पाेखरा १२ बैशाख/ साहित्यको नगरीको रुपमा चिनिएको पोखरा कुनैबेला नाटकको शहरका रुपमा पनि परिचित थियो । तिसको दशकमा जुर्मुराएको पोखरेली नाटक साठीको दशकमा फेरी सुस्तायो । टोलटोलमा नाटक प्रदर्शन हुने पोखरामा नाट्य गतिबिधि शुन्य प्राय बन्यो । ४० र ५० को दशकसम्म पोखरा बाहिर पनि निकै चर्चा पायो । रंगमञ्चको विकासमा सरुभक्त, कृष्ण उदासी र डाँफे कला मन्दिरको ठूलो योगदान थियो । त्यसपछि विस्तारै सुस्ताएको पोखरेली रंगकर्म २०६२ सालमा ‘अश्रु ज्वाला’ को मञ्चन पछि पूरै थला प¥यो । पोखरामा रहेका दर्जनौं नाट्य संस्था हराए ।
७० को दशकमा आइपुग्दा पोखरेली युवाहरु फेरी जुर्मराए ‘अन्तराष्ट्रिय रक्सी’ भट्टी मार्फत । यही समयमा पोखरामा युथ क्रियसन थिएटरको स्थापना भयो । युवाहरुको सक्रियतामा खुलेको थिएटर समुहले पोखरा र काठमाडौंमा कृष्ण उदासीको लेखन तथा निर्देशनमा ‘अन्तराष्ट्रिय रक्सी भट्टी’ मञ्चन गरे । यही समुहले पोखरामा ‘अर्को ओरालो’ नामक नाटक पनि प्रदर्शन गरीसकेको छ । पोखरेली नाटकलाई जगाउँदै गरेका युवाहरु अहिले पोखरामा नाटक घर निर्माणमा कस्सीएका छन् ।
पोखराको नागढुंगामा करिब डेढ रोपनी जग्गा भाडामा लिएर नाटक घर निर्माणमा जुटेका पोखरेली युवा नाट्यकर्मी अहिले आर्थिक अभियानमा जुटेको छ । नाटक घर निर्माणका लागि अहिलेसम्म ५० हजार जम्मा भइसकेको थिएटरका सचिव सौगात पोख्रेलले बताए । साथै सहयाेग अाउने क्रम पनि जारी छ । भवन निर्माण सहयोगार्थ र्याण्डम रिडर्स सोसाइटी अफ नेपालले आउँदो शनिबार बुद्ध जयन्तीका दिन हुने रविन्द्र मिश्रको एकल कविता वाचनबाट उठेको रकम प्रदान गर्ने भएको छ ।
‘पोखरामा एउटा नाटक घरको अवश्यकता देखेर हामीले निर्माण प्रक्रिया थालेका हौं’ थिएटरका अध्यक्ष कपिल शर्मा संजोगले भने–‘नाटक घर बनाउने ऐतिहासिक काममा सबैको सहयोग मिल्छ र पोखरा नाटक घर बन्छ भन्ने हाम्रो आशा हो ।’
पोखरामा नाटक घर बन्नु पोखराकै गर्वको कुरा भएकोले सम्पूर्ण पोखरेलीहरुलाई आर्थिक सहयोग गर्न उनले आह्वान समेत गरे । नाट्य गतिविधि भैरहने पोखरामा नाटक घर स्थापना भएसंगै नाट्यकर्मीहरुलाई पनि धेरै सहज हुने विश्वास छ । नाटक घर निर्माणको लागि करिब २० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरेको सचिव पोखरेलले बताए । पोखरामा बन्न लागेको नाटक घरप्रति पोखरेली तथा अन्य ठाउँका नाट्यप्रेमीहरुले सकरात्मक रुपमा लिएका कारण छिट्टै निर्माण हुने आशा थिएटरको छ । साउनको अन्तिमसम्ममा नाटर घर निर्माण गरी सक्ने लक्ष्य संस्थाले लिएको छ ।
Comments are closed.