पोखरामा ट्होटें धुमधामका साथ सम्पन्न

 

 

पोखरा, ३१ साउन

उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठले आदिवासी जनजातिको अधिकार सुनिश्चित हुनुपर्ने बताउनुभएको छ ।

तमु धिं नेपालद्धारा मंगलवार पोखरामा आयोजना गरिएको ट्होटें पर्वको समारोहका प्रमुख अतिथि श्रेष्ठले आदिवासी जनजाति, कर्णाली, दलित लगायत उत्पिडित समुदायको अधिकार सुनिश्चित भएको समावेशी लोकतन्त्रबाट मुलुक समृद्धितर्फ लम्कने भएकाले आदिवासी जनजातिको अधिकार सुनिश्चित हुनुपर्ने बताउनुभएको हो । समावेशी लोकतान्त्रिक अधिकारका लागि आफु लगायत नेपाली काँग्रेस कटिवद्ध रहेको उहाँको भनाई थियो ।

दासत्व नस्विकार्ने, बीर गोर्खाली, स्वतन्त्र नेपाली, लोकतन्त्रको सेनानीमा गर्व गर्ने उपप्रधानमन्त्री श्रेष्ठले चार नम्बर प्रदेशलाई सम्बृद्ध बनाउन सबैको जुट्नुपर्ने बताउनुहुदै काठमाडौं पोखरा हुदै आँकीखोलमा सुरुङले जोड्ने बताउनुभयो ।उहाँले सँस्कृतिक संरक्षणमा तमु समुदायकै साथमा रहेको बताउनुहुदै तमु समाजसँग आफ्नो र नेपाली काँग्रेसको प्रगाढ सम्बन्ध रहेको भन्नुहुदै ट्होटेमा गोपालमान श्रेष्ठलाई गुरुङ बनाउदा आफु खुशीले गदगदभएको बताउनुभयो । उपप्रधानमन्त्री भन्दा पनि बढी काँग्रेस वक्ता झै देखिने गरी मन्तव्य व्यक्त गर्नुभएका श्रेष्ठले नेपाली काँग्रेस र तमु समुदायको प्रगाढ सम्बन्ध, प्रजातान्त्रिक आन्दोलनमा तमु समुदायको योगदान, पोखराका तमुहरुसँगको सम्बन्ध लगायत तमु धिं नेपालकी अध्यक्ष कर्म तमुको प्रसंशा गर्दै लिखित मन्तव्य व्यक्त गर्नुभएको थियो ।

तमु धिं नेपालमा आयोजित समारोहमा नेवा खल कास्कीका उपाध्यक्ष तथा संस्कृतिकर्मी प्राज्ञ तीर्थ श्रेष्ठले मन्तव्य व्यक्त गर्नुहुदै राज्यले सबै सँस्कृतिलाई समान रुपले सम्मान दिन नसकेको गुनासो गर्नुभयो । उहाँले सबैको मुलुक भन्ने वातावरण जरुरी छ भन्नुहुदै वर्तमानको दैवि प्रकोपमा राज्यले उचित भुमिका खेल्न नसकेको आरोप लगाउनुभयो । श्रेष्ठले पोखरामा रहेका समुदायहरुको विचको हार्दिक र एकता अभिवृभि हुदै गएको भन्दै खुशी व्यक्त गर्नुभयो ।

कार्यक्रममा तमु हिमाली साँस्कृतिक परिवार, स्टार्स स्टुडियो, आँधीखोला तमु समाज, कोल्माबहाकोट तमु समाज, चिउली पार्चे तमु समाज, अर्घौ तमु समाज, मुस्कान गुरुङले नृत्य प्रस्तुत गरी मनोरञ्जन दिलाएका थिए ।

उक्त कार्यक्रममा ट्होटें पर्वका लागि सहयोग प्रदान गर्नुहुने सहयोगदाताहरुलाई प्रमुख अतिथि उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठ, कास्कीका प्रमुख जिल्ला अधिकार तारानाथ अधिकारी, तमु धिं नेपालकी अध्यक्ष कर्म तमु, साँस्कृतिक संयोजक मेनकाजी तमु लगायतले सम्मान गर्नुभएको थियो ।

तमु धिं नेपालकी अध्यक्ष कर्म तमुको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत साँस्कृतिक संयोजक मेनकाजी तमु, ट्होटे पर्वको औचित्वबारे प्रथम उपाध्यक्ष सरस्वती तमुले मन्तव्य व्यक्त गर्नुभएको थियो भने संचालन महासचिव गिरीप्रसाद तमु र सहसचिव दुर्गाबहादुर तमुले गर्नुभएको थियो ।

Comments are closed.