पोखरामा ‘अरुण थापा स्मृति कार्यक्रम’को अन्तिम तयारी

पोखरा ३ साउन/ पोखरामा  ‘अरुण थापा स्मृति कार्यक्रम’–२०७२ को तयारी अन्तिम चरणमा पुगेको छ । चर्चित गायक स्व.अरुण थापाको १७ औं स्मृति दिवसको सन्दर्भको पोखरेली युवा सांस्कृतिक परिवारले यही साउन ५ गते गर्न लागेको स्मृति साँझको तयारी अन्तिम चरणमा पुगेको हो । पोखरेली युवा सांस्कृतिक परिवारका संस्थापक सदस्य समेत रहेका गायक थापाको स्मृतिमा परिवारले प्रत्येक बर्ष उनको सम्झनामा कार्यक्रम गर्दै आएको छ । maxresdefault
यसबर्ष हुन लागेको स्मृति कार्यक्रमका लागि विभिन्न उपसमिति गठन गरी, प्रचारप्रसारदेखि सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको संस्थाका अध्यक्ष सुरेश रानाभाटले जानकारी दिए । पोखरा उद्योग वाणिज्य संघको अमृत कक्षमा साँझ पाँच बजेदेखि सुरु हुने कार्यक्रममा अरुण थापाका १३ वटा गीत पोखराका विभिन्न गायकहरुले गाएर उनको सम्झना गर्ने कार्यक्रमका संगीत संयोजक सुनिल थापाले जानकारी दिएका छन् ।
अरुण थापा थोरै गीत गाएर धेरै चर्चा कमाउने गायक भएकाले उनको तिनै गीतहरुलाई पोखराका विभिन्न सांगेतिक संस्थाका तर्फबाट तथा चर्चित गायकहरुले गीत गाउनका लागि अन्तिम तयारी गरिएको कलाकार छनोट उपसमिति संयोजक नवराज बरालले जानकारी दिए ।
अरुण थापाको ‘लाग्न थाल्यो जिन्दगी’ बोलको गीत पोखरेली युवा साँस्कृतिक परिवारको तर्फबाट पशुपति गुप्ताले गाउनेछन् । यसैगरी ‘दोष कसैलाई दिन’ बोलको गीत संगीत प्रशिक्षण केन्द्रका जय चापागाईँ, ‘जति माया लाएपनि’ जोजिजू म्यूजिक सेन्टर तथा स्कुलका विनित जोजिजू, ‘करोडौं मुटुहरुमा’ बोलको गीत त्रिबेणी संगीतालयको तर्फबाट प्रस्तुत हुने परिवारका संगीत संयोजक श्रीमान थुलुङले जानकारी दिए ।
यसैगरी थापाको चर्चित गीत ‘भुलुँभुलुँ लाग्यो मलाई’ तरना म्यूजिकका सूर्य गुरुङ, ‘चोट केहो, व्यथा केहो’ मेलोडी क्याफेका विनोद बानियाँ, ‘भुलेका कथा तितामीठा’ जे.ई म्यूजिकका प्रज्वल जोजिजू, ‘ऋतुहरुमा तिमी’ ओपन हाउसका धन गुरुङ, ‘आँखाको निँद’ कन्दरा ब्यान्डका विवेक श्रेष्ठ, ‘मेरो गीत तिमीलाई’ सेन्टर प्याइन्टका राम लिम्बु, ‘म रोए पनि’ गुरुकुल संगीत प्रशिक्षणका अनिल बि.क., ‘तिमी हेर्छौ भने’ अथिति कलाकारका तर्फबाट रामभक्त जोजिजू तथा र्इतु पाल र ‘सम्झनाको जूनसँगै’ पोखरा कलाकार सांगीतिक संघका तर्फबाट गीत प्रस्तुत गर्ने आयोजकले जानकारी दिएको छ । hqdefault
वि.सं.२००९ साल माघ ११ गते बाबु गाजप्रसाद थापा र आमा शान्ति थापामगरको प्रथम सन्तानको रूपमा अरुण थापममगरको जन्म भारतको कलकत्ता स्थित नेपाली महावाणिज्य दुतावासमा भएको थियो । वि.सं. २०३० सालमा पोखरा आएर बसोबास गर्न थालेका गायक तथा संगीतकार थापाको पोखरासँग गहिरो सम्वन्ध गरेको कवि तीर्थ श्रेष्ठले जानकारी दिए ।  अरुण थापाले पोखरामा पहिलो पटक ३० को दशकमै पोखरेली युवा साँस्कृतिक परिवारको पनि पहिलो कार्यक्रममा गीत, संगीत प्रस्तुत गरेका थिए । जीवनमा धेरै उताडचडाप खेपेका थापाले २०५६ साउन ५ गते प्राण त्यागेका थिए ।

Comments are closed.