छोरेपाटनमा स्कुल भत्किदा एक विद्यार्थीको मृत्यु
छुट्टाछुट्टै ठाउँमा १७ जना घाइते
विजयपुरमा पावर हाउसमा क्षति, बिद्युत उत्पादन बन्द
नदिपुर, चाउथे, विन्ध्यवासिनी लगायतका ठाउँमा खाडल
पोखरा ३१ असार / पोखराको छोरेपाटनमा रहेको एक्स आर्र्मी पब्लिक उच्चमाविको भवन भत्किदाँ बिहीबार एक विद्यार्थीको ज्यान गएको छ । भवन भत्किएर पुरिएका कक्षा ९ मा अध्ययनरत १४ वर्षीय सन्जय गायकको ज्यान गएको हो । गायकको उद्धार गरि अस्पताल लैजाने क्रममा मृत्यु भएको कास्की प्रहरी प्रमुख हरिबहादुर पालले जानकारी दिए ।
प्रिन्सिपलसहित ५ शिक्षक र ८ विद्यार्थीसहित १३ जना घाइते भएका छन् । विद्यालयको कक्षा ८, ९ र १० को कक्षा कोठा नजिकै रहेको पर्खाल अविरल वर्षाले भत्किएर कक्षा कोठा पुरिँदा क्षति पुगेको प्रहरी प्रमुख पालले बताए । कमेरोसहित कालो माटो भएकाले पर्खालको भाग पानीले लच्काएको उनले बताए ।
घटनामा सो विद्यालयका प्राचार्य मोहन पौडेल, शिक्षकहरु अमित बराल, अरुण कार्की र भवानी शंकर घाइते भएका छन् । विद्यार्र्थीहरु बिषु भुजेल, प्रतिक्षा सुवेदी, अनुषा सुनार, सुस्मीता थापा, कञ्चन थापा, रचना पौडेल र आविस्कार विक लगायत घाइते भएका छन् ।
घाइतेहरुको पोखराको गण्डकी मेडिकल कलेज, मनिपाल शिक्षण अस्पताल, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालसहितका अस्पतालमा उपचार भइरहेको छ । यसैगरी पोखरा–२२ आर्वाबिजय स्थित नहरपानीमा ऋषि परियारको घर पछाडीबाट आएको पैह्रोले घर भत्किँदा परिवारका तीन सदस्य घाईते भएका छन् । राममाया परियारको टाउको र छातीमा चोट लागेको छ भने उनका छोरा रोशन परियारको टाउकोमा र छोरी शर्मिला परियारको दाहिने हातमा चोट लागेको कास्की प्रहरीले जनाएको छ ।
त्यस्तै पोखराको विजयपुर खोलामा निर्मित विजयपुर–१ साना जलविद्युत परियोजनाको पावर हाउसमा पहिरोले क्षति पु¥याएको छ । रातीदेखि आएको वर्षापछि पोखरामा बन्न लागेको विमानस्थलबाट आएको भलले विजयपुर खोला थुनिएपछि पावर हाउसमा क्षति पुगेको हो ।
भगवती हाइड्रोपावर डेभलपमेन्ट प्रालिद्वारा सञ्चालित हाइड्रोपावरले४ दशमलव ५ मेगावाट विजुली उत्पादन गर्दै आएको छ । पावर हाउसमा क्षति पुगेपछि विजुली उत्पादन बन्द गरिएको हाईड्रोका प्रोजेक्ट म्यानेजर बसन्त महोन शर्माले जानकारी दिए । उनले पावर हाउसलाई माथीबाट आएको पहिरोले क्षति पु¥याएपछि विद्युत उत्पादन बन्द गरेको बताए । पहिरोले करिब १५ करोडको क्षति पु¥याएको दावी शर्माले गरेका छन् ।
लेखनाथको ३ र ५ नम्बर वडास्थित सक्नेरी भन्नेस्थानमा हाइड्रोपावरको ड्याम निर्माण भएको छ । करिब ७० करोडको लागतमा निमार्ण भएको हाइड्रोपावरबाट ४ वर्ष अगाडीबाट विद्युत उत्पादन हुदै आएको छ । जल तथा मौषम बिज्ञान विभागका अनुसार वितेको २४ घण्टामा पोखरामा देशकै सबैभन्दा बढी ९९ मिलिमिटर बर्षा भएको छ ।
कास्की प्रहरीका अनुसार पोखराको नदिपुर, चाउथे, विन्ध्यवासिनी लगायतका क्षेत्रमा जमिन भासिएको छ । कास्की प्रहरी प्रमुख पालका अनुसार नदीपुर, चाउथे, विन्ध्यवासिनीलगायतका क्षेत्रमा जमीन भासिएर खाडल परेका छन् । त्यस्तै छोरेपाटनमा करिव ८ घर डुवानमा परेका थिए । नदिपुरमा स्थानीय गीता खड्काको घरसँगै जोडिएको जमीन भासिएपछि त्यस क्षेत्रका बासिन्दा त्रसित भएका छन् । विहीबार परेको अभिरत बर्षाले पोखराको ठाउँठाउँमा क्षति पुर्याएको छ ।
Comments are closed.