पोखरा ह्टलाइन ,
पोखरामा बिधुतीय तार भूमिगत गर्ने काम सुरु भएको छ । भारतीय कम्पनी टाटा प्रोजेक्ट्सले ठेक्का सम्झौता भएको १५ महिनापछि आयोजनाको काम अगाढी बढाएको हो । आयोजना अन्तर्गत पोखरा–१० कुँडहरदेखि जिरो कि.मी. सम्मको मुख्य राजमार्ग, सिर्जनाचोक, राष्ट्रबैंक चोक, लेकसाइड, सभागृह चोक, न्यूरोड, चिप्लेढुङ्गा लगायतका क्षेत्रमा तार भूमिगत गरिनेछ । बिधुत लाइनसँगै टेलिफोन, केबल र इन्टरनेटका तारका लागि अप्टिकल फाइबर पनि बिछ्याइनेछ । आयोजनाले डेढ वर्षभित्रमा काम सक्ने लक्ष्य लिएको नेपाल बिधुत प्राधिकरण पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाका प्रमुख इञ्जिनियर आनन्द सुवेदीले बताएका छन् । सुवेदीका अनुसार आयोजनालाई आवश्यक तारसहित महत्वपूर्ण उपकरण भारतबाट ल्याइएको हो । सुरुमा कुँडहरमा रहेको प्राधिकरणको सवस्टेशन क्षेत्रको तार भूमिगत गरिनेछ । अहिले सडक खन्ने र पाइप बिछ्याउने काम भइरहेको छ । पोखरामा मात्र तार भूमिगत र वितरण प्रणाली सुदृढीकरणमा रु एक अर्ब ३० करोड खर्च हुने प्राधिकरणले जनाएको छ । पोखरा र भरतपुरमा तार बिछ्याउन रु. दुई अर्ब ५० करोड ३३ लाखमा भारतीय कम्पनी टाटा प्रोजेक्ट्सले ठेक्का पाएको थियो । तार विछ्याएपछि ग्राहकको घरघरमा बिजुली पु¥याउने काम पनि प्राधिकरण नै गर्नेछ । प्राधिकरणले सडकमा न्यून क्षति हुने गरी तार बिछ्याउने प्रविधि प्रयोग गर्दै आएको छ । ‘होरिजेन्टल डाइरेक्सनल ड्रिलिङ’ प्रविधिबाट सडक खनेर तार भूमिगत गरिने आयोजना प्रमुख सुवेदीले बताए । तार भूमिगत गरेपछि ठाउँ–ठाउँमा ट्रान्सफर्मर राखेर ग्राहकका घरघरमा बिजुली पपुर्याइने प्राधिकरणले जनाएको छ । उनले तार भूमिगत गर्दा सहर सुन्दर हुनुका साथै दुर्घटना न्यूनीकरणमा पनि टेवा पुग्ने बताए । अव्यवस्थित तार र पोलका कारण हुने दुर्घटनाबाट बर्सेनि मानिसले ज्याउन गुमाउनुपर्ने स्थिति छ। यदी पोखरामा अव्यवस्थित तारहरु भुमिगत गरीयो भने यसबाट हुने दुर्घटना र पोखराको सौन्दर्यमा थप विग्रने थिएन ।
Comments are closed.