पोखरा, ५ साउन/साउन सोमबारसँगै पोखरामा बोलबम कार्यक्रम सुरु भएको छ । बोलबममा पोखराका विभिन्न शिव मन्दिरहरुमा भक्तजनहरुको भीड लागेको छ । पोखराको बोलबमधाम बैदामस्थित केदारेश्वर मन्दिरमा भक्तजन लामो समय पालो पर्खेर शिवलिंगमा जल चढाउनुका साथै शिवको आराधना गरे । ‘बोलबमको ध्वनीले, शान्ति पाउन् साराले’ भन्ने मूलमन्त्रका साथ केदारेश्वर महादेवमणि सेवाश्रम समितिले आयोजना गरेको बोलबम (शान्तिपद शिव जलयात्रा) कार्यक्रममा हजारौ भक्तजनको सहभागिता थियो । सेतीनदी किनार गाईघाटमा पवित्र जल उठाउन होस् वा शोभायात्रामा सहभागी र केदारेश्वर मन्दिरमा शिवको आराधना गर्न घण्टौ पालो पर्खेर बस्ने भक्तजनको घुइँचोले पोखरामा बोलबमले गुलजार बनेको थियो ।
बोलबम संयोजक शंकर खराल भन्छन्, ‘गाईघाटमा १०८ धारा स्नान गरी, भजनकीर्तन, बाजागाजा, नाचगान र झाँकीसहित ८ किलोमिटर पैदलयात्रा गरी बोलबमधाममा १०८ शिवलिङ्गमा जलार्पण गर्ने सौभाग्य सायदै अन्य ठाउँमा पाइन्छ ।’ पोखरामा यस्तो संयोग मिल्नुले पनि वर्षेनी भक्तजनको उल्लासमय सहभागिताले व्यवस्थापनको चुनौती थपिदै आएको उनी बताउँछन् ।
पहिलो दिन मन्दिरका पीठाधीश डा. लेखनाथ आचार्यले शिव पुराण सुनाएका थिए भने विभिन्न भजनमण्डलीहरुले भजनकीर्तन गरी भक्तजनलाई नचाएका थिए । भक्तजनलाई मितेरी नारी समूह र मुलथोक टोल विकास संस्थाले प्रसाद खुवाएको आयोजकमध्येकी मीना भट्टराईले बताइन् ।
सोमबार ब्रत बसी बगरस्थित गाईघाटबाट जल लिएर केदारेश्वर मन्दिरमा पूजाआजा गरी शिवलिङ्गमा चढाउने बोबलम कार्यक्रम पछिल्लो वर्ष सँस्कृतिको रुपमा विकास भएको छ । साउन महिनामा भगवान शिवको आराधना गरी शिवलिङ्गमा जल चढाए मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।
Comments are closed.