पाेखरा २७ जेठ ।
गर्मी बढेसँगै पोखरामा खाद्यन्य र पानीका कारणले लाग्ने रोगका विरामी पनि बढेका छन् । गर्मी बढेसँगै खाद्यन्य र पानी प्रयोगमा साबधानी नअपनाउँदा पोखरामा सबैजसो अस्पतालहरुमा यस्ता विरामी बढेका हुन् ।
पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, मनिपाल शिक्षण अस्पताल, गण्डकी मेडिकल कलेज, फेवासिटी, मेट्रोसिटी लगायतका अस्पतालहरुमा अहिले गर्मी तथा स्तरिय र स्वच्छ खानपान नभएका कारण लाग्ने रोगका विरामी बढेका छन् । ‘अस्वाच्छ खानपानले पछिल्लो समय विरामी बढेका छन्’ पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट श्रीकृष्ण श्रेष्ठले भने ‘यो समयमा खानेकुरा र पानी प्रयोगमा एकदमै विचार पुर्याउनुपर्छ ।’
पोखराका अस्पतालहरुमा अहिले गर्मीमा फोहोर पानीका कारण सर्ने झाडापखला, हंैजालगायतका रोगका विरामी धेरै रहेको उनले बताए । अस्वस्थ्य खानाका कारण लाग्ने टाइपाइट, भाइरल ज्वरो, झाडाबान्ता लगायतका विरामी बढेको उनले बताए । यस्ता रोगहरु छिट्टै नै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकाले सबैलाई सजग रहन उनको आग्रह छ ।
बढ्दो गर्मीका कारण छालाका बिरामीहरुको चाप पनि बढ्दै गएको चिकित्सकहरुले बताएका छन् ।
गर्मीका कारण छालामा आउने समस्या जस्तै खोईरो लाग्ने कपाल झर्ने रोग, दाध, दुवी, सेतो र रातो घमौरा, चिलाउने र पास्नी रोग, पसिनाको एलर्जी, डडुवा रोग, डण्डीफोर बढेर आउने लगायतका समस्या भएका बिरामीहरु पनि बढ्दै गएको श्रेष्ठले जानकारी दिए ।
अहिले वजारमा पाइने विभिन्न खालका खाद्यन्यको प्रयोग र खानेपानी शुद्ध नरहेका कारण विरामी बढेका हुन् । दिउँसो गर्मी र साँझ हावाहुरी लाग्ने, पानी पर्ने गरेका कारण त्यसले गर्मी जन्य रोगको संक्रमण बढाउन सक्ने चिकित्सकहरुको भनाई छ ।
गर्मीका कारण छालामा कुनै समस्या सृजना भए तुरुन्तै चिकित्सककोमा पुगेर रोगको पहिचान र उपचार गर्न श्रेष्ठले अनुरोध गरे । कहिले पानी पर्ने तथा कहिले चर्काे घाम लाग्नेक्रम निरन्तर रहेमा भाइरल ज्वरो पनि फैलन सक्ने उनले बताए ।
के खाने कसरी बँच्ने
चिकित्सकहरुका अनुसार स्वास्थ्यको दृष्टिले गर्मी समयमा बढी खानपानमा सतर्कता अपनाउनुपर्छ । गर्मीका कारण पित्तजन्य रोग बढ्नाले पाचन क्षमता कमजोर हुन्छ । भोक कम लाग्छ र खाएको खाना राम्रोसँग पच्दैन । वातावरणीय र पानीजन्य कारणले झाडा, बमन, नपच्ने आदि समस्या हुनसक्छ । त्यसैले अघिपछिको भन्दा थोरै, हलुका र पाच्य खाना खानुपर्छ ।
गर्मीमा बढी पसिना निस्कने भएकाले त्यसबाट शरीरमा समस्या सृजना हुन नदिन पानी प्रशस्त पिउनुपर्छ । पानी उमालेर पिउने, बासी नखाने गर्नुपर्छ । गर्मीमा प्रदुषण धेरै हुने भएकाले लामो बाउला भएको कपडा लगाएर हिँड्ने र माक्सको प्रयोग गर्न सकेपनि छालाका रोगमा कमि आउँन सक्ने चिकित्सकहरु बताउँछन् । बजारमा पाइने समानको खान योग्य मिति छ छैन हेरेर मात्र प्रयोग गर्न चिकित्सकहरु सुझाउँछन् ।
साबुन पानीले हात धुने, नुहाउने, वरपरको वातावरण सफा राख्ने, सधै पानी उमालेर पिउने, खानेकुरा अपच हुने तरिकाले नखाने ,बासि र अस्वस्थकर जस्तो देखीने खानेकुरा नखाने बढी तनाव नलिने र राती सुत्ने बेला ओच्छ्यान राम्रोसंग टक्ट्क्याएर सुत्ने लगायतका कुरामा ध्यान दिन सके गर्मीजन्य रोगबाट बच्न सकिने डा.श्रेष्ठ बताउँछन् ।गर्मी मौसममा चिल्लो र मसलेदार खानेकुरा खानु हुँदैन् । यही मौसममा टायफाइड, जन्डिस, आउँजस्ता रोग निम्तिने र फैलिने भएकाले पनि खानेकुरामा ध्यान दिन जरुरी छ ।
अन्नमा जौ, गहुँ, चामल, हरियो केराउ, मुँगको दाल, चनाको दाल, मुसुरोको दाल बढी उपयुक्त हुन्छ भने फलफूलमा तरबुजा, खरबुजा, काँक्रो, आँप, सुन्तला खानाले फाइदा हुन्छ । त्यसैगरी हरियो तरकारी सक्दो बढी खानुपर्छ । बेथेको साग, गोलभेँडा, करेला शरीर अनुकूल मानिन्छ । साथै कागती, हरियो धनियाँ, पुदीना पनि गर्मीमा हितकर खाना हुन् ।
Comments are closed.