनेपछी नाक खुम्च्याउनेहरुलाई आकर्षण गर्न अझै सकिरहेको छैन ।
गजल सन्ध्या पोखरा र नवनित साहित्य सागरले संचालन गर्ने अक्षरयात्राबाट पनि यो क्षेत्रमा नयाँ पुस्ताको आगमन भएको उनीहरु बताउँछन् । अक्षरयात्रा अभियानबाट पनि केही स्थापित भईसकेको र केही यही राजमार्गमा रहेको आयोजक बताउँछ । तर, यसको पनि पछिल्लो समय साख घट्दै गएको छ । गजलकार रुपीन्द्र प्रभावी ‘कटु’ भन्छन्,‘ साहित्यिक पर्यटनको अवधारणालाई आत्मसाथ गर्दै जीवन र जगतको यथार्थतालाई उतार्न अक्षरयात्राले धेरै सहयोग गरेको छ ।’ अक्षरयात्रामा पनि पुराना पुस्ताकाे विकषर्ण र नयाँ पुस्ताकाे उत्साहजनक उपस्थिति खहरे जस्तै छ । कहिले बढ्छ, कहिले सुक्छ ।
मुक्तक मञ्च पोखरा मुक्तकको उत्थानका लागि भनेर कार्यक्रम गर्दै आएको छ । चिटिलो र पाेटिलो विधाका रुपमा लिइने मुक्तककाे मौहौल पोखरेली युवा सांस्कृतिक परिवारले गर्ने ‘टिकटमा मुक्तक’ कार्यक्रमले सुरु गरेको हो । तर, त्यसलाई विधागत रुपमा संस्थागत गर्न मुक्तक मञ्च पोखरा स्थापना भएको हो । मुक्तक मंचले केही मुक्तकीय गतिविधहरु गरीरहेको भएपनि माथि उठ्न सकेको छैन् । पुस्तक प्रकाशन र नियमित कार्यक्रमले मात्रै उसले भने झैं साँच्चिकै मुक्तकको उत्थान भने हुन सकेको अवस्था छैन । मुक्तक सुन्न मन पराउनेहरु त बढेका छन् तर त्यसलाई सम्मानजनक स्थापित गर्न स्रोता, दर्शकमाझ भिजाउन मुक्तक मञ्चले ठूलौ कसरत गर्नुपर्ने देखिन्छ । साहित्य सृंखला, नवनित साहित्य सागर लगायतका संस्थाले गर्ने कार्यक्रमले प्रभाव र पोखरेली साहित्यमा उपस्थिति जमाउन सकेको छैन ।
पोखरामा रहेका साहित्यिक संघ संस्थाहरुले नेपाली वाङ्मयमा योगदान त पक्कै दिएका छन् तर, पछिल्लो समय उल्लेख्य प्रगति गर्न र सिर्जनशीलतालाई उकास्न सकेका छैनन् ।
यस्ता थुप्रै संस्थाहरुले पोखराका कार्यक्रमह्ररु गर्ने गरेका छन् । तर, नियमित कार्यक्रममा आयोजक बाहेक स्रोता, दर्शको न्यून उपस्थितिले यसलाई खल्लो बनाउने गरेको छ । सबैले साहित्यकै उत्थानका लागि भनेर काम गर्दै आएका छन् । पोखरामा रहेका साहित्यिक संघ संस्थाहरुले नेपाली वाङ्मयमा योगदान त पक्कै दिएका छन् तर, पछिल्लो समय उल्लेख्य प्रगति गर्न र सिर्जनशीलतालाई उकास्न सकेका छैनन् । पोखरेली साहित्यलाई सम्झने वित्तिकै कवि शिरोमणी लेखनाथ पौड्याल, लोककवि अलिमियाँ, जनकवि धर्मराज थापा, मुकुन्दशरण उपाध्याय, सरुभक्त, तीर्थ श्रेष्ठ, रमेश श्रेष्ठ हुँदै त्यसपछाडी पनि थुप्रै यो पंक्तिमा उभिएका छन् । यसरी हेर्दा नेपाली साहित्यमा पोखरेली साहित्यको पकड ठूलो छ । तर, बढ्दै गएका साहित्यिक संघसंस्था र घट्दै गएको तिनका सिर्जनशीलताले पछिल्लो पुस्तालाई अलमलमा परिदिएको छ । पोखरा र पोखरा बाहिरबाट आउने नयाँ अनुहारहरु समेत जुन संस्थासँग जोडिन पुग्छन् त्यसैको वरिपरी घुम्ने गरेको देखिन्छ । रहरले साहित्यमा लाग्ने र लगनशीलता बिना स्थापित हुन खोज्नेहरु पनि भेलवाढीमा छन् यो विस्तारै संलदै जाने विश्वास स्थापित साहित्यकारहरुको छ । कुलपति सरुभक्तकले भने झै चिन्ताजनक अवस्था त आइसकेको छैन तर, यसरी नै सिर्जनशीलता हराउँदै गयो भने नेपाली साहित्यमा पोखराबाट नयाँ पुस्ताको आगमन हुन गाह्रो पर्नेछ ।
Comments are closed.